नेभिगेशन
अर्थतन्त्र

भ्रष्टाचार विरुद्ध प्रदर्शन, सुशासनमा चुनौती

काठमाडौं — भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राजधानीको गौशाला चोकमा भ्रष्टाचार नियन्त्रण, उन्मूलन र जनचेतनाका सन्देशयुक्त प्लेकार्डसहित प्रदर्शन गरेको छ । ‘भ्रष्टाचारविरुद्ध एकजुट होऔँ’ भन्ने उद्देश्यसहित गरिएको उक्त कार्यक्रमले नागरिक स्तरमा चेतना अभिवृद्धि र दबाब सृजना आवश्यक रहेको संदेश दिएको छ ।

नेपालमा विगत धेरै वर्षदेखि सुशासनको सवाल गम्भीर चुनौतीका रूपमा उठिरहेको बेला भ्रष्टाचार नियन्त्रणका प्रयासहरू परिणाममुखी हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनल लगायतका संस्थाहरूले बताएका छन् । कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता र नीति कार्यान्वयनमा देखिने उल्झनले सुशासनका आधारहरू कमजोर बन्दै गएको उनीहरूको अभिमत छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको २०२४ को विश्वव्यापी भ्रष्टाचार धारणा सूचकांकमा नेपाल १०० मध्ये ३४ अंकसहित १०७ औँ स्थानमा परेको छ । गत वर्ष नेपाल ३५ अंकसहित १०८ औँ स्थानमा थियो । ययो सूचकले नेपालमा भ्रष्टाचार नियन्त्रणको अवस्था अझै गम्भीर रहेको देखाउँछ ।

दक्षिण एसियाली देशहरू मध्ये भुटान ७२ अंकसहित सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा छ । अफगानिस्तान भने विश्वकै उच्च भ्रष्टाचारग्रस्त देशमध्ये पर्छ ।

गौशालामा भएको प्रदर्शनले नागरिक तहमा सचेतना र दबाब नबढाएसम्म भ्रष्टाचार नियन्त्रणमा ठूलो प्रगति सम्भव नहुने सन्देश दिएको छ । कार्यक्रमका सहभागीहरूले ‘कानुन सबैका लागि बराबर लागू होस’, ‘नीति स्पष्ट होस्, कार्यान्वयन कडाइका साथ होस्’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्