नेभिगेशन
राजनीति

नैतिकताको खडेरीमा राजन र रामनाथले देखाए त्याग

जेनजी आन्दोलनले पुस्तान्तरण माग्दा पनि पुराना नेताहरू छाड्न तयार छैनन्, तर केसी र अधिकारीले खोलिदिए नयाँ नेतृत्वका लागि बाटाे

काठमाडौं । जेनजी आन्दोलनले पुराना नेतालाई ‘धेरै भयो सत्ता चलाएको, अब आराम गर, नयाँ पुस्तालाई पालो देउ’ भनेको थियो । तर, न देउवा छाड्न तयार छन् न त ओली । प्रचण्ड, माधव नेपाल, झलनाथ, उपेन्द्र यादव आदि कोही पनि शक्तिमा सक्रियता छाड्न तयार छैनन् ।

राजनीतिमा नैतिकताको खडेरी छ । तर, केही अपवाद भने नभेटिने होइन । अहिले यस्तै अपवाद बनेका छन्, कांग्रेसका दुई नेता काठमाडौंका राजन केसी र धादिङका रामनाथ अधिकारी ।

जेनजी आन्दोलनपछि राजनीतिमा पुस्तान्तरणको खोजी भइरहँदा केसी र अधिकारीले नयाँ अनुहारका लागि बाटो खोलिदिएका छन् । त्यसो त भदौ २३ मा जेनजी प्रदर्शनमाथि बर्बर दमन भएका दिन तत्कालिन सरकारमा कृषिमन्त्री रहेका अधिकारी पदबाट राजीनामा गर्ने एक मात्र मन्त्री थिए ।

फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि कांग्रेसभित्र अहिले उम्मेदवार सिफारिस हुन रस्साकस्सी चलिरहेको छ । तर, उनी यो दौडमा सामेल भएनन् । काठमाडौं क्षेत्र नं १० का राजन केसी कांग्रेसका काठमाडौंका पूर्व जिल्ला सभापति हुन् भने बहालवाला पार्टी केन्द्रीय सदस्य । धादिङ–२ का अधिकारी धादिङ जिल्लाका पार्टी सभापति हुन् । उमेरले केसी र अधिकारीभन्दा जेठा पार्टी सभापति शेरबहादुर देउवा आठौं पटक उम्मेदवार सिफारिस भएका छन् । उनीहरूभन्दा धेरै अवसर पाएका दर्जनौं नेता अझै चुनावी दौडमै छन् । तर, केसी र अधिकारीले चुनावी रेसबाट बिदा लिएका हुन् ।

काठमाडौं–१० मा ह्याट्रिक गरेका केसीले अब चुनाव लड्ने छैनन् । पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने भएकोले आफूबाटै यो कामको अगुवाइ गरेको केसीको तर्क छ । पार्टीका संगठन कमजोर रहेका बेला आफू पटक–पटक निर्वाचन लडेर जितेको भन्दै उनले अब आफ्नो क्षेत्रमा पार्टीको संगठन बलियो भइसकेकाले जो उठे पनि सहज हुने बताए । ‘म अब चुनाव लड्दिनँ । तीन पटक चुनाव जितेँ, एकै पदमा धेरै समय रहेँ । अब पनि म यहाँबाट चुनाव लड्ने हो भने हाम्रो पार्टीका युवा नेताहरूको अवसर र क्षमता सबै ह्रास हुन्छ,’ उनले चुनाव नलड्ने निर्णय लिनुको कारण सुनाउँदै भने,‘अब पार्टीमा युवा, महिलालगायत आउनुपर्छ, सबैले अवसर पाउनुपर्छ । आफू सधैं एकै पदमा बसिरहेर चुनाव लडिरहने अनि भाषणमा युवा, तरूण, रूपान्तरण र पुस्तान्तरणको कुरा गरेर हुँदैन, आफैले बाटो खोलिदिनुपर्छ ।’ उनले अहिले कांग्रेसको अवस्था राम्रो नभएको भन्दै पार्टीलाई सुदृढीकरण गर्न पटक पटक अवसर पाएकाहरूले नयाँलाई अवसर दिनुपर्ने बताए ।

