नेभिगेशन
राजनीति

नीतिगत अपेक्षा पूरा नहुँदा शेयरबजार फेरि दबाबमा

काठमाडौं । गत साता लगातार पाँच दिन हरियालीमा बन्द हुँदै उत्साहित बनेको शेयरबजार चालु साता फेरि दबाबमा परेको छ । गत साताको ११५ अंकको तीव्र उकालोले लगानीकर्ताको मनोबल बलियो बनाएको थियो । तर नीतिगत अपेक्षा पूरा नहुँदा, मौद्रिक नीति समीक्षाबाट ठोस व्यवस्था नआउँदा र राजनीतिक अनिश्चितता कायमै रहँदा बजार यो साता पुनः करेक्सन मोडमा प्रवेश गर्‍यो ।

नेप्सेले साता सुरु गरेको २६७६.०३ विन्दुबाट चार दिनभित्र ४५ अंकभन्दा धेरै झर्दै २६३१.१७ विन्दुमा आइपुग्यो । विश्लेषकहरूका अनुसार सूचकमा आएको यो गिरावट बजारको मनोविज्ञान कमजोर बन्दै गएको स्पष्ट संकेत हो ।

गत आइतबार मात्रै नेप्से २६.५१ अंकले घटेर २,६४९.५२ विन्दुमा झरेको थियो । गत साता लगातार वृद्धि भएपछि आएको यो गिरावटलाई विशेषज्ञहरूले स्वाभाविक करेक्सन भने पनि लगानीकर्ताले यसलाई बजारको सम्भावित कमजोरीको संकेतका रूपमा लिएका थिए ।

आइतबार २५७ कम्पनीमध्ये २११ कम्पनीको मूल्य घट्नु बजारमा व्यापक दबाब आएको सूचक हो । यद्यपि कारोबार रकम भने सात अर्ब रुपैयाँ नाघ्न सफल भयो, जसले लगानीकर्तामा करेक्सनबीच पनि गतिविधि रहेको देखायो ।

मौद्रिक नीति समीक्षाले अपेक्षा पूरा नगरेपछि सोमबार बजार कारोबारको मनोविज्ञान झनै कमजोर देखिएको थियो । लगानीकर्ताको ठूलो अपेक्षा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षामा केन्द्रित थियो । धेरैले शेयरबजारसम्बन्धी कर्जा नीतिमा केही सहजता आउने, प्राथमिक पुँजीको ४० प्रतिशत शेयरधितो कर्जाको प्रावधानमा परिवर्तन हुनेजस्ता सम्भावना अनुमान गरेका थिए ।

तर राष्ट्र बैंकले न शेयरबजारमैत्री व्यवस्था ल्यायो, न त कर्जा सीमाबारे कुनै संकेत दियो । यसको सीधा असर सोमबार बजारमा देखियो । नेप्से फेरि ४.२८ अंकले घटेर २,६४५.२४ विन्दुमा पुग्यो ।

कारोबार रकम आइतबारको सात अर्बभन्दा झर्दै सोमबार चार अर्ब ७१ करोड रुपैयाँमा सीमित रह्यो । एक दिनमै कारोबार ३० प्रतिशतभन्दा बढी घट्नु लगानीकर्ताको ‘वेट एण्ड वाच’ मोडको द्योतक हो ।

मंगलबार सूचक स्थिरजस्तै भए पनि कारोबारीको आत्मबल बढेको देखिएन । नेप्से केवल ०.५३ अंकले घटेर २,६४४.७० विन्दुमा रह्यो । सूचक भने स्थिर भए पनि बजारमा मिश्रित वातावरण रह्यो । कारोबार भएका २५७ कम्पनीमध्ये १२५ वटाको मूल्य बढ्नु सकारात्मक संकेत हुँदाहुँदै कारोबार रकम भने घटेर ४ अर्ब ४८ करोडमा खुम्चिनु बजारलाई थप अनिश्चिततामा धकेल्ने कारक बन्यो । बजारको स्थिरतालाई वास्तविक सुधारका रूपमा लिन सकिने अवस्था थिएन । विश्लेषकहरूका अनुसार सूचक स्थिर तर कारोबार कमजोर हुनु बजारको भित्री कमजोरीको संकेत हो ।

