नेभिगेशन
विश्व

श्रीलंकामा चक्रवातका कारण ६ सय बढीको मृत्यु

कोलम्बो । श्रीलंका सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ । श्रीलंकामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ६ सय १८ जनाको ज्यान गएको छ ।

गत हप्ता आएको चक्रवातले २० लाखभन्दा बढी मानिसलाई प्रभावित पारेको छ, जुन जनसंख्याको करिब १० प्रतिशत हो । यो शताब्दीको सबैभन्दा विनाशकारी चक्रवात मानिएको छ । प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार, चक्रवातका कारण पहाडी क्षेत्रहरू अस्थिर बनेका छन् ।

भारी वर्षाले अवरुद्ध भएका क्षेत्रहरूमा राहत पुर्‍याउन हेलिकोप्टर र विमान प्रयोग गरिएको छ । श्रीलंका एयर फोर्सले म्यानमाबाट प्राप्त नयाँ राहत सामग्री पनि वितरण गरेको छ । श्रीलंका सरकारले ६ सय १८ जनाको मृत्यु पुष्टि गरेको छ, जसमा ४ सय ६४ जना मध्य पहाडी चिया बगान क्षेत्रका छन् । बाँकी २ सय नौ जनाको विवरण आउन बाँकी रहेको जनाइएको छ । श्रीलंकाका ७५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ, जसमा करिब पाँच हजार घर पूर्ण रूपमा नष्ट भएका छन् ।

सरकारले शुक्रबार ठूलो क्षतिपूर्ति योजना सार्वजनिक गरेको छ, जसले प्रभावित परिवारलाई घर पुनर्निर्माण र व्यवसाय सुरु गर्न सहयोग गर्नेछ । पुनर्निर्माणमा करिब ७ अर्ब अमेरिकी डलर खर्च लाग्न अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकाको आग्रहमा थप दुई लाख अमेरिकी डलर सहयोग दिने योजना बनाएको छ । उक्त रकम सन् २०२३ मा स्वीकृत २.९ अर्ब डलरको चार वर्षे ऋणबाहेकको रकम हो । राष्ट्रपति अनुरा कुमारा दिस्सानायकले भने, ‘श्रीलंकाको अर्थतन्त्र सुधार भएको छ, तर यस प्रकोपको सामना एक्लै गर्न पर्याप्त बलियो छैन ।’

सरकारले प्रभावितहरूलाई सुरक्षित ठाउँमा नयाँ घर बनाउन सहयोग दिने योजना बनाएको छ । प्रत्येक मृत्यु वा अपांगता भएको व्यक्तिलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने पनि सरकारले घोषणा गरेको छ । श्रीलंकाको केन्द्रीय बैंकले सबै बैंकलाई कर्जाको पुनःसमायोजन गर्न आदेश दिएको छ । यसबाट नागरिकलाई आर्थिक राहत प्रदान गर्ने बाटो सहज हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्