काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाट बाहिरिनुको मुख्य कारण, जेनजी आन्दोलन र एमालेको आगामी नेतृत्वको बारेमा बिहीबार सम्पादकहरूसँग खुलेर छलफल गरेका छन् । सरकारबाट बाहिरिएको तीन महिनापछि उनले आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिने प्रयास गरे । तर, उनका तर्कमा नयाँ कुरा थिएन । उनले यसअघि भन्दै आएका धधकुरा नै दोहोर्याए ।
वर्तमान सरकार कलाबिनाको नाटक मञ्चन जस्तो भएको संज्ञा दिँदै ओलीले निर्वाचित सरकार किन हटाइयो र कसले हटायो ? भनी प्रश्न गरे । ‘ओली भागे र भगाइयो भनियो, किन ? यस्तो अतिरञ्जित हल्ला गरियो’ भन्दै ओलीले आफूले गरेको सिफारिसमा राष्ट्रपतिले काम गरेको खुलासा गरे । ‘ओली कतै पनि भागेको थिएन, एउटा घरबाट अर्को घरमा सरेको मात्र हो । मेरो नियमित काम र भेटघाट चलिरहेको थियो,’ उनको भनाइ छ । भदौ २४ गतेको घटनालाई गम्भीर रुपमा विश्लेषण गर्न उनले सम्पादकहरूलाई आग्रह समेत गरे ।
सेनाको भूमिकाको बारेमा ओली त्यति खुल्न नचाहे पनि नेपाली सेनालाई आफ्नो विशिष्ट भूमिका र मर्यादामा राख्नु उचित हुने बताए । वर्तमान सरकारप्रति कटाक्ष गर्दै ओलीले यो सरकारको कुनै पनि कानूनी हैसियत र जनताबाट म्यान्डेट नपाएको हुँदा संसद् पुनःस्थापना नै अहिलेको उपयुक्त विकल्प भएको जिकिर गरे । कांग्रेस पनि संसद् त्यही बाटोमा आएकाले देशलाई निकास दिन संसद् पुनःस्थापना हुने उनको जिकिर थियो । वर्तमान सरकार भनेको नागपञ्चमीमा नाग टाँसेजस्तो रहेको उनको टिप्पणी छ । नाग कसले र किन टाँसे ? कार्की सरकारको संवैधानिक आधार के हो ? उनको प्रश्न छ । यो सरकार किन र कसले बनाए ? कुन प्रयोजनको लागि बनेको थियो भन्दै ओलीले जेनजी आन्दोलनको गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

गठबन्धन सरकारका पूर्वसहयात्री दल कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेट अर्थपूर्ण रहेको दाबी गर्दै त्यसको रिजल्ट केही समयपछि देखिने संकेत समेत उनले गरे । ओलीले देउवासँगको भेटमा जेनजी आन्दोलनपछि विकसित घटनाक्रमलाई आफूहरूले गम्भीर रुपमा विश्लेषण गरेको बताए ।
एमाले र कांग्रेस प्रमुख, ऐतिहासिक र जनाधार भएका पार्टी भएकाले अहिले केहीबेर सूर्यग्रहण लागेजस्तै भए पनि भोलिका दिनमा एमाले र कांग्रेसले नै देश चलाउने र मुलुक लोकतान्त्रिक पद्धतिमा फर्किने दाबी उनले गरे । नेपाल पछिल्लोपटक भूराजनीतिक चेपुवामा परेको र छिमेकी मुलु्क तथा विश्वका शक्तिशाली मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्न नसकेको भनी सोधिएको प्रश्नमा ओलीले ‘भूराजनीतिक सम्बन्ध र ग्लोबल अर्डर चेन्ज भइरहेको अवस्थाप्रति आफू गम्भीर’ रहेको बताए । नयाँ विश्व व्यवस्थालाई आफूले राम्रोसँग बुझिरहेको बताउँदै ओलीले चीन भ्रमणलगत्तै आफू भारत र संयुक्त राष्ट्रसंघ तथा विश्वका विभिन्न महत्वपूर्ण फोरममा भाग लिएर नेपालको बलियो उपस्थिति विश्व मञ्चमा प्रस्तुत गर्ने तयारीमा रहेको अवस्थामा ब्रेक लागेको बताए । तर विदेशी शक्ति र छिमेकी मुलु्कहरूको भूमिकाको विषयमा ओली खुल्न चाहेनन् । नेपाली सेनालाई अनावश्यक रुपमा उचाल्ले र उक्साउने काम भएको प्रति आपत्ति जनाउँदै ओलीले सेनालाई लोकतान्त्रिकरण गर्नु भनेको बेकार अनावश्यक कुरा रहेको बताए । सेना जनता, राष्ट्र र लोकतन्त्रको रक्षामा जिम्मेवार रहेको ओलीको भनाई छ । एमालेको आगामी नेतृत्व आफ्नै पक्षमा रहेको स्पष्ट गदै ओलीले आफू अझै राजनीतिमा सक्रिय र सक्षम रहेको तर्क समेत गरे ।
फुटबल खेलमा विश्व चर्चित खेलाडी मेसीको खेल जीवनजस्तै आफूले अझै खेल्न सक्ने हुँदा कसैले आलोचना गर्नु बेकार भएको बताए । आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले व्यक्त गरेको भनाइप्रति आपत्ति जनाउँदै उनी र सुशीला कार्कीको भनाईमा कुनै पनि फरक नरहेको ओलीले बताए । पार्टी नेतृत्वमा ओलीसँग प्रतिष्पर्धाको तयारीमा रहेका पोखरेलले बुधबार सञ्चारकर्मीसँग ‘जेनजी आन्दोलन छानबिन आयोगले बोलाउँदा ओलीले बयान दिन जानुपर्छ’ भनेका थिए ।
उक्त भनाइप्रति ओली बिहीबार रुष्ट सुनिए । आफूलाई आयोगमा गएर बयान दिनुपर्छ भनेर दिएको अभिव्यक्तिको उनले प्रतिवाद गरे । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कने विषय उचित र व्यावहारिक नभएको बताउँदै पूर्व राष्ट्रपतिको राजनीतिक भूमिकामाथि गम्भीर प्रश्न उठाए । नयाँ दल र नयाँ शक्ति भनिएको राजनीतिक समूह प्रति आपत्ती जनाउँदै भष्टाचार, कालोधन र अपराध लुकाउने ठाउँ राजनीति नभएको बताउँदै नयाँ दल र समूहको कुनै दर्शन, सिद्धान्त र व्यवहार नभएको टिप्पणी गरे ।
सम्पादकहरूलाई ‘पत्रकारिता चलेन भने तपाईँहरू पनि पार्टी खोल्ने हो ?’ भन्दै ओलीले ठट्यौली पारामा ‘१४३ वटा पार्टी कसको लागि खोलिएका छन्’ भनी प्रश्न गरे । ओलीले वर्तमान सरकारले फागुन २१ चुनाव गर्न नसक्ने भन्दै संसद् पुनःस्थापनाबाट मुलुक अघि बढ्न सक्ने बताए । आफूले गुण्डुबाट पनि राजनीतिक विद्रोह शुरु गरेको र यसले जनस्तरमा एमाले बलियो रुपमा प्रस्तुत हुने संकेत उनले गरे । आफू हावा भरेको ‘भकुण्डो’जस्तै जति बढी पछार्यो उति बढी माथितिर जाने भन्दै आफ्नो जिद्दी छवि पनि उनले उजागर गरे ।