कालिकोट – गाउँ वर्षौंदेखि खानेपानीको चरम अभाव थियो । कालिकोटको तिलागुफा–२ देवारतोली गाउँका बासिन्दालाई खानेपानीसँगै खेतबारीमा सिँचाइका लागि पनि निकै सास्ती थियो ।
उत्तर पुछारमा तिलानदी बगिरहेको देखिनथ्यो । करिब दुई किलोमिटर माथिको बस्ती पानीको थोपा–थोपामा आफ्नो दैनिकी चलाइरहेको थियो । पानी भर्न महिलाले घण्टौं उकालोओरालो गर्नुपर्ने बाध्यता, भीरमा चिप्लिएर गाग्री– गाग्रा खस्नु, वर्षौंदेखि सागसब्जी नउब्जनु—देवारतोलीको दैनिकी यही थियो ।
गाउँले ‘चन्द्रेभिर’ नाम दिएको भीरले त यहाँका बासिन्दाको जीवन यत्तिकै कठोर बनाइदिएको थियो । यही भीरबाट चिप्लिएर ४२ वर्षीय चन्द्रबहादुर विश्वकर्मा झण्डै ज्यानै गुमाएका थिए । चामलको बोरा बोकेर घर फर्कँदै गर्दा भीरमै अड्किएका उनलाई भोलिपल्ट गाउँलेले उद्धार गरेका थिए । सात लाख खर्चेर नेपालगञ्जमा उपचार गराएपछि उनी बाँच्न त पाए, तर भीरको भय, पानीको कष्ट र दैनिक जोखिम उनका लागि जीवनकै अर्को अध्याय बन्यो ।
सानी विकजस्ता असंख्य महिलाको कथा पनि कम पीडादायक थिएन । दिनको आधा समय पानी खोज्न बित्थ्यो, खेतबारी सुक्थे, बालबालिकाले विद्यालय छोड्थे । तिला नदीमै पानी खुवाउन बस्तुभाउ लैजानुपर्ने कठिनाइले गाउँको दैनिकी नै संकटमा परेको थियो ।
तर पछिल्लो वर्षदेखि देवारतोलीले नयाँ युगमा पाइला टेकेको छ । नेपाल रेडक्रस सोसाइटी कालिकोट, तिलागुफा नगरपालिका र लक्जम्बर्ग रेडक्रसको सहकार्यमा सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ अन्तर्गत ‘एक घर, एक धारा’ योजना यहाँको जीवन परिवर्तनको मुख्य आधार बन्यो । गाउँभन्दा चार किलोमिटर माथिको जंगलको मुहानबाट पानी ल्याई ट्यांकीमा संकलन गरी हरेक घरमा धारा जडान गरिएको छ ।
धाराबाट पानी झर्न थालेको दिन सानी विकजस्ता महिलाले रातभर निद्रा नलाग्ने गरी खुसी माने । पानी घरमै उपलब्ध भएपछि आँगनका डिलमा सागसब्जी रोप्न थालेका छन्, बालबालिका समयमै विद्यालय जान थालेका छन्, बस्तुभाउलाई खुवाउन नदी धाउनुपर्ने बाध्यता सकिएको छ । बसाइँसराइ कम भएको छ, कामधन्दा गर्ने समय बढेको छ ।
योजनाका संयोजक रवि लामिछानेका अनुसार समुदायकै मागमा चन्द्रेभिरमा रेलिङ निर्माण गरिएको छ, जसले अब भीर पार गर्दा हुने जोखिम घटाएको छ । बदमबाडा टोलका ४८ घरमा पनि यही सुविधा पुर्याइएको छ ।
चन्द्रबहादुर विश्वकर्मा भावुक हुँदै भन्छन्, ‘भीरबाट बाँच्नु त आँगनमा पानी झरेको दिन हेर्नै पो रहेछ ।’ एक धाराले देवारतोलीमा पानीको सुविधासँगै गाउँलेमा आशा र सुरक्षामा भरोसा बढाएको छ ।