नेभिगेशन
प्रदेश

कुखुरामा ‘एनेमिया भाइरस’ देखिया

चितवन – चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले साउनदेखि कात्तिकसम्म गरेको अध्ययनमा ४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो ।

प्रयोगशाला प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १ सय ८२ नमूनामध्ये ५४ प्रतिशतमा यो रोगको संक्रमण देखिएको हो । जिल्लामा पहिलोपटक गत वर्ष यो रोगको संक्रमण देखिएपछि अध्ययन सुरु गरिएको थियो । चितवन, मकवानपुर र नवलपरासी जिल्लाबाट लिइएको नमूनामा यो रोग देखिएको हो । यो भाइरसले कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता घटाउने हुँदा अरु रोगले कुखुरालाई आक्रमण गर्छ । यस रोग लागेका कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्षण देखिन्छन् । ‘कुखुराले चारा खाने, हिँडडुल गर्ने गरे पनि यसको प्रभाव दीर्घकालीन रुपमा पर्ने भएकाले बेवास्ता गर्नुहुँदैन,’ श्रेष्ठले भने । यो रोगबाट बचाउनका लागि चिकेन एनेमिया भाइरसविरुद्धको भ्याक्सिन दिनुपर्ने उनले बताए । ब्रोइलरको माउमा र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिन उनी सुझाउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्