नेभिगेशन
विश्व

अष्ट्रेलियामा सामाजिक सञ्जालमा प्रतिबन्ध सुरु

मेलबर्न — अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबारदेखि लागू भएको १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो नियमको स्वागत गरेका छन् । उनले यसलाई परिवारहरूले प्रविधि दिग्गजहरूबाट शक्ति फिर्ता लिइरहेका रूपमा व्याख्या गरे पनि यसको कार्यान्वयन कठिन हुने चेतावनी दिएका छन् ।

कानून लागू भएपछि धेरै बालबालिकाहरूले बिदाइ सन्देशहरू पोष्ट गरेका छन् । त्यस्तै अभिभावकहरूले पनि सञ्जालबाट बाहिर निकालिएका आफ्ना बालबालिकाहरू दुःखी भएको बताएका छन् । केही बालबालिकाहरूले अनुहारमा दाह्री बनाएर उमेर अनुमान गर्ने  प्रविधिलाई झुक्याएको खबर पनि आएको छ । अभिभावक र दाजुदिदीहरूले पनि केही बालबालिकाहरूलाई प्रतिबन्ध छल्न मद्दत गर्ने  अपेक्षा गरिएको छ ।

‘यो दिन अष्ट्रेलियाली परिवारहरूले ठूला टेक कम्पनीहरूबाट शक्ति फिर्ता लिँदैछन् र उनीहरूले बालबालिकालाई बालबालिका नै रहन पाउने अधिकार र अभिभावकहरूलाई मनको शान्ति प्रदान गर्ने अधिकार दाबी गरिरहेका छन्,’ अल्बानिजले सञ्चार माध्यमलाई दिएको वक्तव्यमा भनेका छन् ।

‘यो सुधारले जीवन परिवर्तन गर्ने छ । अष्ट्रेलियाली बालबालिकाले बाल्यकालको मज्जा लिन पाउने छन् । उता अभिभावकहरू पनि ढुक्क हुनेछन् । जसले अष्ट्रेलियालाई हेरिरहेका छन्, ती विश्व समुदायले पनि अष्ट्रेलियाले यो गर्न सक्छ भने, हामी किन सक्दैनौं भनी आवाज उठाउन थालेका छन्,’ प्रधानमन्त्री अल्बानिजले भनेका छन् ।

फेसबुक, इन्ष्टाग्राम, किक, रेडिट, स्न्यापच्याट, थ्रेड्स, टिकटक, एक्स, युट्युब र ट्विचले १६ वर्षभन्दा कम उमेरका अष्ट्रेलियाली बालबालिकाका खाताहरू बन्द गर्न उचित कदम नचाले बुधबारदेखि ४ करोड ९५ लाख अष्ट्रेलियाली डलर (३ करोड २९ लाख अमेरिकी डलर) सम्म जरिवाना तिर्नुपर्नेछ । अष्ट्रेलियाले क्रिसमससम्ममा प्रतिबन्धले काम गरिरहेको छ कि छैन भनेर रिपोर्ट गर्ने भएको छ । यो प्रतिबन्ध अष्ट्रेलियाकी ई–सुरक्षा आयुक्त जुली इनम्यान ग्रान्टद्वारा लागू गर्ने भएकी छन् । उनले प्लेटफर्महरूसँग उमेर प्रतिबन्धलाई सटिकरूपमा लागू गर्न आवश्यक प्रविधि र प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा पहिले नै रहेको बताएकी छन् ।

उनले बिहीबार १० वटा लक्षित प्लेटफर्महरूलाई सूचना पठाएर उमेर प्रतिबन्ध कसरी लागू भइरहेको छ र कति खाताहरू बन्द गरिएका छन् भन्ने जानकारी माग्ने भएकी छन् ।

‘हामी क्रिसमसअघि नै यी उमेर प्रतिबन्धहरू कसरी लागू भइरहेका छन् र प्रारम्भिकरूपमा हामीले यसले काम गरिरहेको देखेका छौं कि छैनौं भन्ने जानकारी सार्वजनिक गर्नेछौं,’ इनम्यान ग्रान्टले भनिन् ।

सञ्चार मन्त्री अनिका वेल्सले उमेर– प्रतिबन्धित प्लेटफर्महरूले कानूनसँग सहमत नहुन सक्ने र त्यो उनीहरूको अधिकार भएको बताउँदै हाम्रा कामलाई संसारले रुचाऊन् भन्ने अपेक्षा गर्दैनौं भनेकी छन् । उता अष्ट्रेलियालीहरूले भने कानूनको पालना गर्ने वाचा गरेको दाबी गरेकी छन् । उनले हिजो बुधबारसम्ममा अष्ट्रेलियामा २ लाखभन्दा बढी टिकटक खाताहरू निष्क्रिय भइसकेको बताइन् ।

वेल्सले अहिलेसम्म पत्ता नलागेका साना बालबालिकाहरूलाई कानूनसँग खेलवाड नगर्न चेतावनी दिँदै पालना नगरिए उनीहरू समातिने बताएकी छन् । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर आफू नर्वे मा छु भनेर देखाउने बच्चाले यदि अष्ट्रेलियाली समुद्र तटहरूको तस्बिर नियमितरूपमा पोस्ट गरिरहेको छ भने उनीहरू समातिने वेल्सले बताइन् ।

