मुगु । रारा घुम्न आउने पर्यटकहरू एक रात गमगढी बस्ने योजनामा यात्रा गरे पनि कच्ची र धुलाम्मे सडकका कारण सदरमुकाम नपुग्दै फर्किन बाध्य हुने गरेका छन् । यही समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले उक्त सडकलाई बहुवर्षीय योजनामा समेटेर १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । अहिले सडक निर्माण गर्नेगरी तयारी हुन थालेपछि गमगढीका व्यापारी र स्थानीयहरू खुसी भएका छन् ।
गमगढीका होटल व्यवसायीहरूका अनुसार सडक स्तरोन्नति भएपछि रारा अवलोकन गर्न आउने पर्यटकहरू सहजै सदरमुकाम आई एक रात बस्न सक्ने र त्यसले स्थानीय अर्थतन्त्रमा फाइदा पुग्नेछ । अहिले पिना–ताल्चा हुँदै गमगढीसम्म यातायात सञ्चालन भए पनि यात्रा असहज हुने गरेको छ । निमार्णपछि पिना–गमगढी सडकको दूरी करिब ३ किलोमिटर छोटिने भएकाले रारा–गमगढी भ्रमण ‘डे–ट्रिप’ मात्रै नभई ‘नाइट–स्टे’मा रूपान्तरित हुने सम्भावना छ । मुगु उद्योग वाणिज्य संघका अध्यक्ष मकलबहादुर बुढाले बजेट सदुपयोग भई छिटो काम सम्पन्न भएमा स्थानीय व्यवसायीलाई प्रतक्ष फाइदा पुग्ने र आर्थिकस्तरमा सुधार हुने विश्वास व्यक्त गरे ।
कर्णाली प्रदेशसभा सदस्य जितबहादुर मल्लले मुगु पर्यटन सम्भावना भएको क्षेत्र भएकाले पनि सडक सुविधालाई सुरक्षित र भरपर्दो बनाउनुपर्ने बताए । ‘रारा देशकै प्रमुख पर्यटन सम्भावना बोकेको क्षेत्र भएपनि यसको प्रत्यक्ष फाइदा मुगालीहरूले लिन पाएका छैनन् । पर्यटकको भीड लाग्ने रारामा खान–बस्नको राम्रो सुविधा नपाएको भन्दै धेरैले गुनासो गर्छन् । गमगढीमा सुविधा सम्पन्न होटलहरू हुँदाहुँदै सडकका कारण यहाँ आउन मान्दैनन्’ उनले भने ।
पिना–गमगढी सडक निर्माणपछि सवारीसाधन सहजरूपमा सञ्चालन हुने र गमगढीमा एक रात बसेर रारा हेर्न जाने वातावरण बन्ने मल्लले बताए ।
पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख कृष्णा चापागाईंका अनुसार बहुवर्षीय योजनामा परेको यस आयोजनाको चालु आर्थिक वर्षमै चार करोड रुपैयाँको काम प्रारम्भ गरिँदैछ । सडकको प्राविधिक अध्ययन एक–दुई दिनमै सुरु हुँदैछ र एक हप्ताभित्र ठेक्का प्रक्रियासम्बन्धी आवश्यक काम अगाडि बढाइने जानकारी उनले दिइन् । गमगढी बजारका होटल व्यवसायी नेता चौलागाईंले पर्यटक गमगढीमा बसून् भन्ने वर्षौंदेखिको चाहना सडक बनेपछि पूरा हुने विश्वास व्यक्त गरे । उनले सडक बनेपछि व्यवसाय मात्रै नभई स्थानीयको आर्थिक क्रियाकलाप पनि बढेर जाने बताए ।
हाल पिना–गमगढी सडक हिउँदमा सामान्यरूपमा सञ्चालनमा आए पनि वर्षायाममा पहिरोका कारण अवरुद्ध हुने गरेको छ । छायानाथ रारा नगरपालिकाका हरिचन्द्र शाहीले भियालभिर, बुकाखोला, लेतेखोला र हासेबिडी खोला क्षेत्रको बाटोमा वर्षायाममा यात्रा गर्न नसकिने बताए ।