रौतहट, २ भदौ - संघीय सरकारको चार करोड लगानीमा निर्माण गरिएको रौतहटको चन्द्रपुर बसपार्क अझै अलपत्र परेको छ । बसपार्क सञ्चालन हुन नसक्दा घाँस उम्रिन थालिसकेको छ ।
गत आर्थिक वर्षमा नेपाल सरकारको करिब ४ करोड लगानीमा बन्द रहेको बसपार्कलाई पुनः निर्माण गर्दै आधुनिक बनाइएको छ । निर्माण कम्पनीले आधुनिक बसपार्कको निर्माण सम्पन्न गरेर गत फागुन १५ गते चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो । हस्तान्तरणमा नगर प्रमुख सञ्जय काफ्लेले चाँडै नै बसपार्क सञ्चालनमा ल्याइने र चन्द्रनिगाहपुरको ट्राफिक समस्यालाई समाधान गरिने जनाएका थिए ।
पहिलो पटक २०६९ असोज १५ गते स्थानीयको सहयोगमा तथा इलाका प्रशासन कार्यालयको पहलमा सो बसपार्क उद्घाटन भएको थियो । उद्घाटनसँगै सञ्चालनमा आएको बसपार्क केही महिनामै बन्द भएको थियो । सवारी धनीहरूले सुरक्षाको कारण देखाउँदै सो स्थानमा सवारी–साधन लैजान छाडेपछि बन्द थियो ।
त्यो बेला बसपार्क निर्माणमा कति लगानी गरिएको थियो, त्यसको यकिन तथ्यांक कसैसँग छैन । त्यसपछिका १३ वर्ष बिते, बसपार्क सञ्चालन हुन सकेको छैन । यसपछि, पनि बसपार्कलाई नगरपालिकासमक्ष हस्तान्तरण गरिएको ६ महिना बितिसकेको छ ।
नगरपालिकाले सञ्चालनमा कुनै चासो नदेखाएको भन्दै स्थानीय रुष्ट छन् । अहिले बसपार्कमा घाँस उम्रिएको छ । मर्मत सम्भार नगरे बसपार्क झाडीमा परिणत हुने स्थानीयको चिन्ता छ ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघ रौतहटका पूर्वअध्यक्ष वासुदेव अधिकारीले 'बसपार्कमा सवारी पार्क नगरेर जथाभावी सडकमै अस्तव्यस्त राख्ने गरेको बताए । बसपार्क यथाशक्य चाँडो सञ्चालन गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने अधिकारीले बताए ।
चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ टेकानमा रहेको बसपार्क करिब २ बिघा पाँचकठ्ठा क्षेत्रफलमा फैलिएको छ । सो बस पार्कमा १५० भन्दा बढी सवारी–साधन पार्किङ गर्ने क्षमता छ । बसपार्कमा चार्जिङ स्टेशन, शौचालय, व्यावसायिक सटर, बगैंचासहितको आधुनिक सुविधा छ, तर कसैलाई पनि यी सुविधा उपभोग गर्ने चाँसो छैन । बसपार्क खाली छ ।
राजमार्ग, चन्द्रनिगाहपुर चोक र गौर रोड दुवैतिर अव्यवस्थित रूपमा सवारी पार्क गर्ने गरिएको छ । अव्यवस्था कतिसम्म छ भने सडकमै टेबुल राखेर टिकट काउन्टर चलाउने गरिएको छ । यस्तो व्यवहारले दुर्घटनाको जोखिम बढाएको रौतहट प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र अधिकारीले बताए ।
‘बसपार्क लामा तथा छोटा दूरीका यात्रुवाहक सवारी–साधनहरू रोक्ने व्यवस्था गर्न सके चन्द्रनिगाहपुर चोक र बजार क्षेत्रका राजमार्गहरू खुल्ला रहन्थे,’ उनले भने, ‘जसले गर्दा सवारी दुर्घटनामा कमी र ट्राफिक व्यवस्थापनमा सहज हुन्थ्यो, शहरी सौन्दर्य पनि बढ्ने थियो ।’
उता स्थानीय व्यवसायीहरू पनि पसलअगाडि अव्यवस्थित रूपमा साधन पार्किङ गर्नाले व्यवसायलाई नकारात्मक असर परिरहेको गुनासो गर्छन् । सवारी व्यवसायीहरू भने सुरक्षाको सुनिश्चितता र ठोस कार्ययोजनासहित नगरपालिका आए आफ्ना सवारीहरू लैजान तयार रहेको बताउँदै आएका छन् ।
नगरप्रमुख काफ्लेले बसपार्क सञ्चालनका लागि मापदण्ड बनाइसकेको र ढिलोमा असोज १ गतेसम्ममा सञ्चालनमा ल्याउने बताए । ‘हामी गृहकार्य गर्दैछौं,’ नगर प्रमुख काफ्लेले भने, ‘बसपार्क सुरक्षा, विद्युत् लगायतको सुविधाका लागि हामी लागिपरेका छौं । चाँडै नै सर्वपक्षीय छलफल गरेर सबैले अपनत्व लिने गरी सञ्चालन गर्छौं ।’
बढी क्षमताको चार्जिङ मेसिन राख्ने, यात्रुवाहकसँगै मालवाहक सवारी–साधनहरूसमेत राख्ने होल्डिङ सेन्टर बनाउने योजना रहेको पनि उनले सुनाए ।