नेभिगेशन
अर्थतन्त्र

उद्योगहरूलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन सीएनआईले सहजीकरण गर्ने

काठमाडौं – नेपाल उद्योग परिसंघले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने भएको छ । उद्योगमा कार्यरत श्रमिकको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यका साथ परिसंघ र सामाजिक सुरक्षा कोषबीच सोसम्बन्धी समझदारी भएको छ ।

समझदारीअनुसार परिसंघले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउने र श्रमिकलाई योजनामा आबद्ध गराउन प्रोत्साहन गर्ने भएको छ । परिसंघका महानिर्देशक डा घनश्याम ओझा तथा कोष कार्यकारी निर्देशक कविराज अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कोषमा हालसम्म २२ हजार ४५३ रोजगारदाता सूचीकृत भएका छन् । मंगलबारसम्म सामाजिक सुरक्षा योजनामा औपचारिक क्षेत्रका छ लाख ५४ हजार ५४४, वैदेशिक क्षेत्रका २० लाख १७ हजार २८८, अनौपचारिक ८०३, स्वरोजगार क्षेत्रका ६२४ गरी कूल २६ लाख ७३ हजार २५९ श्रमिक समेटिएका छन् ।

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निरन्तर सहयोग गर्ने  प्रतिबद्धता व्यक्त गर्दै  सो साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यवहारिक र पहुँचयोग्य बनाउन मद्दत गर्ने  विश्वास व्यक्त गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोष श्रमिकको जीवन सहज र सुरक्षित बनाउने एक महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यस समझदारीले सबै क्षेत्रका श्रमिक र रोजगारदाताको सक्रिय सहभागिता अभिवृद्धि गर्न तथा दर्ता प्रणालीमा समाहित हुन सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । कोषका कार्यकारी निर्देशक अधिकारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजान र श्रमिकका सुविधालाई विस्तार गर्दै लैजान यो सहकार्य महत्त्वपूर्ण रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्