नेभिगेशन
राजनीति

रौतहट–२ बाट फिरदोश सर्वसम्मत

रौतहट – डा.फिरदोश आलम कांग्रेसमा रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन एकल सिफारिसमा परेका छन् । पार्टीको रौतहट–२ क्षेत्रीय कार्यकर्ता भेलाले आलमलाई सर्वसम्मत रुपमा सिफारिस गरेकाे हो । आलम कांग्रेसका नेता एवम् पूर्वमन्त्री स्व. मोहमद अफताब आलमका जेठा छोरा हुन् । क्षेत्रीय सभापति शेख फैजुलाका अनुसार उम्मेदवार बनाउन योग्यमा भेलाबाट डा. आलम बाहेक अन्यको नाम आएन । सबै नेता कार्यकर्ताले उनलाई सर्वसम्मत रुपमा सिफारिस गरेका हुन् । उक्त क्षेत्रमा कांग्रेसलाई आलमले जित दिलाउन सक्ने भएकाले उनलाई सबैले उम्मेदवारको रुपमा अघि सारेकाे फैजुलाको भनाइ छ ।

‘आलम पार्टीको संगठनमा सक्रिय छन्, क्षेत्रको विकासमा चासो राख्छन्, उनको नेतृत्व क्षमता र जनताका समस्या समाधानमा पहल गर्ने आदि बानीले पनि मूल्यांकनमा उचित ठहर भएको हो,’ पैजुललाले भने, ‘उनलाई उम्मेदवार बनाउने भन्दा अरु दोस्रो नाम कसैले उठाएन ।’

आलम यसअघि २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा पनि रौतहट–२ क्षेत्रबाट उम्मेदवार थिए । त्यसबेला उनी स्वतन्त्र उम्मेदवार किरण साहसँग ४ हजार ५९४ मतले पराजित भएका थिए । साहले ३२ हजार ८४२ मत प्राप्त गरी विजयी हुँदा आलमले २८ हजार २४८ मत ल्याएका थिए ।

सिफारिसपछि आलमले आफ्नो क्षेत्रमा यसपटक कांग्रेसलाई जिताउने प्रतिबद्धता व्यक्त गरे । क्षेत्रको विकास कांग्रेसको जितमा मात्रै सम्भव भएको उनले बताए । उनले २०७९ को निर्वाचनमा केही आन्तरिक कमजोरी र प्राविधिक त्रुटिका कारण पराजित हुनुपरेको बताए । उनले भने ‘हामीले ती कमजोरी सुधारेका छौं। कसले जित्दा क्षेत्रको विकास हुन्छ भन्ने मतदाताले बुझेका छन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्