नेभिगेशन
प्रदेश

भत्किएकै घरमा जोखिमपूर्ण व्यवसाय

हेटौंडा । शनिबार हेटौंडा सडक विस्तारको क्रममा हेटौंडा बजार क्षेत्रमा रहेका ५ सय भन्दा घरहरूमा डोजर चल्यो । त्यसको भोलिपल्ट आइतबार सडक डिभिजनमा सर्वोच्चको स्टे अर्डर पुगेपछि सडक विस्तार कार्य अलपत्र पर्‍यो । भत्काइएका घर–टहरा र व्यवसायिक संरचनाका भग्नावशेष अझै सडकमै छरपस्ट छन् । अव्यवस्थित सडक, जोखिमपूर्ण आवतजावत र सुरक्षाको चिन्ताबीच स्थानीय व्यवसायीले सामान कटाउनुपर्ने दबाबबीच भत्किएकै संरचनामा व्यवसाय सञ्चालन गरिरहेका छन् ।

गत मंसिर ५ गते १५ दिने सूचना जारी गरेको सडक डिभिजन कार्यालय, हेटौंडाले सूचनाको म्याद सकिएको भोलिपल्टै अर्थात् मंसिर २० गते बिहानैबाट हेटौंडा बजार क्षेत्रमा डोजर चलाएको थियो । सोही दिन साँझसम्ममा ५ सयभन्दा बढी संरचनामा डोजर चल्यो । बाँकी ३०/३५ घरमा पनि भोलिपल्ट आइतबार डोजर चलाउने योजना सडक डिभिजनको थियो । तर सर्वोच्चको स्टे अर्डर तामिल भएपछि आउँदो २६ गते सम्मका लागि सडक विस्तार कार्य रोकिए छ ।

भत्किएका घरका दृश्यले हेटौंडा बजार कुरूप देखिएको छ । बिजुलीका पोल सडकै ढलेको छन् । तारहरू यत्रतत्र लत्रिएका छन् । यीनै अस्तव्यवस्ताका बीच व्यवसायी भने व्यापार गरिरहेका छन् । ‘घर भत्किए पनि बैंकको ब्याज तिर्नपर्ने बाध्यताले जोखिम मोलेरै व्यापार गरिरहेका छौं,’ व्यवसायी राम अशिष दास भन्छन् । अर्की व्यावसायी शारजा खातुन पनि आफूहरूको दुःख सुनिदिने कोही नभएको गुनासो गर्छिन् ।

जोखिमका बीच व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई त्यसो नगर्न मकवानपुर उद्योग वाािणज्य संघले आग्रह गरेको छ । व्यवसायीहरूलाई ठाउँ अभाव भएको हो भने महासंघको सचिवालयमा निवेदन दिन सकिने निवेदनका आधारमा उचित स्थानमा सटर खोज्न संघले सहजीकरण गर्ने बताएको छ । ‘हामीहरू व्यावसायीको समस्या समाधान गर्न प्रसासरत छौं,’ मकवानपुर उद्योग वाािणज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट बताउँछौं, ‘कुनै न कुनै वैकल्पिक व्यवस्था गर्न गृहकार्य गरिरहेका छौं ।’

घर भत्काइए सुरक्षा चुनौती नहोस् भनेर हेटौंडा उपमहानगरपालिकाले नगर प्रहरीलाई व्यापक रूपमा फिल्डमा खटाएको छ । उनीहरूले सडकपेटीमा अनधिकृत रूपमा राखिएका पसल हटाउन दबाब दिँदै आएका छन् । अटेर गरेमा सडकपेटीमा राखिएका सामग्री जफत गर्ने चेतावनी पनि नगरप्रहरीले दिएको छ । सर्वोच्च अदालतले मंसिर २६ गते अन्तरिम आदेश सम्बन्धी विषयमा दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन निर्देशन दिएको छ । अदालतको आदेशले भत्काइएका संरचना हटाएर सडक सफा गर्ने कार्यदेखि बाँकी संरचना हटाउने प्रक्रिया रोकिएपछि हेटौंडा बजार क्षेत्र अस्तव्यस्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्