नेभिगेशन
अर्थतन्त्र

एनसेलले सुरु गर्‍यो ‘९७१’ रेञ्जको मोबाइल नम्बर

काठमाडौं – एनसेलले सोमबारदेखि नयाँ मोबाइल नम्बर रेञ्ज ‘९७१’ वितरण थालेको छ । ग्राहकका लागि नयाँ नम्बर उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त भएपछि कम्पनीले यो रेञ्ज बजारमा ल्याएको हो । प्राधिकरणले गत जेठमा एनसेललाई ९७१ रेञ्ज प्रयोग गर्न स्वीकृति दिएको थियो ।

यसअघि एनसेलले ९८०, ९८१, ९८२ र ९७० नम्बर रेञ्जमार्फत सेवा दिंदै आएको छ । ती नम्बरहरू पर्याप्त नभएपछि प्राधिकरणले राष्ट्रिय नम्बरिङ् वितरण योजनाअनुसार नयाँ रेञ्ज उपलब्ध गराएको हो ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ् दत्तका अनुसार डिजिटल कारोबार, मोबाइल–आधारित सेवाहरू तथा बढ्दो बजार माग पूरा गर्न नयाँ नम्बर रेञ्ज उपयोगी हुने छ । ‘बजारको अवस्था र बढ्दो आवश्यकतालाई ध्यानमा राखी दिएको अनुमति प्रति हामी आभारी छौं । आवश्यक तयारी पूरा भएसँगै नयाँ नम्बर वितरण सुरु गरेका छौं,’ दत्तले बताए ।

कम्पनीले नयाँ नम्बर रेञ्ज प्रणालीमा इन्ट्रिगेट वा अपडेट गर्न बाँकी रहेका सरकारी तथा गैरसरकारी निकाय, बैंक तथा वित्तीय संस्था, सेवा प्रदायक कम्पनीहरूलाई चाँडो समायोजन गर्न आग्रह गरेको छ । ओटीपी प्राप्त गर्न, डिजिटल सेवामा साइनअप गर्न र विभिन्न कारोबार गर्न मोबाइल नम्बर अनिवार्य हुने भएकाले नयाँ रेञ्ज सबै प्रणालीमा समायोजन गरिनु आवश्यक रहेको एनसेलले जनाएको छ ।

सूचना प्रविधिको तीव्र विकाससँगै देश डिजिटल भविष्यतर्फ उन्मुख भइरहेको वर्तमानमा, नयाँ नम्बर रेञ्जले ग्राहकलाई सहज सेवा प्रदान गर्न तथा सेवा प्रदायकहरूलाई प्रणाली सुधारमा सहयोग पुग्ने एनसेलले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्