नेभिगेशन
विश्व

सीमा विवादले चार लाख थाई बासिन्दा विस्थापित

बैंकक – कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाख भन्दा बढी थाई बासिन्दाहरूलाई आफ्नो आश्रय स्थल छोडी अन्यत्र जान बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोंसिरीले बुधबार बताएका छन् ।

थाइल्याण्डको आर्मी एरिया कमाण्डले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय समयअनुसार बिहान पाँच बजेदेखि सुरु भएको आक्रमण बुरिराम, सुरिन, सिसाकेट र उबोन रत्चथानी प्रान्तको सिमानाका धेरै क्षेत्रहरूमा भएको र अहिलेसम्म कुनै हताहत नभएको जनाएको छ ।

विज्ञप्तिमा बिहान ८ः४० मा कम्बोडियन पक्षबाट फायर गरिएको बीएम–२१ रकेट सुरिन प्रान्तको एक अस्पतालनजिकै बज्रिएपछि बिरामी र कर्मचारीहरूलाई सुरक्षित आश्रयमा सारेको जनाइएको छ ।

थाई मिडियाका अनुसार थाइल्याण्ड र कम्बोडिया बीचको सीमा झडपले थाइल्याण्डको सीमावर्ती प्रान्तहरूमा ८०० भन्दा बढी विद्यालय र ठूलो संख्यामा अस्पतालहरू अस्थायीरूपमा बन्द गर्न बाध्य पारेको छ ।

कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्व आइतबार दिउँसो देखि पुनः सुरु भएको छ भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाउँदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्