नेभिगेशन
राजनीति

अधिकारीलाई थुनामा राख्न नपर्ने आदेश

एउटा मुद्दामा बाहिर बसेर लड्न पाउने गरि विशेष अदालतले धरौटी माग गरे पनि हेलिपोर्टको अर्को मुद्दाले उनी तत्काल छुट्ने छैनन्

काठमाडौं । विशेष अदालतले ८ अर्ब ३ करोड बिगो रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धि भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार अधिकारीलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसमेतलाई विपक्षी बनाइएको मुद्दामा यस्तो आदेश भएको हो । आयोगले गत आइतबार अधिकारीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारी र भण्डारी दुवै प्रतिवादी सामूहिक रूपमा जिम्मेवार हुने भन्दै थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने माग आयोगले गरेको थियो । तर, प्रतिवादीका तर्फबाट बहस गर्ने अधिवक्ताहरूले परियोजना एफआईडीआईसी निर्देशिकाअनुसार दातृराष्ट्र चीनको सहुलियतपूर्ण ऋणमा ईपीसी मोडेलमार्फत् सञ्चालित भएकाले सार्वजनिक खरिद ऐन लागु नहुने भन्दै लागत वृद्धि निर्णयमा निर्णायक भूमिका नरहेको र परियोजना तोकिएको समयमा सम्पन्न भएकाले साधारण तारेखमा राख्नुपर्ने तर्क इजलासमा गरेका थिए ।

अदालतले परियोजना बहुवर्षीय भएको, निर्णय प्रक्रियामा विभिन्न तह र अधिकारी संलग्न रहेको तथा प्रतिवादीहरू परियोजनामा आ–आफ्नो भूमिकामा केही समय मात्र जिम्मेवारीमा रहेको उल्लेख गर्दै यस चरणमा थुनामा राख्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकाल्दै धरौटीमात्रै माग गरेको हो ।

पोखरा विमानस्थल अनियमितताको मुद्दामा बाहिर बसेर मुद्दा लड्न पाउने गरि विशेष अदालतले धरौटी माग गरेपनि उनी तत्काल छुट्ने छैनन् । अधिकारीलाई आइतबार भक्तपुरको नलिञ्चोक हेलिप्याड प्रकरणमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि हाल उनी डिल्लीबजार कारागारमा छन् । न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उक्त मुद्दामा अधिकारीविरुद्ध १३ करोड ५७ लाख रुपैयाँ बिगो कायम गरिएको छ । अधिकारीसँगै सोही मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका क्यानका निर्देशक मुरारी भण्डारीलाई ५ लाख धरौटीमा छोड्न आदेश दिइएको थियो ।

अधिकारीसँगै भण्डारी पनि पोखरा विमानस्थल अनियमिततामा प्रतिवादी छन् । विशेष अदालतले पोखरा विमानस्थलको मुद्दामा भण्डारीसँग एक लाख धरौटी माग गरेको छ ।

पोखरा विमानस्थल अनियिमततामा मुद्दाले नागरिक उड्डय प्राधिकरण आधै खालि हुने अवस्था आएको छ । धेरै कर्मचारी मुछिएकाले यस्तो भएको हो ।

महानिर्देशक अधिकारीसहित क्यानका २२ कर्मचारी अनियमितता प्रकरणमा मुछिएका छन् । जसमध्ये क्यानको व्यवस्थापनमा रहेका ७ मध्ये ४ जना बहालवाला कर्मचारी आइतबारबाटै निलम्बनमा परेका छन् । यसरी निलम्बित हुनेमा क्यानका उपमहानिर्देशकद्वय प्रतापबाबु तिवारी र हंसराज पाण्डे, क्यानकै बाबुराम पौडेल र द्वारिकाप्रसाद भट्टराई छन् । अधिकारी निलम्बनमा परेपछि क्यानका कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ रहेका उपमहानिर्देशक तिवारी महानिर्देशक हुने दौडमा अग्रपंक्तिमा थिए ।

मुद्दामा क्यानका तत्कालिन महानिर्देशक त्रिरत्न मानन्धर, रतिशचन्द्र लाल सुमन, तत्कालिन उपमहानिर्देशकहरू सुमनकुमार श्रेष्ठ, रोशन चित्रकार र ऋषिकेश शर्मा, तत्कालिन निर्देशक मुकुन्दप्रसाद भण्डारी, उपनिर्देशक नारायण गिरी, महेशकुमार बस्नेत र अशोककुमार सुवेदी, प्रबन्धक मुरारी भण्डारी, गंगा सागरमान श्रेष्ठ, रामचन्द्र सुवेदी र रुद्रप्रसाद फुयाँल, तत्कालिन उपप्रबन्धक प्रदीप अधिकारी र एयरपोर्ट इञ्जिनियर पुरुषोत्तम डंगोललाई अख्तियारले प्रतिवादी बनाइएको छ ।

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका तत्कालीन प्राध्यापक डा. रवीन्द्रनाथ श्रेष्ठ, उपप्राध्यापकहरू सूर्य ज्ञवाली, सन्तोषकुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति