काठमाडौं – काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा बुधबार आयोजित ३१औं दीक्षान्त समारोहबाट २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा १७ देशका १९६ विदेशी विद्यार्थी छन् । समारोहमा स्कूल अफ आर्टस्का ८३, एजुकेसन २९४, इञ्जिनियरिङ ३४०, ल ३६, म्यानेजमेन्ट ३७८, मेडिकल साइन्सेज ८८१ र स्कूल अफ साइन्सका १९७ जना छन् ।
दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका सात, स्नातकोत्तर तहका ३९७, पीजीडी तहका ५० र स्नातक तहका १ हजार ७२८ जना छन् ।
दीक्षितमध्ये अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलंका, स्वीडेन, संयुक्त राज्य अमेरिका र भियतनामका १९६ जना रहेको उपकुलपति प्राडा अच्युत वाग्लेले जानकारी दिए ।
स्नातकोत्तर तहमा सबैभन्दा बढी चार सीजीपीए प्राप्त गर्ने मास्टर्स अफ आर्टस् इन ट्रान्सलेसन, टेक्सुअल इन्टरप्रिटेसन एण्ड फिलोलोजी अध्यनरत स्पेनकी माइते कास्टेलानो मेन्चाकालाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी ८५.४५ प्रतिशत अंक प्राप्त गर्ने एमबीबीएसतर्फ नोबेल मेडिकल कलेज विराटनगरका गौरव सिंह साउदलाई भाइस चान्सलर स्वर्ण पदक, एमबीए तहमा सबैभन्दा बढी सीजीपीए ३.९४ ल्याउने स्कूल अफ म्यानेजमेन्टका अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबीए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक ३.९४ सीजीपीए ल्याउने स्कूल अफ म्यानेजमेन्टका सौगात दंगाललाई प्रदान गरिएको छ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजित समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन तथा नयाँ दिल्लीस्थित जवाहरलाल–नेहरू विश्वविद्यालयका उपकुलपति प्राध्यापक शान्तिश्री धुलिपुडी पण्डितको सहभागिता थियो । ३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौँ विश्वविद्यालयबाट दीक्षितको हुनेको संख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये १२ प्रतिशत अर्थात् ५ हजार ८६० विदेशी विद्यार्थी छन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयकी उपकुलपति प्राध्यापक शान्तिश्री धुलिपुडी पण्डितले स्नातकहरूको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षा र सीपको प्रभावकारी प्रयोगबाट समाज रूपान्तरणमा योगदान पुर्याउन आग्रह गरिन् ।
समारोहमा कुलपति तथा प्रधानमन्त्री सुशीला कार्की, शिक्षामन्त्री एवं सहकुलपति महावीर पुन, विश्वविद्यालयका उपकुलपति प्राडा वाग्ले, संस्थापक उपकुलपति प्राध्यापक सुरेशराज शर्मा, रजिस्ट्रारलगायत पदाधिकारीको उपस्थिति थियो ।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको प्रगतिमूलक प्रयासको प्रशंसा गर्दै उच्च शिक्षा क्षेत्रको राजनीतिकरण अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । प्रधानमन्त्रीले कुलपति चयन प्रक्रियामा प्राज्ञिकता प्राथमिकता दिलाउने गरी कानुनी परिमार्जनको तयारी भइरहेको जानकारी दिइन् ।
उनले आर्टिफिसियल इन्टेलिजेन्स, ग्ल्यासियोलोजी, हेरिटेज कन्जर्भेसनजस्ता नवीन कार्यक्रम सुरु गरेकोमा विश्वविद्यालयलाई बधाई दिँदै यी क्षेत्रका दक्ष जनशक्ति मुलुककै विकासमा उपयोगी हुने विश्वास व्यक्त गरिन् । साथै विदेशी विद्यार्थी तथा प्राध्यापक आकर्षित गर्न भिसा सहजीकरणमा सरकार सहयोगी बन्न तयार रहेको उल्लेख गरिन् ।
नेपाली विद्यार्थी विदेशिने प्रवृत्ति बढ्दो अवस्थामा विश्वविद्यालयले भर्ना दर उच्च राख्न सफल भएकोमा पनि प्रधानमन्त्रीले खुशी व्यक्त गरिन् । दीक्षित विद्यार्थीलाई बधाई दिंदै उनले राष्ट्र निर्माणमा युवाको सक्रिय योगदान अपरिहार्य रहेको बताइन् ।