ओस्लो – भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो बुधबार ओस्लोमा आयोजना हुने उनलाई प्रदान गरिने नोबेल शान्ति पुरस्कार वितरण समारोहमा अनुपस्थित भइन् ।
माचाडो पछिल्लो पटक ११ महिनाअघि सार्वजनिकरूपमा देखिएकी थिइन् । भेनेजुएलाकी विपक्षी नेतृकी छोरीले माचाडोको तर्फबाट पुरस्कार ग्रहण गरिन् । माचाडो दिउँसो ओस्लोमा आउने अपेक्षा गरिएको थियो ।
माचाडोको हालको अवस्था के–कस्तो छ भन्नेबारे अहिलेसम्म खुलासा हुन सकेको छैन ।
गत जनवरी ९ मा भेनेजुएलाको राजधानी कराकसमा समर्थकहरूसँग प्रदर्शनमा सामेल भएपछि केही समय हिरासतमा लिइएकी माचाडो त्यसयता लुकेर बसिरहेकी छिन् र सार्वजनिक रूपमा देखिएकी छैनन् ।
भेनेजुएलाको लोकतान्त्रिक आन्दोलनका लागि गरेको संघर्षको योगदानको कदर गर्दै ५८ वर्षीया माचाडोलाई गएको अक्टोबर १० मा नोबेल शान्ति पुरस्कार दिइने घोषणा गरिएको थियो । उनलाई ‘बढ्दो अन्धकारका बीचमा लोकतन्त्रको दियो बालिरहने’ महिलाका रूपमा लिइएको थियो ।
माचाडोले विपक्षीको प्राइमरी चुनाव जितेकी थिइन् र गत वर्षको राष्ट्रपतीय चुनावमा राष्ट्रपति निकोलस मादुरोलाई चुनौती दिने योजना बनाएकी थिइन्, तर सरकारले उनलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि सेवानिवृत्त कूटनीतिज्ञ एडमण्डो गोञ्जालेसले उनको ठाउँमा चुनावमा भाग लिएका थिए ।
२८ जुलाई २०२४ को चुनावको पूर्वसन्ध्यामा व्यापक दमन, उम्मेदवारी रद्द, गिरफ्तारी र मानव अधिकार उल्लंघनका घटनाहरू भएका थिए । मादुरोका वफादारहरूको राष्ट्रिय निर्वाचन परिषदले उनलाई नै विजेता घोषित गरेपछि बढ्दो असन्तोष र प्रदर्शनलाई सरकारले दमन गरेको थियो ।
भेनेजुएलाको अदालतले पक्राउ पुर्जी जारी गरेपछि गोञ्जालेस पनि गत वर्ष स्पेनमा शरण लिन बाध्य भएका थिए ।
पुरस्कारको आधिकारिक वेबसाइटका अनुसार, पुरस्कार वितरणको समयमा विगतका पाँच नोबेल शान्ति पुरस्कार विजेताहरू हिरासत वा जेलमा थिए । जसमा सन् २०२३ मा इरानी अधिकारकर्मी नरगेस मोहम्मदी र २०२२ मा बेलारुसी मानव अधिकारवादी एलेस बियालियात्स्की थिए । अन्यमा सन् २०१० मा चीनका लिउ सियाओबो, १९९१ मा म्यानमारकी आङ सान सुची र १९३५ मा जर्मनीका कार्ल भोन ओसिएत्स्की थिए ।
‘पुरस्कार विजेता उपस्थित हुन नसक्दा नजिकका परिवारका सदस्यहरूले प्रतिनिधित्व गर्ने लामो परम्परा छ,’ हार्पभिकेनले भने, ‘नरगेस मोहम्मदी र एलेस बियालियात्स्कीको हकमा पनि त्यस्तै भएको थियो । दुवै जना त्यस समयमा जेलमा थिए । यसपटक मारिया कोरिना माचाडोको प्रतिनिधित्व गर्दै उनकी छोरी उपस्थित भइन् । उनकी छोरीले आमाले लेखेको वक्तव्य वाचन गरेकी छन् ।’