नेभिगेशन
प्रदेश

‘१० मध्ये १ जनालाई मानसिक स्वास्थ्य समस्या’

काठमाडौं । ‘स्वस्थ मन, स्वस्थ जीवन : मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले ‘मनको कुरा गरौं’ अभियान सुरुवात गरेकी छिन् । युवायुवतीमा मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न अब गम्भीर पहल आवश्यक पर्ने धारणा उनले व्यक्त गरिन् ।

मन्त्री डा. गौतमका अनुसार मानसिक समस्या भोगिरहेका व्यक्तिसँग संवाद गर्ने, उनीहरूको मनको कुरा सुन्ने र साथ दिने कार्य अत्यन्त जरुरी छ । यस्तो नहुँदा समस्या भित्रभित्रै गुम्सिँदै गएर गम्भीर रुप लिन सक्ने बताउँदै मानसिक स्वास्थ्यसम्बन्धी औषधि सबै ठाउँमा उपलब्ध हुने व्यवस्था गरिएको जानकारी दिइन् । उनले देशभरका सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध रहेको स्मरण गर्दै, सो सेवा सहज रूपमा लिन सक्ने वातावरण बनाउन सबै पक्षले अग्रसर हुनुपर्ने धारणा व्यक्त गरिन् । स्थानीय सरकारसँगको समन्वयमा समुदायस्तरमा परामर्शदाता परिचालन गरी मानसिक स्वास्थ्य सेवा पुर्‍याइने कार्य भइरहेको पनि उनले बताइन् ।

संघअन्तर्गतका सबै अस्पतालहरूमा मानसिक स्वास्थ्य परामर्श सेवा सञ्चालनमा रहेको उल्लेख गर्दै उनले मानसिक स्वास्थ्यसम्बन्धी नीति तथा रणनीतिहरूको कार्यान्वयन सुस्त भएकाले यसलाई प्राथमिकताका साथ अगाडि बढाइने बताइन् । विदेशमा कार्यरत श्रमिक तथा स्वदेश फर्किएका श्रमिकको मानसिक स्वास्थ्य अवस्था कमजोर देखिएको उल्लेख गर्दै उनीहरूका लागि विशेष रूपमा काम गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।

मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठले मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर मन्त्रालय अघि बढेको बताए । आगामी तीन महिनासम्म मानसिक स्वास्थ्यका विषयमा सबै क्षेत्र एकै ठाउँमा जुटेर काम गर्नुपर्ने उल्लेख गर्दै, तीन महिनासम्म चल्ने अभियानको उद्देश्य मानसिक रोगबारे जानकारी दिनु, पारिवारिक तथा सामुदायिक सहयोग अभिवृद्धि गराउनु, भेटघाट बढाउनु र तनाव कम गर्न सहयोग पुर्‍याउनु रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरबहादुर ढकालले नेपालमा मानसिक स्वास्थ्य अत्यन्त गम्भीर विषय भए पनि त्यसले अपेक्षित महत्व नपाएको बताए । १० जनामध्ये एक जनाले जीवनको कुनै न कुनै चरणमा मानसिक स्वास्थ्य समस्या भोग्नुपरेको उल्लेख गर्दै मानसिक स्वास्थ्य व्यक्तिगत मात्र नभई जनस्वास्थ्यको आधारभूत मुद्दा भएको धारणा उनले व्यक्त गरे ।

उनका अनुसार विभागको नेतृत्वमा आधारभूत स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य सेवासहित आवश्यक स्थानमा निःशुल्क औषधि वितरण भइरहेको छ । साथै, जिल्ला तथा प्रदेश अस्पतालहरूमा बहिरंग र अन्तरंग मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने कार्य सुरु भइसकेको जानकारी पनि उनले दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अनिता निरौलाका अनुसार मनलाई सुदृढ बनाउन व्यायाम, मनका कुरा खुलस्त राख्ने अवसर, उचित खानपान, सन्तुलित जीवनशैली, सत्य बोल्ने बानी तथा पारदर्शी व्यवहार अत्यावश्यक हुन्छन् । उनले आफूले मात्र नभई अरूको विचार कदर गर्न सके मानसिक स्वास्थ्य सुदृढ बन्छ भन्ने धारणा राखिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्