नेभिगेशन
राजनीति

‘राजनीतिक दल र जेनजीबीच समझदारी गरौं’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रुपमा राजा रहने व्यवस्था कायम गर्न माग गरेको छ । मंगलबार काठमाडौंमा सभा गरेरै उक्त पार्टीले यस्तो माग राखेको हो ।

अध्यक्ष राजेन्द्र लिङदेनले सभालाई सम्बोधन गर्दै सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी गर्न माग गरे । ‘नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रुपमा राजा रहने व्यवस्था कायम गरेर जाऔं । अब यसको विकल्प छैन ।’ उनले देशले यो भन्दा ठूलो द्वन्द्व, क्षति बेहोर्न नसक्ने भन्दै सबै प्रकारका अहंकार त्यागेर सम्झौताका लागि तयार हुन राजनीतिक दलहरूलाई आग्रह गरे ।

आम निर्वाचन अगावै कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेनजी लगायतको सर्वपक्षीय सम्मेलनका लागि राप्रपाले सरकारसँग माग गरेको छ । राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारको ध्यानार्कषण पनि गराएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राप्रपाले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको बताए । उनले राप्रपाले सबैले एकताको प्रतीक मान्न सक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिमा स्थान दिएर अघि बढ्नुपर्ने माग गरे । सभालाई सम्बोधन गर्दै मिश्रले भने, ‘पूर्ण राजतन्त्र भनेको होइन, यो कुरा बुझ्नुपर्छ । हामीले लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई पनि स्थान दिनुपर्छ । आधुनिक शक्तिको प्रतीकको रुपमा राजनीतिक दलहरूलाई पनि समेटनुपर्छ ।’

सभामा राप्रपा महामन्त्री धवल शमशेर राणाले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताए । ‘धेरै साथीहरूले सक्रिय राजतन्त्रका कुरा गर्छन् । त्यो कुरासित हामी सहमत छैनौं । अब सक्रिय राजसंस्था होइन । संवैधानिक राजसंस्था आवश्यक छ,’ उनले भने, ‘यो कुरा मैले राजासँग पनि सोधेर स्पष्ट पारेको छु। नेपालीका छोराछोरीले देश चलाउने हो । अभिभावकको भूमिका राजसंस्थाले गर्नुपर्छ । यो विषयमा हामी स्पष्ट हुनुपर्छ । सनातन हिन्दु अधिराज्य कायम गर्ने यो सभा हो । यो चेतना जगाउने ठाउँ हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति