नेभिगेशन
राजनीति

‘निर्वाचनले मुलुकको विकास सुनिश्चित गर्छ’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको चाहनाअनुरूप काम गर्न सबैले निर्वाचनमा सहभागी हुनुपर्ने बताएकी छन् । काठमाडौंको वसन्तपुरमा बिहीबार ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित २२औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हि कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाले मागेको भ्रष्टाचारमुक्त शासन व्यवस्था बहालीमा सबैको प्रतिबद्धता आवश्यक रहेको भनाइ राखिन् ।

‘मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र आमजनतालाई रोजगारी, गाँस, बास, कपासको सुनिश्चितताको माग गरेको छ,’ उनले भनिन्, ‘ती चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक छ ।’

आगामी फागुन २१ गते हुने आम निर्वाचनमा सहभागी भएर युवा शक्तिलाई देशको राजनीतिक नेतृत्वमा सशक्त बनाउने अवसर सुनिश्चित गर्न उनले सबैलाई आग्रह गरिन् । निर्वाचन सफल र निष्पक्ष सम्पन्न गर्न सरकार पूर्ण तयारीमा रहेको जनाउँदै उनले सबै तहका सरकारी निकायहरू तथा नागरिकले सक्रिय सहभागिता जनाउनुपर्ने उल्लेख गरिन् ।

उनले युवा शक्ति र सांस्कृतिक संरक्षणको सम्बन्ध जोड्दै भनिन्, ‘जसरी हाम्रो सांस्कृतिक परम्परा र गुठी प्रणालीले समाजलाई जीवन्त राखेको छ, त्यसैगरी राजनीतिक सक्रियता र निर्वाचनमा सहभागिताले मुलुकको विकास सुनिश्चित गर्दछ ।’

सरकार र स्थानीय तहलाई परम्परागत सांस्कृतिक कार्यक्रम र पर्यटन प्रवर्धनमा सक्रिय रहन निर्देशन दिँदै, नागरिक बीच एकआपसमा सद्भाव, पुर्खाको सम्मान र युवालाई प्रोत्साहन गर्ने अभियानलाई निरन्तरता दिन पनि उनले आग्रह गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्