मुगु । मुगु सदरमुकाम गमगढी बजार जाने प्रमुख प्रवेशद्वार मानिने पिना–गमगढी सडक अब स्तरोन्नती हुने भएको छ ।
कर्णाली प्रदेश सरकारले १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेट विनियोजन गरेसँगै अब गुड्ने मात्र होइन रारा पुग्ने पर्यटनकलाई एक रात गमगढी बास बस्ने वातावरणसँगै सुरक्षित र सहज यात्राको अपेक्षा गरिएको छ । रारा घुम्न आउने धेरैजसो पर्यटक गमगढीसम्म पुग्न चाहन्छन्, तर कच्ची सडकका कारण सदरमुकाममै नपुग्दै फर्किन बाध्य हुने गरेका छन् । यही समस्या समाधान गर्न पूर्वधार विकास कार्यालय मुगुबाट कार्यन्वयन हुने गरी यो सडकलाई बहुवर्षीय योजनामा समेटिएको हो ।
‘सडक स्तरोन्नतिसँगै भौतिक पहुँच सुधारिन्छ र पर्यटकको बसाइ बढ्छ,’ स्थानीय श्यामबहादुर शाही भन्छन्, ‘यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष फाइदा पुग्नेछ ।’
पिना–ताल्चामार्ग हुँदै गमगढीसम्म यातायात चलिरहेको भए पनि धुलो, हिलो र उकालो–ओरालीेका कारण यात्रा निकै असहज हुने गरेको छ । सडक स्तरोन्नतिपछि यो दुरी झण्डै ३ किलोमिटर छोटिने हुँदा सडकका कारण हुने सकस कम हुने आशा आफूहरूमा पलाएको स्थानीय हृदयसिंह नेपालीले बताए ।
पिना–गमगढी सडक खण्डको दुरी जम्मा ११ किलोमीटर मात्रै हो तर भौगोगिक विकटता र भूवनोटले गर्दा सडक निर्माणको काम छिटै हुन सकेको छैन । यो सडक खण्ड निर्माणको कामलाई सरकारले बहुबर्षीय योजनामा समेटेको छ । सडकको डिजाइन अहिले सुधारिएको मोडेलअनुसार भइरहेको छ भने ढल निकास, रिटेनिङ वाल, ग्रेड मिलाउने काम योजनाका मुख्य चुनौती रहेको देखिएको छ । काम सुरु भएपछि दुई वर्षभित्र स्तरोन्नती पूरा गर्ने लक्ष्य राखिएको पूर्वधार विकास कार्यालय मुगुका मनमोहन सिंह खड्का बताउँछन् । ‘सडक निर्माणको काममा कुनै अवरोध आएन र स्रोतको निर्वाध उपलब्धता भएको अवस्थमा काम दुई वर्षमै सकिनेछ,’ उनले भने ।
सडक स्तरोन्नती भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आउजाउमा सहजता हुनेछ । यसो भयो भने पर्यटकहरू सहज रूपमा गमगढीमै एक रात बस्न सक्नेछन् । यसले जिल्लाका बजारदेखि होटल–लजसम्म स्थानीय अर्थतन्त्रमा नयाँ चमक ल्याउने अपेक्षा गरिएको छ ।