‘आज उनीहरू जोगिए भन्दैमा एक हप्ता वा एक महिनापछि पनि जोगिन सक्नेछन् भन्ने होइन, किनकि सामाजिक सञ्जाल प्लेटफर्महरूले १६ वर्षमुनिका खाताहरू नियमितरूपमा जाँच गरिरहनुपर्छ,’ वेल्सले बताइन् । अल्बानिजले यो काम पूर्णतः कार्यान्वयन गर्न कठिन हुने बताएका छन् । उनले भने, ‘महत्वपूर्ण कुरा भनेको ठूला टेक कम्पनीहरूलाई पछाडि धकेल्नु हो र सामाजिक सञ्जाल कम्पनीहरूको पनि सामाजिक जिम्मेवारी हुन्छ भनेर तिनलाई बताउनु हो ।’

एक जना ‘सेक्सटर्सन’ पीडितका पिता भन्छन्, ‘सामाजिक सञ्जाल प्रतिबन्ध एक सुरुवात हो ।’ अनलाइन ‘सेक्सटर्सन’ काण्डको शिकार भई आफ्नो छोरा म्याकले आत्महत्या गरेपछि उमेर प्रतिबन्धको वकालत गर्दै आएका वेन होल्ड्सवर्थले नयाँ कानूनलाई एक सुरुवातका रूपमा व्याख्या गरेका छन् । अब बालबालिकाहरूलाई १६ वर्ष पुग्नुअघि अनलाइन खतराहरूबारे शिक्षित गर्नुपर्छ ।

‘हामीले गुमाएका हाम्रा बालबालिकाहरूको मृत्यु खेर गएको छैन किनकि आज उनीहरूले हामी सबैले गरेको कामप्रति गर्व गर्दै माथिबाट हेरिरहेका हुनेछन्,’ होल्ड्सवर्थले सिड्नीस्थित एउटा भेलामा भने । साना बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको वकालत गर्ने १२ वर्षीया फ्लोसी ब्रोडरिबले भेलामा भनिन्, ‘आशा छ, अन्य देशहरूले पनि अष्ट्रेलियाको पदचाप पछ्याउनेछन् ।’

‘यो प्रतिबन्ध साहसी र बहादुरीपूर्ण छ र मलाई विश्वास छ यसले म जस्ता बालबालिकाहरूलाई अझ स्वस्थ, सुरक्षित, दयालु र वास्तविक संसारसँग अझ बढी जोडिएको भई हुर्कन मद्दत गर्नेछ,’ फ्लोसीले भनिन् ।

अर्की सहभागी सिमोन क्लेमेन्ट्सले भनिन्, ‘सामाजिक सञ्जाल प्रतिबन्धले उनका १५ वर्षीय जुम्ल्याहा सन्तान कार्ली र हेडेन क्लेमेन्ट्सलाई आर्थिक नोक्सानी पुर्‍याउनेछ । कार्ली एक अभिनेता, मोडल, डान्सर, गायिका र इन्फ्लुएन्सर हुन् । उनका भाइ अभिनेता र मोडल पनि हुन् ।

‘यो स्थिति हाम्रो परिवारका लागि केही फरक छ, किनकि बच्चाहरू मनोरञ्जन उद्योगमा छन् र सामाजिक सञ्चार माध्यम मनोरञ्जन उद्योग सँगसँगै चल्ने माध्यम हो । हामीले सामाजिक सञ्चार माध्यमलाई सबैभन्दा सकारात्मक तरिकाले प्रयोग गरेका छौँ । यो उनीहरूको पोर्टफोलियो देखाउने प्लेटफर्म पनि हो र... यो बच्चाहरूका लागि आय–आर्जन गर्ने माध्यमसमेत बनेको छ,’ आमा सिमोनले भनिन् ।

सोशल मिडियाले उमेर कसरी प्रमाणित गर्ने भन्नेबारे सरकारी अधिकारीहरू भने अझै पनि अनिश्चित छन् । गोपनीयता आयुक्त कार्ली काइन्डका अनुसार प्लेटफर्महरूले देशभरका सबै खातावालालाई आफूहरू १६ वर्ष वा सोभन्दा माथि भएको प्रमाण प्रस्तुत गर्न अनुरोध गर्न सक्ने सम्भावना छ ।

काइण्डका अनुसार उमेर प्रमाणिकरणका लागि प्लेटफर्महरूले तीन विकल्प अपनाउन सक्छन्– पहिचान कागजातको प्रतिलिपि माग्ने; दोस्रो, तेस्रो पक्षमार्फत अनुहार विश्लेषण गरी उमेर अनुमान गर्ने  प्रविधि प्रयोग गर्ने ; र तेस्रोमा पहिल्यै उपलब्ध डाटाबाट उमेरबारे अनुमान लगाउने ।

‘कानूनमा निकै कडा गोपनीयता सुरक्षा व्यवस्था राखिएको छ । यसले सामाजिक सञ्चार माध्यमहरूलाई उमेर प्रमाणिकरणको उद्देश्यका लागि संकलन गरिएको कुनै पनि डाटा मेटाउन र व्यक्तिको सहमतिबिना त्यसलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न बाध्य बनाउँछ । यो अत्यन्त महत्वपूर्ण सुरक्षा हो,’ काइन्डले भनिन् ।

सरकारले भनेका अनुसार सबै खातावालालाई उमेर प्रमाणित गर्न बाध्य गर्नु ‘उचित कदम’ होइन, किनकि अधिकांश प्रयोगकर्तासम्बन्धी पर्याप्त व्यक्तिगत जानकारी प्लेटफर्महरूकहाँ पहिले नै उपलब्ध हुन्छन् । यसबाहेक, प्लेटफर्महरूले प्रयोगकर्तालाई सरकारी प्रमाण–पत्र अनिवार्य रूपमा उपलब्ध गराउन पनि बाध्य तुल्याउन पाउने छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्