जगन्नाथ दुलाल
काठमाडौं, मंसिर १९
नेकपा एमालेको ११औं महाधिवेशन नजिकिएसँगै पदाधिकारी तहका नेताहरुले आफ्नो कित्ता प्रष्ट गर्न थालेका छन् । शुक्रबार एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले अध्यक्षमा केपी शर्मा ओलीकै निरन्तरताको पक्षमा उभिने प्रष्ट पारे । बिहीबार एमाले उपमहासचिव विष्णु रिमालले आउँदो महाधिवेशनले ओलीलाई नै अध्यक्ष बनाउने दाबी गरेका थिए । शुक्रबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बादलले उपमहासचिव रिमालकैजस्तो दाबी गरे । उसो त अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीचको ध्रुवीकरणमा निार्णायक हुनसक्ने ठानिएका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पनि ओली कित्तामा पुगिसकेका छन् ।
पौडेललाई भावुक बनाउने गरी पोखरेलले फेसबुकमा आफू दुई जनाको पुरानो तस्वीर पोस्ट गरेका थिए । भाइरल उक्त तस्वीरले भने पौडेलको मन पगाल्न नसकेको पछिल्ला घटनाक्रमले देखिएको छ ।
मुलुकमा राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि ओली नेतृत्वको विकल्प नभएको निष्कर्ष पार्टी केन्द्रीय समितिको रहेको बादलको दाबी छ । उनले भने, ‘अहिलेको विशिष्ट स्थितिमा लोकतन्त्रको स्थापनाको निम्ति उहाँको आवश्यकता छ । देशको राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति झन् उहाँको बढी आवश्यक्ता छ । त्यसकारण वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने निष्कर्षमा केन्द्रीय समिति पुगेको हो ।’ ओलीको नेतृत्वमा मात्रै नेकपा एमाले अगाडि बढ्न सक्ने पनि उनले जिकिर गरेका छन् ।
ओलीको पक्षमा उभिएका बादलले अध्यक्षमा उठ्ने घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलतर्फ लक्षित गर्दै उनको उम्मेदवारी उपयुक्त नभएको दाबी गरे । ‘हुन त अहिले विभिन्न कमरेडहरूले सार्वजनिक रुपमा विभिन्न उम्मेदवारीहरू घोषणा गरिरहनुभएको छ,’ उपाध्यक्ष बादलले भने, ‘केन्द्रीय समितिको निर्णयको कोणबाट हेर्दा यो ढंगले जानु एमाले नेताहरूका लागि उपयुक्त होइन । यसले पार्टीलाई एकताबद्ध गर्दैन । यसले अझ विघटन र विर्सजनतिर लैजान्छ ।’
बादल नेकपा माओवादी केन्द्रको महासचिव हुँदै हाल नेकपा एमालेमा उपाध्यक्ष छन् । बादलसहित माओवादीबाट आएका लेखराज भट्ट एमालेका सचिव छन् । केन्द्रमा बादल र भट्टसहित जिल्ला र स्थानीय तहमा पनि माओवादीबाट आएका नेता, कार्यकर्ता हाल एमालेमा सक्रिय छन् । बादल ओलीको पक्षमा खुलेसँगै एमालेमा रहेको पूर्वमाओवादी खेमाको समर्थन ओलीलाई हुने ठानिएको छ ।
एमाले अध्यक्षमा ओली मंसिर २७ देखि २९ सम्म हुन लागेको एमाले महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने प्रयासमा छन् । तर, उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ लिएर वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनौती दिँदैछन् । उनले ओलीलाई भेटेरै अभिभावकको भूमिकामा बस्न भन्दै पार्टी नेतृत्व सहज रुपमा हस्तान्तरण गर्न आग्रह गरिसकेका छन् । तर, ओली नेतृत्व छाड्न तयार छैनन् । पोखरेलको पक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, युवराज ज्ञवाली, गोकर्ण विष्ट लगायतका पदाधिकारी खुलिसकेका छन् ।
ईश्वर पोखरेल पक्षले ‘लोकतान्त्रिक पार्टी समुन्नत देश, नयाँ नेतृत्व नयाँ सन्देश’ नारासहित प्रचार गरिररहेको छ भने ओली पक्षले ‘मेरो होइन माटोको बोली, फेरि एक पटक केपी ओली’, ‘जोगाउन देशको अस्तित्व पुनः केपी ओलीको नेतृत्व’ जस्ता नारा अघि सारेका छन् ।
च्यासलमा विवाद
नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार पार्टीका कार्यकर्ताबीच हात हालाहाल भएको छ । आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही सदस्यहरूले महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि राख्दै केन्द्रीय कार्यालय पुगेका थिए । सो क्रममा उनीहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना कुरा राखिरहेका बेला अर्को समूहसँग उनीहरूको विवाद भएपछि हात हालाहालको अवस्था बन्यो । प्रतिनिधि छनोटमा लोकतान्त्रिक प्रक्रिया पूरा नगरिएको भन्दै महासंघका असन्तुष्ट नेताहरु च्यासलमा गुनासो गर्न पुगेका थिए ।
एमालेको महाधिवेशन उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा तय भइसकेको छ । देशभरबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् । प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै बिहीबार नेता ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै असन्तुष्टिसमेत व्यक्त गरेका थिए । त्यसको भोलिपल्ट शुक्रबार च्यासलमा हात हालाहाल भएको हो ।
महाधिवेशनका लागि करिब दुई हजार दुई सय प्रतिनिधि छनोट भइसकेका छन् । महाधिवेशनका लागि प्रतिनिधि छनोट कतै सर्वसम्मत भएका छन् भने केही स्थानमा निर्वाचनबाट छनोट हुँदा केही स्थानमा भने विवादका कारण छनोट हुन सकेको छैन ।