नेभिगेशन
नेपाल

गोवामा मृत्यु भएका नेपालीको शव ल्याइँदै

गोवाको नाइटक्लबमा आगलागी हुँदा दाङका चूर्णबहादुर पुन, सिन्धुलीका लीलबहादुर कटुवाल (विवेक), डडेलधुराका मनोज जोरा, झापाका सविन विश्वकर्मा र सुदीप गुरुङको मृत्यु भएको थियो ।

काठमाडौं । भारतको गोवाको नाइटक्लबमा भएको आगलागीमा परी मृत्यु भएका पाँचजना नेपालीको शव नेपाल ल्याउने तयारी अघि बढेको छ ।

भारतको गोवास्थित एक नाइटक्लबमा गत शनिबार भएको आगलागीमा २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा पाँच जना नेपाली थिए । आगलागीमा दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका लीलबहादुर कटुवाल (विवेक), डडेलधुराका मनोज जोरा, झापाका सविन विश्वकर्मा र सुदीप गुरुङको मृत्यु भएको थियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार सो आगलागीमा पररे मृत्यु भएका पाँचै जना नेपालीको सनाखत भइसकेको छ । दिल्लीस्थित नेपाली दूतावास तथा त्यहाँ रहेका अन्य नेपालीको समन्वयमा शव नेपाल ल्याउने प्रक्रिया अघि बढेको उनले बताए । ‘सबैको सनाखत भइसकेको छ,’ उनले भने, ‘शब ल्याउने प्रक्रिया अघि बढिसकेको छ ।’ मृत्यु हुनेमा दुई जना झापाका सुदीप गुरुङ र सविन विश्वकर्मा होटेल म्यानेजमेन्टका विद्यार्थी हुन् । उनीहरू इन्ट्रनसिपका लागि गोवा पुगेको बताइएको छ । झापाको कचनकवल गाउँपालिका वडा नं. २ का २२ वर्षीय सुदीप गुरुङ एक महिनाअघि मात्रै गोवा पुगेका थिए । एक वर्षअघि नै गोवा जाने योजनामा रहेका उनी १२ कक्षाको परीक्षामा अनुत्तीर्ण हुँदा रोकिएका थिए । पुनः परीक्षा दिएपछि उनी गोवा हिँडेका थिए । भद्रपुरस्थित एमेरल्ड एकेडेमी विद्यार्थी गुरुङ आफ्नो मिल्ने साथी सविन विश्वकर्माको मार्ग पछ्याउँदै गोवा पुगेका थिए । भद्रपुर नगरपालिका–३ का सविन र सुदीपले सँगै पढेका थिए । उनीहरूको विषय थियो, होटेल म्यानेजमेन्ट । सुदीपभन्दा दुई वर्ष कान्छा सविन भने परीक्षा उत्तीर्ण हुनासाथ दुई वर्षअघि नै गोवा पुगेका थिए । इन्ट्रनशिप सकिएपछि उनी गोवामै काम गरिरहेका थिए । उनी दशैंमा घर आएका थिए । जाने बेला उनले सुदीपलाई पनि सँगै लगेका थिए ।

सुदीपको मृत्यु भएको खबरले परिवारजन शोकमग्न छ । बुवा कमल छोरालाई राम्रो पढाउन पर्छ भनेर वैदेशिक रोजगारमा गएका थिए । फर्केर आएर बाख्रा, कुखुरापलान गररे जीविका धानिरहेका थिए । उता सविनका आमाबुवा नै वैदेशिक रोजगारीमा गएका छन् । सविनकी आमा लालमाया विश्वकर्मा कुवेतमा छिन् । उनी एक वर्षअघि मात्रै विदेश गएकी हुन् । सविनका बुवा टीकाराम विश्वकर्मा भने मलेसियामा छन् । भाइबहिनीको पढाइ खर्च जुटाउने काम सविनले नै गरेका थिए । उनले महिनाको २० हजार रुपैयाँ जति पठाउने गरेका थिए । सविनकी नौ वर्षकी बहिनी र चार वर्षको भाइ मामामाइजुसँगै बसेर पढ्दै आएका छन् । गोवामा मृत्यु भएको पहिचान खुलेपछि सुदीप र सविनका परिवारजन मंगलबार शव बुझ्न भारत गएका छन् ।

सो आगलागीमा डडेल्धुराको भागेश्वर गाउँपालिका–१ सुकालीखेतका २२ वर्षीय मनोज जोराको पनि मृत्यु भएको थियो । गोवामा क्लबमा काम गर्ने मनोजको मृत्यु भएको खबर पाएपछि उनका बुवा र परिवारका अन्य सदस्य त्यसतर्फ गएका थिए । मनोज परिवारका माइला छोरा हुन् । मनोजका दाइ भारतमै काम गर्छन् । बुवा श्याम खेतीकिसानी गर्छन् । घरमा आमाबुवा र कान्छा भाइ मात्रै छन् । नागपुरमा काम गर्ने उनी केही वर्षअघि गोवा पुगेका थिए । शव ल्याउनका लागि दूतावासले आवश्यक कागजपत्र बनाउने प्रक्रिया पूरा गरिसकेको प्रवक्ता क्षेत्रीले बताए । गोवा प्रहरीको सहयोगमा चूर्णबहादुरको शव एयर एम्बुलेन्समार्फत लखनउ र त्यहाँबाट शव वाहनमार्फत घरसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ । अन्य मृतकको शव नेपाल ल्याउन भारतमा कार्यरत नेपालीकरूले आर्थिक संकलन अभियन सुरु गरेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल