काठमाडौं । महाधिवेशन नजिकिँदै जाँदा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको एकाधिकारवादी प्रवृत्तिविरुद्ध संस्थापनइतरसमूह उभिन थालेको छ । उनीहरूले सोमबार काठमाडौंमा एमालेको ११औं महाधिवेशनका सन्दर्भमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्दै सामूहिकतामा चल्ने पार्टी निर्माण अहिलेको मुख्य आवश्यकता भएकोमा जोड दिए । मंसिर २७–२९ एमालेको ११औं महाधिवेशन हुँदैछ ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा छलफलका लागि भन्दै ४० पृष्ठ लामो अवधारणापत्र सोमबार पार्टी मुख्यालय च्यासलमा महासचिव शंकर पोखरेललाई बुझाएका छन् । अध्यक्ष ओलीले महाधिवेशनमा आफू बोल्ने र थप छलफल नहुने अभिव्यक्ति दिएका बेला पोखरेलले छुट्टै दस्ताबेज पेस गरेका हुन् ।
पोखरेलले अवधारणापत्रमा ओलीको असहिष्णु र एकाधिकारवादी कार्यशैलीमाथि निसाना साँधेका छन् । च्यासलबाट बाहिरिने क्रममा पोखरेलले आफूले पेस गरेको दस्तावेजमाथि महाधिवेशनमा छलफल हुने विश्वास व्यक्त गरे । ‘अन्तरपाटी जनवाद र पार्टी जीवनको लोकतान्त्रिकरण’ शीर्षकमा दुई कार्यकाल अध्यक्ष बन्न पाउने विधानको प्रावधानलाई पुनःस्थापित गर्न माग गरिएको छ । यस्तै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन दस्तावेजमा माग गरिएको छ ।
पार्टीमा सामूहिक छलफल गरी एकीकृत धारणा बन्न नसक्दा पार्टीको सार्वजनिक प्रतिष्ठामा धक्का लागेको भन्दै पोखरेलले प्रदेश सरकार गठनका सन्दर्भमा भएका पछिल्ला गतिविधिले पार्टीको नैतिक मूल्य माथि नै गम्भीर प्रश्न खडा गरिदिएको बताएका छन् । उनले भनेका छन्, ‘भयरहित वातावरणमा आफूलाई लागेका कुरा प्रष्टसँग राख्ने अवस्था बन्न सकेन । कमिटीहरूमा राजनीतिक वैचारिक बहसको वातावरण कमजोर भएको छ ।’
सिंगो पार्टी राजनीतिक वैचारिक रूपमा होइन, प्राविधिक रूपमा, गैरसरकारी संस्थाको ढाँचाबाट चल्ने गरी रूपान्तरित हुने जोखिम बढेको भन्दै उनले यस स्थितिबाट पार्टीलाई मुक्त गर्न जबजको मूल सिद्धान्त र त्यसको विकासका मूल्य र मान्यतालाई दह्रो गरी आत्मसात् गर्नुपर्ने धारणा राखेका छन् ।
पोखरेलको पक्षमा उभिएको संस्थापनइतर पक्षले अहिले एक जनाको आदेशका भरमा पार्टी चलेको र यसले क्षति निम्त्याएको भन्दै महाधिवेशनबाट त्यस्तो नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका छन् ।
ओलीको विरुद्धमा पार्टी नेतृत्व दाबी गर्दै अघि सरेका पोखरेलका पक्षमा खुलेका एमाले नेताहरू निकै कम छन् । केहीले ओलीको नेतृत्वशैलीमा असन्तुष्टि व्यक्त गरे । पार्टी सामूहिक नेतृत्व र विवेकमा चल्नुपर्ने भन्दै त्यस्तो पार्टी बनाउन आफूहरूले चाहेको इतरपक्षको भनाइ छ । उनीहरूले ओलीले आफुलाई सहज हुनेगरि पदाधिकारी थप्ने गरि विधान संशोधनको तयारी गरेकोमा पनि असहमति व्यक्त गरेका छन् ।
‘हामी सामूहिक नेतृत्वको आधारमा अघि बढ्छौँ, नयाँ नेतृत्व आए नेपाली कम्युनिष्ट पार्टीलाई हामीसँगै ल्याउँछौं,’ एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने । उनले एमालेको अहिलेको नेतृत्वविरुद्ध लडिरहेकाहरूले पार्टी नछाड्ने दाबी पनि गरे । उपाध्यक्ष पाण्डेले सधैं एकैजनाले पार्टीको नेतृत्व गरेर नहुने भन्दै विकल्प दिनुपर्ने धारणा राखे ।
त्यस्तै, उनले भदौ २० र २२ गते विधान महाधिवेशन गरेर छलफलबाटै पदाधिकारीको संख्या १५ मा झारिएको बताए । पाण्डेले भने, ‘होइन अध्यक्षज्यू विधान संशोधन गरेर पदाधिकारी थप्ने अडानमा नै हो भने यसअघि व्यवस्था भएको अध्यक्षका लागि दुई कार्यकालको व्यवस्था पहिले गरौँ, अनि पदाधिकारी थप्न हामी तयार छौँ ।’ तीन महिनाअघि मात्रै अध्यक्ष ओलीले आफ्नो अनुकूलताका लागि विधान संशोधन गरेर पदाधिकारीको संख्या घटाएका थिए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले अलग समूह बनाएर महाधिवेशनमा भिड्ने तयारी गरेका छन् । त्यसैले आफूनिकटका नेतालाई व्यवस्थापन गर्न ओलीले विधान संशोधनमार्फत फेरि पदाधिकारी थप्ने तयारी गरेका बेला पोखरेल पक्षले असहमति राखेको हो ।
एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवालीले ओलीबाट एमाले अब नचल्ने भएरै आफूहरूले नयाँ नेतृत्वको खोजी गरेको बताए । ‘सामूहिक नेतृत्वको प्रणाली दस्तावेजमा भनेका छौँ । तर, व्यवहारमा लागू भएन । नीतिप्रधान भनेर दस्तावेजमा लेखेका छौँ तर नेताप्रधानको अभ्यास भएपछि हाम्रो असहमति हो,’ उपाध्यक्ष ज्ञवालीले भने, ‘त्यसैले हामीले यस्तो परम्परागत प्रवृत्ति बदल्नुपर्छ भनेर महाधिवेशनअघि नेतृत्व बदल्ने अठोट गरेका हौँ ।’
नेतृत्वले समयको माग र महत्व बुझ्नुपर्ने बताउँदै ज्ञवालीले अब नयाँ नेतृत्व अघि सार्नुपर्ने आवश्यकतामा जोड दिए । अध्यक्षमा ईश्वर पोखरेललाई अघि सारेको यो समूहले बाँकी पदाधिकारी पनि विवादरहित रुपमा टुंगो लगाउने दाबी गरेको छ । कार्यक्रममा उपाध्यक्ष पाण्डे,ज्ञवालीसहित नेताहरू परशुराम मेघी गुरुङ, कर्णबहादुर थापा , ठाकुर गैरे, विनोद ढकाललगायत उपस्थित थिए ।

अवधारणापत्रमा के छ ?
उपाध्यक्ष पोखरेलले ११औं महाधिवेशनमा छलफलका लागि भन्दै तयार पारेको अवधारणापत्रमा पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्ने प्रस्ताव दोहोर्याएका छन् । १०औं महाधिवेशनदेखि हालसम्मको पार्टी कामको सिंहावलोकन गर्दै पार्टीले गरेका काम, लिइएका निर्णय, प्राप्त भएका उपलब्धि र व्यहोर्नुपरेका चुनौतीका साथै भएका कमी–कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नैपर्ने माग गरेका छन् ।
‘हामीले पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको मौलिक र विशिष्ट कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादलाई स्वीकार गर्यौँ,’ अवधारणापत्रमा उनले भनेका छन्, ‘विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनका सकारात्मक, नकारात्मक सबै खाले अनुभवहरूबाट शिक्षा लिँदै जनताको बहुदलीय जनवादलाई माक्र्सवादको सिर्जनात्मक प्रयोगको निचोडका रूपमा स्थापित गरिरहेका छौं ।’
पोखरेलले छैटौं राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेपाली क्रान्तिको नेतृत्वदायी विचारका रूपमा विकसित गरिएको र आठौं राष्ट्रिय महाधिवेशनबाट माक्र्सवाद– लेनिनवाद र जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तको रूपमा आत्मसात गरिएको उल्लेख गरेका छन् । सोही महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरणको मान्यतालाई संस्थागत रूपमा स्वीकार गर्दै कार्यान्वयनमा ल्याएको बताएका छन् ।
उनले एमालेभित्र फरक मतको सम्मान नभएको विषय पनि अवधारणापत्रमा समावेश गरेका छन् । एउटा जीवन्त पार्टीमा विचारधारात्मक तथा नीतिगत विषयहरूमा बहस हुनु, त्यस दौरानमा फरक मतहरू देखा पर्नु स्वाभाविक भए पनि व्यवहारमा फरक मतप्रति सहिष्णु बन्ने र तिनको बारेमा छलफल गर्ने जीवन्त वातावरण निर्माण होस्, फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या उपेक्षित भएको अनुभूति गर्न नपरोस्, स्वस्थ छलफल तथा उपयुक्त विधिद्वारा निर्णय भइसकेपछि निर्णय कार्यान्वयनको प्रत्याभूति होस् भन्ने कुरा सुनिश्चित गर्नुपर्नेमा पोखरेलले जोड दिएका छन् ।
‘भदौ २४ पछिको राजनीतिक स्थिति र हाम्रो दृष्टिकोण’ शीर्षकमा उनले चुनाव गर्न लगाएर वर्तमान सरकारलाई बिदा गर्नु उत्तम हुने बताएका छन् । निर्वाचनको विश्वसनीय वातावरण नबनेको भन्दै उनले अध्यक्ष ओलीमाथि लगाइएको स्थानहद हटाउन माग गरेका छन् । एमालेका गतिविधिलाई सडकमा नियन्त्रण गर्ने प्रयास भइरहेको पनि उनको भनाइ छ ।