नेभिगेशन
राजनीति

सुधन गुरुङले गरे धरपकडको चिन्ता

काठमाडौं – जेनजी आन्दोलनका अगुवामध्येका भनिने सुधन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जेनजी आन्दोलनका सहभागीमाथि भइरहेको धरपकडप्रति चिन्ता व्यक्त गरेका छन् । मंगलबार सिंहदरबारमा भएको भेटवार्तामा आन्दोलनका मुख्य मुद्दा र सरकार–आन्दोलनबीच भइरहेको सम्झौता प्रक्रियाको प्रगतिमा केन्द्रित छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा गुरुङले जेनजी आन्दोलनलाई औपचारिक मान्यता दिने प्रक्रियामा देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सम्झौताका विषयहरूलाई चाँडो निष्कर्षमा पुर्‍याउन सरकारसँग आग्रह गरे ।

गुरुङले आन्दोलनमा सहभागी युवाहरूले भोगिरहेको कठिनाइबारे पनि प्रधानमन्त्रीसमक्ष गुनासो राखे । विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा गतिविधि सञ्चालन गरेका जेनजी समर्थक युवालाई प्रहरीले पक्राउ गरेको र केहीलाई धरौटी तिर्न नसक्दा पुर्पक्षका लागि थुनामा बस्न बाध्य भएको उनको भनाइ थियो । निर्दोष युवामाथिको कारबाही तुरुन्त रोक्न, पक्राउ परेकालाई कानुनी सहयोग उपलब्ध गराउन र आन्दोलनका कारण नकारात्मक प्रभाव परेका परिवारलाई राहत दिन उनले सरकारलाई आग्रह गरे ।

जेनजी आन्दोलनको आडमा आपराधिक घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरिरहेको छ । धरपकड भइरहँदा निर्दोष पर्नु नहुनेमा गुरुङको जोड छ । प्रधानमन्त्री कार्कीले गुरुङलाई सरकार सहमति, संवाद र संवैधानिक दायराभित्र बसेर समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति