नेभिगेशन
विश्व

एआईका डिजाइनरहरू ‘टाइम’ वर्ष व्यक्ति

न्यूयोर्क – प्रायः टाइम म्यागेजिनले कुनै व्यक्ति वा संस्थालाई वर्ष व्यक्ति घोषित गर्ने गरेको छ । यस वर्ष अर्थात् २०२५ को वर्ष व्यक्तिका रूपमा कुनै एक जना व्यक्तिलाई नछानी समूहलाई नै वर्षव्यक्ति बनाएको छ ।

एआईका आर्किटेक्टहरू अर्थात् एआईलाई मूर्त रूप दिने इञ्जिनियर, लगानीकर्ता तथा व्यवसायीहरूलाई एक साथ वर्ष व्यक्ति घोषित गरिएको हो । टाइम म्यागेजिनले २०२५ मा कृत्रिम बुद्धिमत्ता गर्जंदै सबैका सामु आएका कारण यो फर्कने कुनै बाटो नरहेका कारण यसैलाई छानिएको बताएको छ ।

‘सोच्ने मेसिनहरूको युग ल्याइदिएकोमा, मानवजातिलाई छक्क र चिन्तित बनाएकामा, वर्तमानलाई रूपान्तरण गरेको र सम्भवलाई उछिनेकामा, आर्किटेक्ट्स अफ एआई टाइमको सन् २०२५ को पर्सन अफ दि इयर हुन्,’ टाइमले सामाजिक सञ्जालमा लेखेको छ । म्यागजिनले प्रविधिको सट्टा ‘जसले एआईको कल्पना गर, डिजाइन गरेर बनाए’ ती व्यक्तिहरूलाई छानेर सचेत निर्णय गरेको थियो, यद्यपि प्रविधिलाई नै छान्ने केही नजिरहरू पनि थिए । म्यागेजिनले पहिलेदेखि नै समूहलाई पनि व्यक्ति जत्तिकै महत्त्व दिएको बताएको छ । सन् १९८८ मा नै संकटापन्न पृथ्वीलाई वर्षको विषय बनाएको थियो । त्यस्तै सन् १९८२ मा निजी कम्प्युटर वर्ष व्यक्ति बनेको थियो ।

यसपटकको कभर तस्बिरहरूमध्ये एउटामा १९३० को दशकको प्रसिद्ध ‘लञ्च एटप ए स्काइस्क्रेपर’ फोटोको शैलीमा आठ जना टेक लिडरहरू बीममा बसेका देखिन्छन् । त्यहाँ मेटाका सीईओ मार्क जुकरबर्ग, एएमडीकी सीईओ लिसा सु, टेस्लाका सीईओ इलोन मस्क, एनभिडियाका सीईओ जेन्सन हुआङ, ओपनएआईका सीईओ साम अल्टमन, गुगल डीपमाइण्डका सीईओ डेमिस हासाबिस, एन्थ्रोपिकका सीईओ डारियो अमोडेई र एआई अग्रणी फेई–फेई ली छिन् । ली चाहिँ गत वर्ष आफ्नै स्टार्टअप वर्ल्ड ल्याब्स सुरु गरेकी छन् ।

अर्को कभरमा कम्प्युटर कम्पोनेन्टजस्तै देखिने ठूला–ठूला ‘एआई’ अक्षरहरू वरिपरि स्काफोल्डिङ घेरिएको देखाइएको छ ।

त्यसो त एआई अक्षरबाहेक पनि अन्य दाबेदारहरू नभएका होइनन् । एन्भिडियाका हुआङ र ओपनएआईका साम अल्टमन पनि वर्ष व्यक्ति छानिने सम्भावना थियो । त्यस्तै पोप फ्रान्सिसको निधनपछि यो वर्ष निर्वाचित पहिलो अमेरिकी पोप लियो चौधौं, राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरान मामदानी पनि दाबेदारहरूको सूचीमा रहेको तर तीभन्दा सबैभन्दा शीर्षमा एआई नै ठीक रहेको टाइम पत्रिकाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्