काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जाँचबुझ आयोगले बोलाउँदा बयान दिन जानुपर्ने बताएका छन् । ११औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेलले बुधबार सञ्चारकर्मीसँगको भेटमा यस्तो बताएका हुन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला ओली प्रधानमन्त्री थिए । पहिलो दिन प्रदर्शनमा गोली चलेर डेढ दर्जनको ज्यान गएपछि दोस्रो दिनको आन्दोलनले ध्वंसात्मक रुप लिएको थियो, सार्वजनिक– निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट भयो । मुलुकले ठूलो क्षति बेहोर्नु त पर्यो नै, ओली राजीनामा दिएर ज्यान जोगाउन बालुवाटारबाट सेनाको हेलिकप्टरमा भागेर सुरक्षित ठाउँमा लुक्नु परेको थियो । खुला भएर भाषण दिन पाउँदा भने ओलीले अहिले सरकारलाई चुनौती दिइरहेका छन् ।
अन्तरिम सरकारद्वारा गठित जाँचबुझ आयोगले ओलीलाई बयानमा बोलाउने तयारी गरिरहँदा पोखरेलको यस्तो धारणा आएको हो । तर, ओली र उनीनिकटस्थले भने आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि प्रश्न उठाउँदै बयान दिन नजाने बताउँदै आएका छन् ।
‘सरकारले बनाएको आयोग हो । हाम्रा कतिपय रिजर्भेसन होलान् तर त्यो आयोगमा बयान दिनुपर्ने कुरा स्वाभाविक हो, बयान दिन जानुपर्छ,’ पोखरेलले भने, ‘म भएको भए अझै अगाडि नै जान्थेँ होला भन्ने लाग्छ, अवज्ञा गर्ने कुराले राम्रो हुँदैन ।’
आयोगमा गएर बयान दिन जाने, भन्न जाने, विचार भन्ने, तथ्य प्रस्तुत गर्ने कुरालाई अन्यथा लिन नहुने भन्दै उनले अध्यक्ष ओली पनि पनि जाने विश्वास व्यक्त गरे ।
यसपटक पार्टी नेतृत्वमा ओलीलाई चुनौती दिएका पोखरेल बिहीबार संयमित सुनिए । उनले ओली बाहेकको नेतृत्व आउने अवस्थामा आफू पछाडि हट्न पनि तयार रहेको बताए । अध्यक्ष ओलीले आफ्ना नाममा सहमति गरेबाहेकको अवस्थामा सर्वसम्मत नेतृत्व चयनको सम्भावना नरहेको पनि उनको भनाइ थियो ।
‘अहिलेको सन्दर्भमा केपी ओली संरक्षक भएर बस्ने, अभिभावकको भूमिका खेल्ने र अबको अध्यक्ष फलानो भनेर हलबाट घोषणा गर्नुभयो भने सहमति हुनसक्छ ,’ उनले भने, ‘मभन्दा बाहेकको नाम घोषणा गर्नुभयो भने पनि त्यसमा समर्थन रहन्छ ।’ अध्यक्षसँग अरू पदाधिकारीमा पनि प्यानल नै बनाएर जाने कुरामा भने छलफल हुन बाँकी नै रहेको उनले बताए । चुनावमा हारजित जे भए पनि परिणामलाई स्वीकार गर्दै पार्टीमा सक्रिय हुने पनि उनको भनाइ छ । ‘प्रतिस्पर्धामा गरिन्छ भने त्यसको परिणामलाई स्वीकारिन्छ । जित्दा मात्रै खुसी होइन, जित्न नसक्दा पनि त्यसलाई स्वीकार सक्नुपर्छ । भीम रावल र माधव नेपालजीको जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन । हामी प्रतिस्पर्धा गर्छौं, यदि हामी विजयी नभए पनि एमालेको पक्षमा, एमाले भएर रहिरहन्छौं,’ पोखरेलले भने ।