नेभिगेशन
अर्थतन्त्र

भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय बेड हस्तान्तरण

काठमाडौं – नेपालमा बाल क्यान्सर उपचार सेवालाई सुदृढ एवं सहज बनाउने उद्देश्यसहित रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गराएको छ । यस सहयोगसँगै अस्पतालको बाल क्यान्सर वार्डको क्षमता १५ बेडसम्म विस्तार हुने भएको छ । ट्रस्टका अनुसार, आईसीयू बेडको हस्तान्तरणले उपचारको गुणस्तर वृद्धि गर्ने मात्र नभई क्यान्सर पीडित बालबालिकालाई अझ सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउन मद्दत गर्नेछ । देशभर बाल क्यान्सर उपचार संरचना सुदृढ पार्ने व्यापक अभियानअन्तर्गत यसलाई महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।

ट्रस्टले आफ्नो विश्वव्यापी साझेदार वल्र्ड चाइल्ड क्यान्सरको सहकार्यमा देशका सातै प्रदेशमा स्थापना भएका साझा उपचार केन्द्रहरूलाई पनि आवश्यक उपकरण, क्षमता विकास तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको जनाएको छ । यी केन्द्रहरूले उपचारलाई विकेन्द्रीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्, जसले बालबालिकालाई घरमै नजिक सुरक्षित उपचार पाउने सुविधा उपलब्ध गराउँछ र लामो दूरीको बारम्बार यात्राले पर्ने आर्थिक तथा मानसिक बोझ कम गर्दछ ।

ट्रस्टले बाल क्यान्सर उपचार सुधारका लागि ३६०–डिग्री दृष्टिकोण अपनाउँदै आएको छ—स्वास्थ्यकर्मी तालिम, जनचेतना विस्तार, क्षमता तथा दक्षता अभिवृद्धिबाट लिएर परिवारलाई आर्थिक, मनोसामाजिक तथा भावनात्मक सहयोग उपलब्ध गराउँदै आएको छ । ट्रस्टका प्रतिनिधिहरूका अनुसार, नेपालमा बाल क्यान्सर उपचार परिणाम सुधार गर्न सहकार्य, रणनीतिक लगानी तथा दीर्घकालीन योजनाको आवश्यकता अत्यन्तै महत्वपूर्ण छ । देशका क्यान्सरबाट पीडित बालबालिकाले, जहाँ बसे पनि, गुणस्तरीय उपचार पाउने स्वास्थ्य प्रणाली निर्माण गर्ने लक्ष्य रहेको छ ।

यो सहयोग आगामी दिनमा बाल क्यान्सर उपचार सेवालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्