नेभिगेशन
नेपाल

व्यवसायीले मनाए निर्माण दिवस

काठमाडौं – निर्माण क्षेत्रमा क्रियाशिल व्यवसायीहरूले विविध कार्यक्रम गरी १८औं राष्ट्रिय निर्माण दिवस मनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघ –एफक्यान, प्रदेश महासंघहरू र जिल्ला निर्माण संघहरूले देशभर कार्यक्रम गरी दिवस मनाएका हुन् ।

एफक्यानले सोमबार राजधानीमा प्रभातफेरि तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भएको प्रभातफेरि थापाथली, माइतीघरमण्डला हुँदै महासंघ सचिवालय अनामनगर पुगेको थियो । प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले ठेक्का तोड्दैमा निर्माण उद्योगको समस्या समाधान नहुने बताए । उनले वर्षौको मेहनतपछि स्थापित निर्माण कम्पनी डुबेमा त्यसको असर राज्यलाई पर्ने बताए । निर्माण व्यवसायीहरूलाई व्यवसायीक रूपमा प्रस्तुत हुन उनले सुझाव दिए ।

‘ऐन कानूनमा रहेका केही गलत प्रावधानका कारण निर्माण उद्योगमा समस्या देखिएको कुरा हामीले पनि स्वीकार गर्नुपछ । तर, ऐन, नियम तर्जुमा गर्दा आफूहरूलाई नै ‘बाइपास’ गर्ने गरिएकाले यस्ता समस्या आउने गरेका छन्,’ उनले भने ।

एफकयानका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको समस्यालाई राज्यले गम्भीर रुपमा नलिँदा एकपछि अर्को समस्या उत्पन्न भइरहेको बताए । पछिल्लो समय सरकारले हचुवाका भरमा ठेक्का तोड्दा निर्माण उद्योग इतिहासकै सबैभन्दा कठीन मोडमा पुगेको उनले बताए । महासंघले निर्माण उद्योगमैत्री ऐन कानूनका लागि लामो समयदेखि खबरदारी गर्दै आए पनि समस्या समाधानका लागि सरकारले ठोस चासो नदेखाएको उनले गुनासो गरे । महासंघका महासचिव रोशन दाहालले निर्माण उद्योग अहिले मारमा परेकाले मुलुकको समग्र अर्थतन्त्र नै समस्यामा परेको धारणा राखे । सोमवार नै महासंघ सचिवालयमा एभरष्ट अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रममा आयोजना गरिएको थियो । कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । यस्तै तिनकुनेस्थित निःसहाय सेवा सदनमा आश्रित वृद्धवृद्धालाई कम्बल वितरण गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्