नेभिगेशन
अर्थतन्त्र

मिलेर काम गर्न शाक्य प्रतिबद्ध

काठमाडौं – सर्वोच्च अदालतको आदेशले पुनः पदमा बहाल भएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारसँग मिलेर काम गर्ने बताएका छन् ।

जेनजी आन्दोलनपछि गठित अन्तरिक सरकारले उनलाई प्राधिकरणको नेतृत्वबाट सरुवा गरेको थियो । त्यसविरुद्ध रिट दायर गरेका उनलाई अदालतले सोमबार पुनर्बहाली गरेको हो ।

बुधबार शाक्य आफ्नै पारामा कार्यालय पुग्दा कर्मचारीले स्वागत गरे । उनले पनि संयमित भएर आफ्ना भनाइ सञ्चारकर्मीमाझ राखे । आफ्नो ३५ वर्षको अनुभवलाई प्राधिकरणको हितमा उपयोग गर्ने प्रतिबद्धता उनले गरेका छन् ।

रत्नपार्कस्थित प्रधान कार्यालयमा जिम्मेवारी सम्हाल्दै उनले ऊर्जामन्त्री कुलमान घिसिङसँग मिलेर काम गर्नसक्ने संकेत गरे । घिसिङले मन्त्री हुनेबित्तिकै शाक्यलाई सरुवा गरेर मनोज सिलवाललाई ल्याएका थिए । शाक्यले आफ्नो क्षमता, योग्यताअनुसार नतिजामुखी काम गर्ने  दृढता व्यक्त गरेका छन् ।

‘प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक एवं हालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र मेराबीच ऊर्जा क्षेत्रको प्रवर्द्धनका सम्बन्धमा धेरै समानता छन् । ऊर्जा क्षेत्रमा चुनौती ठूला छन्, आगामी दिनमा त्यसलाई समाधान गर्न सकिन्छ,’ उनले भने । ऊर्जा क्षेत्र अर्थतन्त्रको ‘ड्राइभर’ भएको उल्लेख गर्दै कार्यकारी निर्देशक शाक्यले यही क्षेत्रको विकासमार्फत मुलुकको अर्थतन्त्र उकासिने विश्वास व्यक्त गरे । ट्रंक र डेडिकेटेड लाइनको बक्यौता उठाउने सरकारको निर्णयलाई आफूले उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘यो संस्थागत निर्णय हो, बक्यौता उठाउँछौं । प्राधिकरणले गर्ने सबै काम गर्छौं ।’

उनलाई कर्मचारीले स्वागत गर्दा पहिले डिजिटल हाजिरी गरे, अनि कार्यकक्षमा पुगेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्