काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसमा नाम सिफारिस गर्ने क्रम सुरु भएको छ । कांग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न दिएको निर्देशनअनुसार क्षेत्रीय समितिले नाम सिफारिस गरेको हो । सोमबार र मंगलबार नै केही जिल्लाबाट नाम सिफारिस भइसकेको छ भने केही जिल्लाबाट नाम आउन बाँकी छ । क्षेत्रबाट नाम जिल्लामा पठाइएको र छिटै केन्द्रीय समितिमा ती नाम पठाइनेछ ।
गत सोमबार कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधिसभा लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभा सदस्यका लागि उमेदवार सिफारिस गर्न मातहतका निकायलाई परिपत्र गरेका थिए । नाम सिफारिस गर्ने बैठकमा सहमति भए सहमतिबाट र सहमति हुन नसके बहुमतबाट निर्णय गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
परिपत्रअनुसार एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नाममा आफ्नो रायसमेत उल्लेख गरी जिल्ला कार्यसमितिलाई २५ मंसिरभित्र प्रदेश कार्यसमितिमा पठाउनु पर्नेछ । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रक्रिया पुर्याएर बैठक बसी आफ्नो रायसमेत उल्लेख गरेर जिल्ला कार्यसमितिले उम्मेदवारको नाम प्रदेश कार्यसमितिमा पठाउनु पर्ने परिपत्रमा भनिएको छ ।
प्रदेश कार्यसमितिलाई प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी मंसिर मसान्तभित्र केन्द्रमा पठाउन परिपत्रमार्फत् निर्देशन दिइएको छ । सोही परिपत्रमा अनुसार उम्मेदवार सिफारिस थालिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई भेट्न आउनेहरूसँग गृहजिल्ला डडेलधुराबाटै अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । डडेलधुरा कांग्रेसले उनले इच्छा गरेको अवस्थामा एकल नाम सिफारिस गर्ने तयारी गरेको छ । देउवा २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र २०७९ साल गरि ७ पटक डडेलधुराबाटै निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभाको उम्मेदवारका लागि कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सुर्खेत क्षेत्र–१ बाट सिफारिस भएको छ ।
प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । खड्का गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको पनि एकल नाम सिफारिस भएको छ । यसअघि निर्वाचित झापा–१ का लागि क्षेत्रीय समितिले शर्माको एकल नाम सिफारिस गरेको हो ।
महामन्त्री गगन थापाले यसअघि जितेको क्षेत्र काठमाडौं–४ बाटै पुनः उठ्ने बताइसकेका छन् । तर, मंगलबार थापाको नाम रोल्पा र धनकुटाबाट पनि सिफारिस भएको छ । थापा काठमाडौं–४ बाट तीन पटक निर्वाचित भइसकेका छन् ।
त्यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माको यसअघि निर्वाचित क्षेत्रबाटै एकल नाम सिफारिस भएको छ ।
कांग्रेस नेता डा. शेखर कोइरालाको नाम यसअघि निर्वाचित भएकै क्षेत्रबाट एकल सिफारिस भएको छ । मोरङ–६ बाट उनको नाम एकल नाम सिफारिस भएको हो ।
त्यस्तै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गृहजिल्ला नुवाकोट–१ बाट उठ्ने तयारी गरेका छन् । उम्मेदवारको नाम सिफारिस गर्ने तयारी हुँदा महत मंगलबार नुवाकोट पुगेका छन् । २०७४ मा काठमाडौं–५ बाट पारजित महत २०७९ मा समानुपातिकतर्फबाट सांसद हुँदै गठबन्धन सरकारमा अर्थमन्त्री बनेका थिए ।
सिरहाबाट सिफारिस पुरा
मुलुकका अरु जिल्लालाई सिफारिसका मामिलामा सिरहाले उछिनेको छ । सिरहाले चारवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस प्रक्रिया पूरा गरेको हो । क्षेत्रीय समितिहरूबाट प्राप्त प्रस्तावलाई समेट्दै कांग्रेसले अनुभवी नेता, पूर्वमन्त्रीदेखि नयाँ पुस्ताका प्रतिनिधिसम्मको नाम सिफारिस गरेको जिल्ला सभापति रामचन्द्र यादवले बताए ।
सिरहा–१ बाट प्रत्यक्षतर्फ पूर्वमन्त्री पद्मनारायण चौधरी र रामसुन्दर चौधरी सिफारिस भएका छन् । समानुपातिकतर्फ उषा राउत, सूर्यनारायण यादव, परमेश्वर साह, श्रीचन पासमान र श्रमिला पोखरेलका नाम प्रस्ताव गरिएको छ ।
सिरहा–२ मा प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति रामचन्द्र यादव सिफारिस भएका छन् । समानुपातिकतर्फ पूर्वमन्त्री तथा अष्ट्रेलियाका राजदूत चित्रलेखा यादवको नाम अग्रस्थानमा राखिएको छ । राष्ट्रियसभा सदस्यका लागि अमियकुमार यादवको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।
सिरहा–३ मा प्रत्यक्षतर्फ पूर्वमन्त्री तथा कांग्रेसकी पूर्वकोषाध्यक्ष सीतादेवी यादव र उनका छोरा डा. सुभाषचन्द्र यादव सिफारिसमा परेका छन् । समानुपातिक सूचीमा अमर रेग्मी, जिवछ गुप्ता र जगतारैन कामतीको नाम समावेश गरिएको क्षेत्रीय सभापति सञ्जयप्रकाश यादवले जानकारी दिए ।
सिरहा–४ मा प्रत्यक्षतर्फ हज समितिका अध्यक्ष मोहम्मद मुक्तार अहमद, मन्जु खाँड (पूर्वगृहमन्त्री बालकृष्ण खाँडकी श्रीमती) र डा. गणेश मण्डल सिफारिस भएका छन् । समानुपातिकतर्फ अरुणकुमार सिंह, रामएकवाल यादव, नागेश्वर भुडेर र रमेश न्यौपानेको नाम प्रस्तावित छन् । चारै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरूको नाम आधिकारिक रूपमा सिफारिस भइसकेको पार्टीले जनाएको छ ।