नेभिगेशन
विश्व

अफ्रिकामा हवाई यात्रु बढ्ने प्रक्षेपण

सान फ्रान्सिस्को – अफ्रिकाको हवाई यात्रु आवागमन सन् २०४४ सम्म प्रतिवर्ष औसत ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । उक्त वृद्धि मुख्यतः त्यहाँको युवाशक्ति, बढ्दो मध्यम वर्ग, छिटो शहरीकरणका कारण हुने अमेरिकी विमान निर्माता कम्पनी बोइङले जनाएको छ ।

बोइङको सन् २०२५ का लागि तयार गरिएको अफ्रिका क्षेत्रको व्यावसायिक बजार दृष्टिकोणअनुसार, यात्रुको माग पूरा गर्न आगामी २० वर्षमा अफ्रिकाको व्यावसायिक विमान संख्या दोब्बर हुँदै करिब १ हजार ६ सय ८० पुग्नेछ । उक्त अवधिमा करिब १ हजार २ सयवटा नयाँ विमान आवश्यक पर्ने  अनुमान गरिएको छ, जसमा करिब ७० प्रतिशत एकै प्रकारका विमान रहनेछन् । यी विमानले घरेलु तथा छोटो दूरीका अन्तर्राष्ट्रिय उडान विस्तारमा सहयोग पुर्‍याउनेछन् ।

बोइङका मध्यपूर्व तथा अफ्रिका क्षेत्रका व्यावसायिक बजार निर्दे शन प्रमुख शाहाब मातिनका अनुसार हवाई यातायात अफ्रिकाको आर्थिक वृद्धि तथा भित्री क्षेत्रीय विस्तारको प्रमुख प्रेरक बनिरहेको छ ।

अफ्रिकी हवाई सेवा प्रदायकले आफ्नो उडान विस्तार गर्दै  जाँदा जनशक्ति तथा हवाई पूर्वाधारमा ठूलो लगानीको आवश्यकता पर्ने बोइङले जनाएको छ । आगामी २० वर्षमा अफ्रिकामा करिब ७४ हजार नयाँ पाइलट, प्राविधिक तथा केबिन कर्मचारी आवश्यक पर्ने अनुमान छ ।

यसैगरी, विमान संख्या वृद्धि र सञ्चालन क्षमता सुनिश्चित गर्न करिब एक सय ३० अर्ब अमेरिकी डलरबराबरको सेवा माग पनि रहने बोइङले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्