नेभिगेशन
प्रदेश

राप्ती र नारायणी नदीमा घडियाल गणना

चितवन । राप्ती र नारायणी नदीमा संकटापन्न अवस्थामा पुगेको भनिएको सरीसृप प्रजाति घडियाल गणना सुरु भएको छ । हरेक वर्ष नदीमा छोडिने गोहीको अवस्था र संख्या यकिन गर्न गणना थालिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताए ।

राप्ती नदीको लोथरदेखि गोलाघाट हुँदै त्रिवेणीसम्म र नारायणी नदीको गाँजीपुरदेखि गोलाघाटसम्म गणना गरिनेछ । निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई हरेक वर्ष नदीमा छाड्ने गरिन्छ । गत ३० वर्षमा देशका विभिन्न नदीमा दुई हजार १ सय ५ गोही छाडिसकिएको छ । गत वर्ष १ सय ३३ वटा र यस वर्षमा १५ गोही नदीमा छाडिएको छ । नेपालमा प्रजनन गरेर नदीमा छाडिने गोही तल्लो तटीय बहावका कारण भारतीय क्षेत्रमा पुग्ने गरेका छन् । गत वर्षको गणनामा राप्ती र नारायणीमा ३ सय ५२ वटा घडियाल गोही भेटिएका छन् । राप्ती नदीमा २ सय ६ र नारायणी नदीमा १ सय ४६ गोही भेटिएका थिए ।

विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमारलगायतका देशमा पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् । नदीजन्य पदार्थको उत्खनन, प्रदूषण, माछा मार्नेलगायतका कारणले गोहीका प्राकृतिक बासस्थान विनास भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्