नेभिगेशन
राजनीति

रविलाई भेट्न नक्खु कारागारमा लर्काे

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न जानेको लर्को चल्न थालेको छ । पछिल्लो केही दिन यता चिनिएका अनुहारहरूले भेट गरेको विषय चर्चामा छ । सहकारी ठगी र आपराधिक कसुरको पुर्पक्षका लागि लामिछाने ललितपुरको नख्खु कारागारमा छन् । उनलाई भेट्न विभिन्न राजनीतिक दलका नेता, कलाकारदेखि पत्रकार र अभियन्तासम्म पालो मिलाउँदै कारागार पुगिरहेका छन् ।

हालै साझा विवेकशील पार्टी रास्वापामा मिसिएको छ । नयाँ दल बनाएर राष्ट्रिय राजनीतिमा सक्रियता बढाउने संकेत गरेका कुलमान घिसिङ रास्वपाप्रति नरम देखिनुले आगामी निर्वाचनका लागि लामिछानेको शक्ति छाम्ने कसरत भइरहेको हो । भेट्न जानेहरू रविलाई सहानुभूति देखाउन पुगिरहेका छन् की आफ्ना लागि समर्थन खोज्न ? जवाफ प्रष्ट छैन । चुनाव नजिकिँदै जाँदा अन्य पार्टीका नेता र जेनजी अभियन्ता सुदन गुरुङले चुनाव केन्द्रित भेट गरे । भेटमा उनीहरूले रविप्रति सहानुभूति देखाउँदै आफ्ना लागि समर्थन खोजेका छन् ।

बिहीबार लामिछानेलाई भेट्न कारागार पुगेका गुरुङले भने यो कुरा लुकाएनन् । उनले नख्खु जानुअघि सार्वजनिक रुपमै लेखे, ‘बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं ।’ गुरुङ र लामिछानेबीच भएको करिब एक घण्टा लामो भेटमा समसामयिक राजनीति र वैकल्पिक शक्तिहरूबिचको एकताका विषयमा समेत छलफल भएको उनले सुनाए ।

‘मुख्यतः २ वटा कुरामा छलफल भयो । पहिलो, जेनजी आन्दोलनमा रास्वपाको समर्थन र अर्को आफूविरुद्ध राज्यले प्रतिशोध साँधेको भन्ने विषयमा उहाँले भन्नुभयो,’ उनले भने ‘बरु मलाई गल्ती गरेको भए कारबाही होस्, हैन भने न्याय होस् । यसको छिटो निरुपणका लागि पहल गरिदिनुस् ।’ रविको यस्तो प्रस्तावमा गुरुङले पनि आफूहरूले यसका लागि पहल गर्ने बताएको जानकारी दिए । उनले भने, ‘न्यायालयले भन्ने कुरा हो, सही या गलत भनेर । अब त्यो छिटो गर्नुपर्‍यो भनेर हामीले पहल गर्छौं भन्यौँ ।’ भेटमा लामिछानेले अरुसँगको भेटमाजस्तै यसअघिको सरकारले आफूमाथि प्रतिशोध साँधेको दोहोर्‍याए ।

केही दिन अघि लामिछाने भेट्न कांग्रेस डडेलधुराका पूर्वसभापति कर्ण मल्ल पनि पुगेका थिए । भेटमा आगामी निर्वाचनबारे कुरा भएको मल्लले बताए । ‘आउने निर्वाचनमा रास्वपासहित परिवर्तनकारी दलहरूले मलाई सहयोग गरुन् भन्ने आग्रह गरेँ,’ उनले भने, ‘रास्वपा मात्र होइन अहिले कुनै पनि पार्टी प्रवेश गर्दिनँ । घण्टी चुनाव चिन्ह लिएर चुनावमा लड्ने हुनसक्छ ।’ मल्ल अघिल्लो निर्वाचनमा डडेलधुरामा उम्मेदवार थिए ।

विघटित प्रतिनिधिसभाका सदस्य सुनिल शर्माले पनि नख्खु पुगेर लामिछानेलाई भेट गरे । भेटमा पनि शर्माले लामिछानेप्रति सहानुभूति देखाएर समर्थन खोज्ने प्रयास गरेको उनी निकट कार्यकर्ताले बताएका छन् ।

रास्वपा प्रवेश गररे आगामी निर्वाचन उम्मेदवार बन्न इच्छुक केही सञ्चारकर्मीले पनि यसबीचमा लामिछानेसँग भेट गरेका छन् । चुनाव नजिकिँदै जाँदा रास्वपाको समर्थन खोज्ने र रास्वपाबाट उम्मेदवार बन्न चाहनेहरूले लामिछाने भेट्न खोजिरहेका छन् ।

