सिरहा, २ भदौ - सिरहा नगरपालिका–१७ स्थित माडर भन्सारनजिक सशस्त्र प्रहरीले दोहोरो अवरोध (ढाठ) राखेर स्थानीयको आवतजावतमा रोक लगाएको भन्दै तीन गाउँका बासिन्दा आक्रोशित भएका छन् ।
स्थानीयको आवागमनमा कडाइ गरेको भन्सार ढाठको केही अगाडि काँडेतारसहित अर्को ढाठ राखेर पैदल हिँड्ने मानिसहरूलाई समेत रोक लगाइँदै आएको छ । यसबाट लचका टोल, इनर्वा टोल र पटेर्वा टोलका करिब तीन सय घरपरिवार दैनिक सास्ती खेपिरहेका छन् ।
उक्त भन्सार कार्यालय नेपाल– भारत सीमाबाट करिब दुई किलोमिटर भित्र पर्ने भएकाले स्थानीयहरूलाई आवतजावतका लागि सो बाटो अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ । तर, सशस्त्र प्रहरीले राति १० बजेदेखि बिहान ७ः३० बजेसम्म मुख्य सडक एनएच २० नै बन्द गरिदिँदा स्थानीयहरूलाई विद्यालय जान, अस्पताल पुग्न, धार्मिक स्थलमा जान र बिहानको व्यायाम गर्न समेत समस्या परेको छ ।
भर्खरै सम्पन्न जन्माष्टमी पर्वमा लचका टोलस्थित कृष्ण मन्दिरमा जान श्रद्धालुहरूलाई रोक लगाइएको थियो । महिलाहरू खेत, हिलो र झाडी हुँदै असुरक्षित बाटो प्रयोग गर्न बाध्य बनाइएको स्थानीयहरूको गुनासो छ । यस्तो अवस्थामा उनीहरूले आफ्नो मौलिक हक हनन भएको अनुभव गरिरहेका छन् ।
नेपालको संविधानको धारा १७ ले हिँडडुल गर्ने स्वतन्त्रतालाई मौलिक हकका रूपमा संरक्षण गरेको छ भने धारा २६ मा धार्मिक स्वतन्त्रता कुण्ठित गर्न नपाइने स्पष्ट प्रावधान छ । तर, स्थानीयले भने कुनै औपचारिक सूचना नपाएको र प्रशासनबाट समेत जानकारी नआएको बताउँदै आएका छन् ।
सार्वजनिक बाटो बन्द गर्ने अधिकार स्थानीय प्रशासन, विशेषगरी प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग मात्र हुन्छ । त्यसका लागि औपचारिक आदेश र जनतालाई जानकारी गराइनु आवश्यक हुन्छ । तर यहाँ सशस्त्र प्रहरीले नै एकतर्फी रूपमा ढाठ राखेर नागरिकको स्वतन्त्र आवतजावतमा कानूनविपरीत रोक लगाएको हो ।
सीमा सुरक्षा सशस्त्र प्रहरी बल नेपाल नम्बर–७ गण, सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरेश भण्डारीले भने ‘हामीले माथिबाट आएको आदेशअनुसार मात्रै ढाठ राखेका हौं’ भन्दै पन्छिए । सशस्त्र प्रहरी ऐन, २०५८ अनुसार सशस्त्र प्रहरीलाई सीमा सुरक्षा, तस्करी नियन्त्रण र सरकारी निकायको सुरक्षाको जिम्मेवारी दिइएको छ । तर, उनीहरूले पनि नागरिकको मौलिक हक कुण्ठित गरेको स्थानीयको गुनासो छ ।