केसी र अधिकारी दुवै आफ्नो क्षेत्रमा लोकप्रिय नेता मानिन्छन् । कम्युनिष्ट गढका रुपमा रहेको आफ्नो क्षेत्रमा कांग्रेसको जीत सुनिश्चित गर्नुले पनि उनीहरूको लाकेप्रियता रहेको पुष्टि गर्छ । संविधानसभाको २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा चर्चामा थियो, काठमाडौं–१० । यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी मैदानमा थिए । पहिलो सविधानसभा निर्वाचनमा प्रचण्ड यहीँबाट निर्वाचित भए । तर, दोस्रो निर्वाचनमा प्रचण्डलाई कांग्रेसका केसीले भारी मतान्तरले पराजित गरे ।

प्रचण्ड केसीका निकटतम प्रतिस्पर्धी समेत हुन सकेनन्, तेस्रो भए । केसीले २० हजार ३९२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका सुरेश मानन्धरले १३ हजार ६१५ मत ल्याए भने प्रचण्डले जम्मा १२ हजार ८५२ मत पाए । २०१५ सालको पहिलो निर्वाचनदेखि केसीले नजित्दासम्म काठमाडौं १० ‘लाल किल्ला’ का रुपमा परिचित थियो । 

केसीले लालकिल्ला तोडेनन् मात्रै आफ्नो नाममा ह्याट्रीक जित दर्ता गरे । यसलाई २०७४ सालमा पनि राजन केसीले निरन्तर कायम राखे । ०७४ सालमा भएको वाम गठबन्धन पनि केसकिो सामुन्ने कमजोर साबित भयो ।

उसो त धादिङमा रामनाथ अधिकारी राजीतिज्ञका रुपमा स्थापित नाम हो । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट अघिल्लो निर्वाचन जितेका अधिकारी पनि उम्मेदवार सिफारिस हुन लागेनन् । उमेदवार सिफारिस गर्न बसेको क्षेत्रीय कार्यसमितिको बैठकमा उनले २१ फागुनमा तय भएको निर्वाचनका लागि आफ्नो दाबी नरहने घोषणा गरे । ‘अनेक सन्दर्भ उठेका छन् । सन्दर्भलाई ध्यानमा राखेर यो उम्मेदवारीबाट बाहिरै रहने प्रण मैले गरेको छु। यति भनिरहँदा निर्वाचन जिताउने जिम्मेवारी पनि मसँग छ,’ अधिकारीले भनेका छन्, ‘मलाई राम्रो ढंगबाट जानकारी छ ।’

भदौ २३ गतेको जेनजी आन्दोलनमा तत्कालीन सरकारले चरम दमन गरेपछि त्यसमा आपत्ति जनाउँदै राजीनामा दिने मन्त्रिपरिषद्को एक मात्र सदस्य थिए अधिकारी । उनले भदौ २३ को घटनाले आफूलाई अपराधबोध भएको भन्दै भदौ २४ गते बिहानै राजीनामा दिएका थिए । अहिले किन उम्मेदवार नबन्ने निर्णय गर्नुभएको भन्ने प्रश्नमा अधिकारीको जवाफ छ, ‘जेनजी आन्दोलनपछि मैले कृषिमन्त्रीबाट राजीनामा दिएँ । त्यसको ४ घण्टापछि प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरूले राजीनामा दिनुपर्ने अवस्था आयो । जेनजी आन्दोलनपछि पुस्तान्तरण र रुपान्तरणको बहस चाहिँ चलाउने तर पुस्तान्तरणका लागि चाँही कोही तयार नहुने ? त्यही भएर नै मैले आगामी संसदीय निर्वाचनमा आफू भाग नलिने अरु उम्मेदवारलाई जिताउन लाग्ने निर्णय गरेको हुँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्