नेभिगेशन
अर्थतन्त्र

एजुकेशन एक्सीलेन्स एक्जिबिशन सम्पन्न

काठमाडौं — म्याक्सवे इन्टरनेशनल एजुकेशन र करियर लिफ्टर्सको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न ‘एजुकेशन एक्सीलेन्स एक्जिबिशन–२०२५’ सफलतापूर्वक समापन भएको छ । अग्रणी शैक्षिक संस्थानका विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित सम्पन्न प्रदर्शनीले नवप्रवर्तन, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय शैक्षिक अवसरबारे ज्ञान आदान–प्रदानको प्रभावकारी मंच प्रदान गरेको आयोजक संस्थाहरूले बताएका छन् ।

कार्यक्रममा भारतका मेसा स्कुल अफ बिजनेस र बिर्ला ग्लोबल युनिभर्सिटीका प्रतिनिधिहरूको सहभागिता उल्लेखनीय रहेको थियो । बिर्ला स्कुल अफ म्यानेजमेन्टका सहायक प्राध्यापक (मार्केटिङ) डा. विवेक मिश्र, मेसा स्कुल अफ बिजनेसका हेड अफ स्ट्राटेजिक इनिसिएटिभ्स अभिषेक पाण्डे तथा हेड अफ आउट्रिच जिनल राजपोपाल सहितको टोलीले विद्यार्थी तथा शिक्षकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उच्च शिक्षाका सम्भावित मार्ग, उद्योगमुखी पाठ्यक्रम तथा करियर अवसरबारे महत्वपूर्ण जानकारी साझा गरेका थिए । टोलीले प्रदर्शनी स्थलसँगै काठमाडौंका विभिन्न कलेजहरूमा पुगेर अन्तरक्रियात्मक सत्रसमेत सञ्चालन गरेको थियो ।

प्रदर्शनीमा ग्लेसियर इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज, दिव्य बालबाटिका कलेज, निस्ट कलेज लैनचौर, सैपाल एकेडेमी, प्रिमियर कलेज तथा मानस्लु वर्ल्ड कलेजका विद्यार्थीहरूको सक्रिय सहभागिता थियो । विद्यार्थीहरूले तयार पारेका सूचना–प्रविधि सम्बन्धी नवप्रवर्तन परियोजना, अनुसन्धान प्रस्तुति तथा डिजिटल समाधान प्रदर्शनीले कार्यक्रमको आकर्षण बढाएको थियो ।

प्रतिस्पर्धात्मक परियोजना प्रदर्शनतर्फ दिव्य बालबाटिका कलेज प्रथम, काठमाडौँ मोडेल कलेज द्वितीय र निस्ट कलेज लैनचौर तृतीय स्थान हासिल गर्न सफल भए । दिव्य बालबाटिका कलेजका उप–प्राचार्य छत्र नउपानेले यस्ता कार्यक्रमहरूले नेपाली विद्यार्थीमा आत्मविश्वास वृद्धि गर्ने, नवप्रवर्तनलाई प्रोत्साहित गर्ने तथा उचित शैक्षिक निर्णय लिन सहयोग गर्ने भएकाले निरन्तरता आवश्यक रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्