नेभिगेशन
विश्व

६३ बालबालिकासहित ११४ जनाको मृत्यु

सुडानका स्कुल र अस्पतालमा आक्रमण

जेनेभा । सुडानको दक्षिणी कोर्डोफान राज्यमा गत हप्ता एक अस्पताल र शिशु विद्यालयमा भएको आक्रमणमा ६३ बालबालिकासहित १ सय १४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले सोमबार जनाएको छ ।

कलोगी प्रशासनिक एकाइका प्रमुख स्थानीय अधिकारी इसाम अल–दिन अल–सइदले एएफपीलाई बताएअनुसार सेनाको नियन्त्रणमा रहेको शहरमा बिहीबार भएको पहिलो ड्रोन आक्रमण एउटा शिशु विद्यालय; दोस्रो आक्रमण अस्पताल र तेस्रो आक्रमण बालबालिकाहरूको उद्धार केन्द्रमा भएको थियो ।

 सन् २०२३ अप्रिलदेखि सुडानको सरकारी सेना र विद्रोही निकट अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स; आरएसएफ बीच द्वन्द्व भइरहेको छ । द्वन्द्वका कारण दशौं हजारको ज्यान गएको छ र लगभग एक करोड २० लाख विस्थापित भएका छन् ।

पश्चिमी सुडानमा सेनाको अन्तिम पकड क्षेत्र अल–फासरमाथि अक्टोबरको अन्त्यतिर कब्जा गरेपछि आरएसएफले तीन राज्यमा विभाजित तेल रहेको क्षेत्र कोर्डोफान क्षेत्रमा आक्रमण बढाएको छ ।

‘‘किन्डरगार्टेन’ र नजिकैको कलोगी ग्रामीण अस्पतालमा कम्तिमा तीन पटक आक्रमण हुँदा ६३ बालबालिकासहित १ सय १४ जनाको मृत्यु भएको र ३५ जना घाइते भएका छन्,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले सुडानी अधिकारीलाई उदृत गर्दै एक्समा उल्लेख गरेका छन् । उनले भने, ‘बिहीवारको आक्रमणमा बाँचेकाहरूलाई उपचारका लागि दक्षिण कोर्डोफानको अबु जेबैहा अस्पतालमा लगिएको छ । एकै पटक ठूलो संख्यामा मानिसहरू हताहत भएपछि उपचारका लागि रक्तदान र अन्य चिकित्सा सहयोगका लागि तत्काल सहयोग गर्न नागरिकहरूलाई सूचना गरिएको छ ।’

महानिर्देशक घेब्रेयससले भने, ‘घाइतेलाई विद्यालयबाट अस्पताल लैजाने क्रममा पनि स्वास्थ्यकर्मी र उद्धारकर्तामाथि व्यापक आक्रमण भएको देखिन्छ । यो अमानवीय र घृणस्पद हो ।’ नागरिक र स्वास्थ्य संस्थाहरूमा हुने यस्ता मूर्खतापूर्ण आक्रमणहरूको डब्लुएचओले स्पष्ट शब्दमा निन्दा गर्दछ र हिंसा अन्त्य गर्न र स्वास्थ्य लगायत मानवीय सहायतामा पहुँच बढाउन फेरि आह्वान गर्दछ । उनले भने, ‘सुडानीहरूले धेरै पीडा भोगेका छन् । अब युद्धविरामको विकल्प छैन ।’

डब्ल्यूएचओले स्वास्थ्य सेवामा भएका आक्रमणहरूको गणना र पुष्टि गर्दछ, यसले कसैलाई दोष दिँदैन किनकि यो एक अनुसन्धानमुलक संस्था हो । डब्लुएचओले बिहान ६ बजेदेखि दिउँसोसम्म भएको आक्रमणमा स्वास्थ्यकर्मी र बिरामी प्रभावित भएको जनाएको छ । आक्रमणकारीले विद्यालय र स्वास्थ्य सेवामा अवरोध र ‘मनोवैज्ञानिक हिंसा’ र चेतावनी दिएको संगठनको रिपोर्टमा उल्लेख छ ।

संगठनले यस वर्ष सुडानमा स्वास्थ्य सेवामा ६३ वटा आक्रमण गरेको र यसबाट एक हजार ६ सय ११ जनाको मृत्यु भएको छ र २ सय ५९ जना घाइते भएको जानकारी गराएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रे सले बिहीबार भएको आक्रमणको आफू स्तब्ध भएको बताएका प्रवक्ता स्टेफेन डुजारिकले बताए । उनले भने, ‘महासचिवले राजनीतिक दलको प्रभावमा नागरिक तथा निहत्था बालबालिकामाथि आक्रमण गर्ने  सम्बन्धित सबैलाई तत्काल कारबाही गर्न र लडाइँ रोक्न र द्वन्द्वलाई बढावा दिने हतियारको प्रवाह रोक्न आफ्नो शक्ति प्रयोग गर्न आह्वान गर्दछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्