नेभिगेशन
विश्व

बंगलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्याको चिहान उत्खनन सुरू

ढाका । बंगलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिबिना गाडिएका करिब १ सय १४ अज्ञात पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबारदेखि उत्खनन सुरु गरेको छ ।

विद्यार्थी आन्दोलनबाट सुरू भएको जनविद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो । संयुक्त राष्ट्रसंघको सहयोगमा दशकौंदेखि विश्वव्यापी सामूहिक चिहानहरूमा उत्खनन गरी मृतकको पहिचान गर्ने मिशनको नेतृत्व गरेका अर्जेन्टिनी फरेन्सिक मानवशास्त्री लुइस फोन्डेब्रिडरको अगुवाइमा चिहानको उत्खनन हुने बताइएको छ ।

ढाकाको रेयरबजारस्थित कब्रिस्तानमा स्वयंसेवी समूह अन्जुमन मुफिदुल इस्लामले ती बेबारिसे शवहरूको व्यवस्थापन गरेको थियो । सो संस्थाले सन् २०२४ जुलाईमा ८० वटा र अगस्टमामा थप ३४ वटा बेबारिसे शवहरू व्यवस्थापन गरेको थियो ।

संयुक्त राष्ट्रसंघले हसिनाले सत्तामा रहिरहने प्रयासमा गरेको व्यापक दमन र त्यसपछिका हिंसात्मक झडपका क्रममा कम्तीमा एक हजार ४ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको थियो । गत महिना मानवताविरुद्धको अपराधको लागि बंगलादेशको एक अदालतले उनलाई दोषी ठहर गरेको थियो । बंगलादेशको अपराध अनुसन्धान विभाग (सिआइडी) का प्रमुख मोहम्मद सिबगाट उल्लाहले अनुसन्धानकर्ताहरूले सामूहिक चिहानमा लगभग ११४ लावारिश शवहरू रहेको विश्वास गरेको बताए ।

उत्खनन गरिएका शवको पोस्टमार्टम परीक्षण र डिएनए परीक्षण गरिनेछ । यो प्रक्रिया पूरा हुन केही साता लाग्ने जनाइएको छ । ढाकाका चार मेडिकल कलेजका फरेन्सिक विशेषज्ञहरू टोलीमा सामेल छन् । फोन्डेराइडरले यसअघि अर्जेन्टिनाको पूर्व सैन्य तानाशाहीको समयमा बेपत्ता भएका दशौं हजार व्यक्तिहरूको अनुसन्धान गर्न सन् १९८४ मा स्थापना गरिएको अर्जेन्टिनाको मानवशास्त्रीय फरेन्सिक समूहको नेतृत्व गरेका थिए । अधिकारीका अनुसार निकालिएका शवहरूलाई धार्मिक संस्कार र उनीहरूको परिवारको इच्छाअनुसार पुनः अन्त्येष्टि गरिनेछ । गत महिना पूर्वप्रधानमन्त्री हसिनालाई एक अदालतले उनको अनुपस्थितिमा दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्