नेभिगेशन
विश्व

जापानमा शक्तिशाली भूकम्प, ३० घाइते

जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमबार राति गएको ठूलो भूकम्पमा ३० जना घाइते भएका छन् । सो भूकम्प ७.६ म्याग्निच्युडको मापन गरिएको छ ।

भूकम्प गएपछि मानिसरू आआफ्नो घरबाट बाहिर निस्कन बाध्य भएका थिए । जापानको मौसम विज्ञान विभागले भूकम्प स्थानीय समय अनुसार राति ११ः१५ बजे आएको जनाइएको छ । यो भूकम्पको केन्द्र आओमोरी क्षेत्रको तटबाट करिब ८० किलोमिटर टाढाको जमिनमुनि ५० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो । तर पछि सुनामीको डर नरहेको जानकारी सरकारी अधिकारीहरूले दिएका थिए । केही तटीय क्षेत्रमा २७ इन्चसम्म उचाइमा लहरहरू देखिएका छन् । भूकम्पका कारण केही रेल सेवा स्थगित भएका छन् भने हजारौं घरमा बिजुली काटिएको छ ।

अधिकारीहरूले आगामी दिनमा फेरि भूकम्प आउन सक्ने सम्भावना रहेको बताउँदै कम्तीमा एक हप्ता उच्च शतर्कतामा बस्न आग्रह गरेका छन् । जापानका प्रधानमन्त्री सनाई तकाइचिले भनिन्, ‘भूकम्पका लागि आफ्नो तयारी फेरि जाँच गर्नुहोस् । झड्का महसुस भए तुरुन्त सुरक्षित स्थानतिर निस्कन तयार रहनुहोस् ।’ रोयटर्सका अनुसार करिब ९० हजार मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान आदेश दिइएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार करिब ९० हजार बासिन्दालाई सुरक्षित स्थानमा सार्न आदेश दिइएको छ । आओमोरी प्रान्तीय सरकारले करिब २७ सय घरमा विद्युत् आपूर्ति बन्द भएको जनाएको छ । पूर्वी जापान रेल कम्पनीले पनि उत्तर–पूर्वी तट क्षेत्रमा केही रेल सेवा रोकिएको जनाएको छ । ‘जापानी सरकारले प्रधानमन्त्रीको संकट व्यवस्थापन केन्द्रभित्र प्रतिकार्य कार्यालय स्थापना गरेको छ र आपतकालीन टोली पनि बोलाएको छ,’ प्रमुख क्याबिनेट सचिव मिनोरु किहारा बताए । उनले थपे, ‘हामी क्षति मूल्याङ्कन गर्न र उद्धार तथा राहतसम्बन्धी आपतकालीन उपायहरू लागू गर्न सम्पूर्ण प्रयास गर्दैछौं ।’

भूकम्पपछिको झट्कापछि, जापानी विद्युत् कम्पनी तोहोकु इलेक्ट्रिक पावरले आफ्नो हिगाशिदोरी र ओनागावा आणविक ऊर्जास्थलमा कुनै असामान्य अवस्था नदेखिएको बताएको छ । जापानी अधिकारीहरूले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीलाई बन्द फुकुशिमा आणविक ऊर्जास्थलमा पनि कुनै समस्या नपाइएको बताएको छ । फुकुशिमा ११ मार्च २०११ मा जापानको पूर्वी तट नजिक ९.० म्याग्निच्युडको भूकम्पले क्षति पुगेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्