रूसले डोनाल्ड ट्रम्पद्वारा सार्वजनिक गरिएको नयाँ अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको स्वागत गर्दै यसलाई रूसी दृष्टिकोणसँग मेल खाने बताएको छ ।
अमेरिकी प्रशासनले गत साता सार्वजनिक गरेको ३३ पृष्ठ लामो सो दस्तावेजले युरोप सभ्यताको विनाशको जोखिममा रहेको उल्लेख गरेको छ । उक्त दस्तावेजले रूसलाई अमेरिकाको प्रत्यक्ष खतरा रूपमा चित्रित गरेको छैन । विदेशी प्रभाव रोकथाम, ठूलो मात्रामा हुने आप्रवासन अन्त्य, र युरोपेली संघले अपनाएको सेन्सरसिप सम्बन्धी मूल्यहरूको अस्वीकार लगायतका विषय पनि रणनीतिमा समावेश छन् ।
केही इयू अधिकारीहरू र विश्लेषकहरूले रणनीतिको अभिव्यक्ति स्वतन्त्रताप्रतिको दृष्टिकोणलाई लिएर आलोचना गरेका थिए र यसमा प्रयोग भएको भाषालाई क्रेमलिनको बोल्ने शैलीसँग तुलना गरेका थिए । ‘हामीले देखिरहेका परिवर्तनहरू मूलतः हाम्रो दृष्टिकोणसँग मिल्छ,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार रूसी समाचार एजेन्सी टासलाई दिएको अन्तर्वार्तामा भने ।
‘हामी यसलाई सकारात्मक कदमका रूपमा लिएका छौं,’ उनले भने । तर दस्तावेजको विस्तृत विश्लेषण पछि मात्र प्रस्तुत गरिने उनले बताए । सो दस्तावेजमा रूसप्रति अपनाइएको भाषा पछिल्ला वर्षभन्दा नरम रहेको, जसले इयू अधिकारीहरूलाई युक्रेनको युद्ध अन्त्य गर्न मास्कोप्रति पश्चिमी दबाब कमजोर हुन सक्ने चिन्ता उठाएको बताइन्छ । दस्तावेजमा इयूले अमेरिकाका शान्ति पहलहरू रोकिरहेको आरोप लगाइएको छ र अमेरिकाले ‘रूससँग रणनीतिक स्थिरता पुनःस्थापित गर्नुपर्ने’ उल्लेख छ । यसले युरोपेली अर्थतन्त्रहरू स्थिर पार्ने दाबी गरिएको छ । यसले महादेशको नीतिमा प्रभाव पार्ने प्रयासलाई समर्थन गरेको देखिन्छ र अमेरिकाले ‘युरोपेली राष्ट्रहरू भित्रबाट युरोपको वर्तमान मार्गप्रतिको प्रतिरोध’ लाई प्राथमिकता दिनुपर्ने बताइएको छ ।
रिपोर्टले राष्ट्रवादी युरोपेली पार्टीहरूको प्रभावलाई प्रशंसा गर्दै अमेरिकाले युरोपका आफ्ना राजनीतिक सहयोगीलाई सो भावना पुनर्जीवित गर्ने प्रयासमा प्रोत्साहित गर्ने बताएको छ । ट्रम्प प्रशासनसँग युक्रेनका लागि शान्ति सम्झौतामाथि वार्ता गरिरहेको इयूले अमेरिकासँगको आफ्नो दीर्घकालीन सम्बन्धलाई जोड दिँदै केही प्रश्न पनि उठाएको छ । ‘अमेरिका नाटो गठबन्धनमा हाम्रो सबैभन्दा महत्वपूर्ण सहयोगी रहनेछ । तर यो गठबन्धन मुख्यतः सुरक्षा नीतिमा केन्द्रित छ,’ जर्मन विदेशमन्त्री वेडफुलले शुक्रबार भनेका छन् ।
तर युरोपियन काउन्सिल अन फरेन रिलेसन्स नामक संस्थाले भने उक्त रणनीति दक्षिणपन्थीभन्दा पनि दायाँतर्फ उभिएको दाबी गरेको छ । ‘यसमा प्रयोग भएको भाषा केवल क्रेमलिनका विचित्र सोच भएका केही मानिसहरूको भनाइमा मात्र भेटिन्छ,’ पूर्व स्विडिस प्रधानमन्त्री तथा संस्थाका सह–अध्यक्ष कार्ल बिल्ड्टले सामाजिक सञ्जालमा लेखेका छन् ।
अमेरिका हाल जर्मनीको दक्षिणपन्थी पार्टीसँग नजिकिएको छ, जसलाई जर्मन गुप्तचर संस्थाले चरम दक्षिणपन्थीका रूपमा वर्गीकृत गरेको छ । ‘अमेरिका फर्स्ट’ सन्देश प्रवर्द्धन गर्दै यस रणनीतिले क्यारिबियन समुद्र र पूर्वी प्रशान्तमा रहेको भनिएका लागूपदार्थका व्यापार जहाजहरूलाई लक्षित गर्ने तथा भेनेजुएलामा सम्भावित सैन्य कदमबारे विचार गर्ने जनाएको छ । अमेरिकाले जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र ताइवानबाट थप रक्षा खर्चको माग पनि गरेको छ । कांग्रेसका डेमोक्रयाटहरूले भने रणनीतिले अमेरिकी विदेश सम्बन्धलाई क्षति पुर्याउने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभामा गुप्तचर तथा सशस्त्र सेवा समितिका सदस्य तथा कोलोराडोका सांसद जेसन क्रोले यो रणनीति ‘विश्वमा अमेरिकाको स्थानका लागि विनाशकारी’ भएको टिप्पणी गरेका छन् । न्यूयोर्कका प्रतिनिधि ग्रेगोरी मिक्सले यसले भने यस रणनीतिलाई ‘दशकौंदेखि कायम मूल्यमा आधारित अमेरिकी नेतृत्वलाई त्यागेको’ आरोप लगाएका छन् ।