काठमाडौं – नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले महाधिवेशन सुनिश्चितताका लागि खबरदारी जारी राखेका छन् । बिहीबार काठमाडौंमा भेला गर्दै विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न नभए विशेष महाधिवेशन आह्वान गर्ने चेतावनी दिए । कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीको १५औं महाधिवेशन पुस २६–२८ मा काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरिसकेको छ ।
तर उक्त कार्यतालिकामा महाधिवेशन हुनेमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नै शंका व्यक्त गरेका छन् । कांग्रेसकै संस्थापन पक्षका केही नेताले कार्यतालिकालाई ‘रकेट’ शैलीको भनेका छन् । कार्यतालिका सम्भव भए पनि सहज नभएको बताइरहँदा विशेष महाधिवेशन पक्षधरले खबरदारी जारी राखेका छन् ।
विशेष महाधिवेशनका पक्षमा उभिएका कांग्रेस नेता गुरुराज घिमिरेले भने, ‘जुन बेला नियमित महाधिवेशन रोक्ने षडयन्त्र हुन्छ, त्यही विन्दुबाट विशेष महाधिवेशन सुरु हुन्छ । हामी छाड्दैनौं ।’
अर्का नेता जगदीशनरसिंह केसीले भने, ‘निर्धारित मितिमै नियमित महाधिवेशन भए विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरूको पनि सम्मान हुन्छ ।’ उनले कुनै पनि बहानामा महाधिवेशन टार्ने र सार्ने खेल भए स्वीकार्य नहुने बताए । भेलामा आफ्नो धारणा राख्नेहरूले नियमित महाधिवेशनका लागि निरन्तर खबरदारी र नियमित महाधिवेशनका लागि एकसाथ सक्रिय हुनुपर्नेमा जोड दिए । कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर बुझाएका थिए ।
यसैबीच बिहीबार नै विशेष महाधिवेशनको विपक्षमा रहेका युवा नेताहरूले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरे । भेटमा सभापति देउवाले नियमित महाधिवेशनको मिति सर्वसम्मत घोषणा भइसकेको बेलामा विशेष महाधिवेशनको चर्चा असान्दर्भिक भएको बताएको भेटमा सहभागी नेतृ गीता गुरुङले जानकारी दिइन् । उनले भनिन्, ‘नियमित महाधिवेशनको मिति सर्वसम्मत घोषणा भइसकेको बेलामा विशेष महाधिवेशनको चर्चा असान्दर्भिक भएको भन्दै सभापतिज्यूले १५ औं महाधिवेशनमार्फत पार्टी लाई एकताबद्ध बनाएर निर्वाचनमा होमिन निर्देशन दिनुभयो,’ नेतृ गुरुङले भनिन् ।
भेटमा युवाहरूका तर्फबाट निर्धारित समयमा महाधिवेशन गर्न र वडादेखि केन्द्रसम्म पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएको बताइन् ।
कांग्रेस बागलुङका सभापति जित शेरचन, युवा नेता सरोजकुमार थापा, पुष्पकुमार शाही, मनिष थापा, गीता गुरुङ, तीर्थ गौतम, इन्दु शर्मा, अञ्जान लामा, थलकुमार लिङ्खा लगायतल देउवालाई उनको निवास महाराजगञ्जमा भेटेका हुन् ।
सभापतिमा उठ्छु : गुरुङ
कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिमा प्यानलसहित उम्मेदवारी दिने घोषणा गरेका छन् । न्यूज२४ दैनिकसँग कुरा गर्दै उनले छिटै आफ्नो टिम सार्वजनिक गर्ने बताए । ‘प्यानल बनाएर सभापति पदमा उठ्छु। केही दिनमा प्यानल सहित सार्वजनिक घोषणा गर्छु,’ उनले भने, ‘मलाई सभापतिका अरु आकांक्षीहरूले साथ दिनुहुन्छ भने सहकार्यको सम्भावना रहन्छ । तर, मैले अरुलाई समर्थन गर्ने सम्भावना छैन ।’
कांग्रेसको १४औं महाधिवेशनमा पनि गुरुङ सभापतिमा प्रतिस्पर्धा गरेका थिए । सभापति शेरबहादुर देउवा विजयी हुँदा शेखर कोइराला निकट प्रतिस्पर्धी थिए । दोस्रो चरणको निर्वाचनमा गुरुङले सभापतिमा देउवालाई समर्थन गरेका थिए ।