लामिछानेले दैनिक ५/६ जनालाई भेट्ने गरेको उनका स्वकीय सचिव अविनाश आचार्यले बताए । ‘भेट्ने संख्या नै बढेको होइन । दैनिक ५/६ जनाले भेटिरहनु भएको छ,’ उनले भने,‘ भेट्न चाहनेहरूले सम्पर्क गर्नुहुन्छ । उहाँहरूलाई भेट्ने व्यवस्था मिलाएका छौं । यसो गर्दा कारागार प्रशासनलाई पनि सहज भएको छ । उहाँलाई पनि को भेट्न आउँदै हुनुहुन्छ भन्ने थाहा हुने भयो ।’ लामिछानेसँगको भेटमा सहजीकरण गरिरहेका आचार्यले भेटमा के कुरा भयो भन्नेबारे चाहिँ आफूलाई थाहा नहुने बताए ।

गत सोमबार सञ्चारकर्मी प्रकाश सुवेदी, कलाकार जितु नेपाल लगायतले लामिछानेसँग भेट गरेका थिए भने बिहीबार सुदन गुरुङले भेट गरे ।

जेनजी आन्दोलन ध्वंसात्मक भएको दिन लामिछाने आफूखुसी कारागारबाट बाहिरिएका थिए । उनी ‘फरार’ भएसँगै देशका विभिन्न कारागारबाट ठूलो संख्यामा कैदी फरार भए । निकै आलोचना भएपछि लामिछाने कारागारमा फिर्ता गएका हुन् । आन्दोलनका विषयमा छानबिन गर्न गठित समितिले बोलाएर छामिछानेको बयान लिइसकेको छ ।

सरकारसँग रास्वपाको अपेक्षा

भदौ २४ को जेनजी विद्रोहपछि भएको सत्ता रिक्तताबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्न पाएकी हुन् ।

कार्कीले लामिछानेप्रति अघिल्लो सरकारले प्रतिशोध साँधेको ठान्नेमा रास्वपा केही आशावादी देखिन्छ । कार्की स्वयंले प्रधानमन्त्री हुनुअघि रविमाथि प्रतिशोध भएको बताएकी थिइन् । लामिछानेले जेनजी आन्दोलन हुनुअघि गत साउन १९ गते आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै थुनामुक्तिका लागि रूपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराउँदै बैंक जमानतमा रिहा गर्न अनुरोध गरेका थिए । जेनजी आन्दोलनका बेला भदौ २४ मा नख्खु कारागारबाट बाहिरिएका लामिछाने चर्को आलोचनापछि फर्किएका थिए ।

त्यसो त रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गरेर लामिछानेलाई छुटाउन सरकारलाई दबाब दिने रणनीति अघि नबढाएको होइन । तर, उनीमाथिको आरोप गम्भीर छ ।, जसले कालान्तरमा पार्टीकै साखमा प्रश्न उठ्ने देखेर नेताहरूले बाटो फेरेका छन् । गत कात्तिक २१ गते चितवनमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले कार्की नेतृत्वको सरकारको ध्यानाकर्षण गराएको थियो । ‘सभापति रवि लामिछानेज्यूले कानूनी प्रक्रियामा सहयोग गरिरहँदा वर्तमान सुशीला कार्की नेतृत्वको सरकार पूर्ववर्ती सरकारको प्रतिशोधी भावना र कर्मविरुद्ध कत्तिको उभिन्छ र निर्णय गर्छ, हामी त्यसको प्रतीक्षामा छौं,’ बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेख थियो, ‘न्यायिक प्रक्रिया हिजोको जस्तो दबाबका कारण प्रभावित र सुस्त बनाइने छैन भन्नेमा हामी विश्वस्त छौं । सरकार परिवर्तन भए पनि राजनीतिक प्रतिशोधको निरन्तरता र अदालती प्रक्रियामा अनावश्यक विलम्ब गरिएको शंका उत्पन्न हुँदा हाम्रो खबरदारीले फेरि निरन्तरता पाउने छ ।’

मंसिर २ मा सभापति लामिछाने भेट्न कारागार पुगेका पार्टीका उपसभापति स्वर्णीम वाग्लेले पनि सोही कुरा दोहोर्‍याए । ‘यो प्रतिशोधको राजनीतिको उद्गमस्थल भनेको क्याबिनेट बैठक हो । पहिलेको सरकारले जुन दुराशय राखेर यो अगाडि बढाएको थियो, त्यसमा अहिलेको सरकारले पुनर्विचार गर्नुपर्छ,’ उनले भनेका थिए । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा विचाराधीन छ ।

रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, उच्च अदालतले आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । उच्चको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो । अब मुद्दा चलिरहेको सुरु अदालत रूपन्देही जिल्ला अदालतबाटै उनलाई लागेको अभियोगको छिनोफानो हुनुपर्ने अवस्था छ ।

लामिछानेको मागमा कारागार व्यवस्थापन विभागले अड्डासार गरेर रुपन्देही जिल्ला कारागारबाट नख्खुमा ल्याएको थियो । नख्खुमा राख्दा उनका लागि राजनीतिक भेटघाट सहज भएको छ ।

रास्वपा नेताहरू लामिछानेको मुद्दामा न्यायिक प्रक्रियामा ढिलाइ भएको ठान्छन । नेता विराजभक्त श्रेष्ठ भन्छन्, ‘ढिलो न्याय दिनु न्याय नदिनु सरह हुने कानुनी मान्यता छ । यसरी ढिला गर्न मिल्छ ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्