नेभिगेशन
प्रदेश

हिमाली बस्तीमा धेरैलाई आँखा र कानको समस्या

मुगु – हिमाली जिल्लाका विकट बस्तीमा आँखा र कानको समस्या धेरैलाई भएको पाइएको छ । मुगम कार्मारोङ गाँउपालिकाको चितै, किम्री र पुलुमा सञ्चालित तीनदिने स्वास्थ्य शिविरबाट यस्तो पाइएको हो ।

तीन बस्तीमा अपागंता भएकाहरूका लागि स्वास्थ्य परीक्षण उपचारसँगै अपागंता परिचयपत्र वितरण शिविर आयोजना गरिएको थियो । शिविरमा स्वास्थ्य जाँचका लागि आएकामध्ये आँखा र कानको समस्या भएकाहरू धेरै थिए । बिरामीमध्ये धेरैले स्वास्थ्य संस्थामा जाँच नगराइ घरेलु औषधि प्रयोग गरिरहेको बताएका थिए ।

गाउँपालिकाको समन्वय र इन्टरनेशनल नेपाल फेलोशिपको सहयोगमा आयोजित शिविरबाट स्वासथ्य सेवा र परिचयपत्र पाएकाहरू निकै खुसी भएका छन् । शिविरमा आएकाहरूलाई स्वास्थ्य जाँचसँगै सित्तै औषधि दिइएको थियो । शिविर आयोजना गरिएका गाउँमा उपचार केन्द्र छैनन् । अस्पताल पुगेर स्वास्थ्योपचार सेवा लिन गमगढी पुग्नुपर्छ । गमगढी एक दिनको पैदल दुरीमा पर्छ ।

स्थानीयबासी छिटुप तामाङले भने ‘हामीलाई डाक्टरी सेवा लिन निकै गाह्रो छ । सदरमुकाम पुग्न एक दिन पुरै लाग्छ ।’ विशेषज्ञ चिकित्सकको सेवासहित स्वास्थ्य शिविर सञ्चालन गरिएकोमा उनले खुसी प्रकट गरे । ‘यस्तो शिविर बेला बेला भइरहनुपर्छ,’ उनले भने । शिविरबाट तीन बस्तीका अपागंता भएका ११ र अन्य १ सय ६० जनाले सेवा पाएको आइएनएफ मुगु अन्तर्गत समाबेशी स्वास्थ्य सेवा परियोजनाका अधिकृत नरेन्द्र चन्दले बताए ।

‘धेरै जनामा आँखा र कानको समस्या रहेको पाइयो,’ उनले भने, ‘हामीले प्राथमिक उपचारको सेवा दिएका छौं ।’ चिसो ठाउँमा आँखा र कानको समस्या धेरैलाई हुनुको कारण धुवाँ, धुलोमा बस्नु, काम गर्नु र सरसफाइ नगर्नु रहेको डा. कर्ण भामले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्