साता चार दिनमध्ये नेप्सेले सबैभन्दा ठूलो गिरावट बुधबार देखायो । १३.५२ अंकले झर्दै २६३१.१७ विन्दुमा पुगेर बजार चार दिनको न्यूनतम विन्दुमा झर्‍यो । १ करोड ८ लाख शेयर ५ अर्ब २३ करोड बराबरको कारोबार भए पनि १७७ कम्पनीको मूल्य घट्दा बजार स्पष्टरूपमा दबाबमा थियो ।

लगानीकर्ताको सम्पत्ति आइतबार ४५ अर्ब, सोमबार ७ अर्ब, मंगलबार १ अर्ब र बुधबार २३ अर्ब घट्दै चार दिनमै लगभग ७६ अर्ब रुपैयाँले संकुचित भयो । यससँगै कुल बजार पुँजीकरण ४४ खर्ब १७ अर्ब रुपैयाँमा झर्‍यो, जुन गत साता उत्साहपूर्ण उकालोमा पुगेको उच्च स्तरभन्दा धेरै कम हो । वाणिज्य बैंकहरूले असोज मसान्तसम्म १ खर्ब २२ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरिसकेको तथ्यांक यसै सातामा सार्वजनिक भयो । गत वर्षको सोही अवधिमा शेयर धितो कर्जा ८५ अर्ब मात्रै थियो, अर्थात् एक वर्षमै ३७ अर्ब रुपैयाँले कर्जा बढ्यो ।

यसले बजारमा कर्जा माग बलियो भएको देखाए पनि मौद्रिक नीति समीक्षाले कर्जा विस्तारका लागि थप सहजता नदिएकाले मनोवैज्ञानिक निराशा बढेको छ । साताभर बैंकिङ, जीवन बीमा, जलविद्युत्, लगानी, लघुवित्तलगायत प्रमुख समूहमा निरन्तर कमजोरी रह्यो । विशेषगरी जीवन बीमा समूह १ प्रतिशतभन्दा बढी गिरावट धेरै दिनमा देखियो । यही कारण नेप्सेमा भार उच्च हुने क्षेत्र नै कमजोर हुँदा सूचक तल धकेलियो ।

तर फाइनान्स, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्डजस्ता केही समूह भने सकारात्मक रहे । उकालो लागेका कम्पनीमा झापा इनर्जी र सागर डिस्टिलरी निरन्तर चम्किएका छन् ।

बजार कमजोर रहे पनि झापा इनर्जी, सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक, मबिलुङ इनर्जी र बुंगल हाइड्रोलगायत कम्पनीहरूमा यस सातामा पनि सकारात्मक सर्किट लागिरह्यो । झापा इनर्जी र सागर डिस्टिलरीको शेयरमूल्य बजारमा लगातार उच्च छ । तर यस्ता कम्पनीहरूको तीव्र उछालले समग्र सूचकमा खासै सकारात्मक प्रभाव पार्न सकेन ।

विश्लेषकहरूका अनुसार, बजार हाल ‘कन्सोलिडेसन मोड’मा छ । तीव्र उकालोपछि सामान्य करेक्सन भइरहेको छ । नीतिगत अस्पष्टताका कारण लगानीकर्ता सावधान देखिएका छन् । तरलता पर्याप्त भए पनि वास्तविक क्षेत्रमा कर्जाको माग नबढ्नु र आगामी निर्वाचनको राजनीतिक अनिश्चितताको असर बजार कारोबारमा परेको छ । विश्लेषकहरूको मतमा राजनीतिक वातावरण स्थिर भए, मौद्रिक नीतिमा कर्जा विस्तारमैत्री स्पष्ट संकेत आए, बैंकहरूको कर्जा विस्तार गति बढ्यो लगानीकर्ताको मनोबल बलियो बनाउने नीतिगत संकेत मिल्यो भने बजार फेरि उकालोतर्फ फर्कन सक्नेछ ।

वर्तमान अवस्थामा बजार सन्तुलन खोजिरहेको देखिन्छ । त्यसैले न धेरै उकालो लागेको छ, न त गहिरो ओरालो । यो साता शेयरबजार उत्साहको चरणबाट बाहिरिएर सावधानी र करेक्सनको चरणमा प्रवेश गर्‍यो । सूचक कमजोर रह्यो, पुँजीकरण घट्यो, कारोबार सुस्त भयो । तर बजारमा गहिरो संकट देखिएको भने होइन । बजार अहिले नीतिगत संकेत र राजनीतिक स्थिरताको प्रतीक्षामा देखिएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्