नेभिगेशन
अर्थतन्त्र

अमेजनले भारतमा ३५ अर्ब डलर लगानी गर्ने

नयाँ दिल्ली । अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०३० सम्म भारतमा ३५ अर्ब डलर, अर्थात् ३.१४ लाख करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले यो लगानीलाई तीन मुख्य क्षेत्र—एआई–सञ्चालित डिजिटल रूपान्तरण, ई–कमर्स निर्यात वृद्धि, र रोजगारी सिर्जनामा केन्द्रित गर्ने बताएको छ ।

अमेजनको यो घोषणा वार्षिक एसएमबीह्याभ शिखर सम्मेलनमा गरिएको हो, जहाँ कम्पनीले साना व्यवसाय र एमएसएमईहरूलाई एआई उपकरण तथा सहकार्य उपलब्ध गराउने योजनाहरू प्रस्तुत गरेको थियो । २०१३ देखि अमेजनले भारतमा पूर्वाधार र कर्मचारीको तलबमा करिब ४० अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ ।

यसै महिना, अमेजनले एआई र एडब्ल्यूएसमा थप १२.७ अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ, जसमा तेलंगाना र महाराष्ट्रमा डेटा सेन्टर विस्तार प्रमुख छ । कम्पनीका अनुसार यो लगानी २०३० सम्ममा रसद, भण्डारण र साना व्यवसायलाई सशक्त बनाउन प्रयोग हुनेछ ।

किस्टोन स्ट्राटेजीको रिपोर्टअनुसार, अमेजनले अहिलेसम्म एक करोड २० लाखभन्दा बढी साना व्यवसायहरूलाई डिजिटलाइज गरिसकेको छ, र करिब २० अर्ब डलर बराबरको ई–कमर्स निर्यात सक्षम बनाइसकेको छ ।

अमेजनले एआईलाई भारतका लागि ‘गेम चेन्जर’का रूपमा व्याख्या गर्दै १ करोड ४० लाख साना व्यवसाय र करोडौं ग्राहकलाई एआईको सुविधा पुर्‍याउने बताएको छ । साथै ४० लाख सरकारी विद्यालयका विद्यार्थीलाई एआई शिक्षा प्रदान गरिने योजना पनि सार्वजनिक गरिएको छ ।

यसैबीच, अमेजनले निर्यात प्रवद्र्धनको लक्ष्यसहित भारतीय परिधान निर्यात परिषद्सँग साझेदारी गरेको छ । यसमार्फत तिरुपुर, कानपुर र सुरतसहित देशभरका १० भन्दा बढी उत्पादन क्लस्टरहरूमा डिजिटल उद्यमशीलता बढाइनेछ ।

अमेजनका वरिष्ठ उपाध्यक्ष अमित अग्रवालका अनुसार, कम्पनीले २०३० सम्ममा १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । साथै, ई–कमर्स निर्यातलाई ८० अर्ब डलरसम्म पुर्‍याउने लक्ष्यसमेत राखिएको छ ।

२०१३ मा भारतमा यात्रा सुरु गरेको अमेजन अहिलेसम्म २८ लाखभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीलाई सहयोग गरिसकेको छ । कम्पनीको दीर्घकालीन लक्ष्य— भारतलाई विश्वव्यापी ई–कमर्स र एआई नवप्रवर्तनको केन्द्र बनाउनु रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्