काठमाडौँ, ३ भदौ - जन्मदर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदकुमारी साहले सरकारको ध्यानार्कषण गराउनुभएको छ ।
राष्ट्रियसभा सदस्य साहले बुुवाआमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्मदर्ताको प्रमाणपत्र नभएका कारण एसइईको फाराम भर्न नपाएको सभाअध्यक्षमार्फत सरकारको ध्यानर्कषण गराउनुभएको हो ।
सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद गरिमाले यस विषयमा सभालाई जानकारी गराउनसमेत माग गर्नुभयो । “जन्मदर्ता नभएकै कारण शिक्षा आर्जन गर्न पाउने मौलिक अधिकार हनन् गर्नु राज्य अपराध हो”, उहाँले भन्नुभयो ।
शून्य समयमा बोल्दै सांसद नरबहादुर विष्टले मेलम्ची खानेपानी आयोजनाका बाबजुद् काठमाडौँमा खोनपानीको अभाव सम्बोधन हुन नसकेकोतर्फ ध्यानार्कषण गराउनुभयो ।
“असार, साउन र भदौ महिना मुल फुटेने समय हो तर काठमाडौँ खानेपानी आयोजना र सङ्घीय सरकारको मिलेमतोमा पानी बन्द गरिने रहेछ”, सांसद विष्टले भन्नुभयो, “काठमाडौँबासी शूल्क तिरेर खानेपानी किन्न बाध्य छन ।”
सांसद नारायणदत्त मिश्रले रासायनिक मललाई खुल्ला बजारमा ल्याउनुपर्नेमा जोड दिँदै मल वितरणमा अनियमितता भइरहेकोतर्फसमेत ध्यानार्कषण गराउनुभयो ।
सांसद भुवनबहादुर सुनारले गत साउन २७ गते आएको बाढीले बाजुरा जिल्लाको विच्छयामा पुगेको क्षति र पछिल्लो अवस्थाबारे सदनलाई जानकारी गराउन सभाअध्यक्षमार्फत गृहमन्त्रालयको ध्यानार्कषण गराउनुभयो ।
शून्य समयमा बोल्दै सांसद युवराज शर्माले गरिबीको रेखामुनि रहेका नागरिकलाई रासन कार्ड उपलब्ध गराई सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्ने सु्झाव प्रस्तुत गर्नुभयो ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तरराष्ट्रिय दबाब र कुटनीतिक पहलका लागि माग गर्नुभयो । अन्तरराष्ट्रिय दबाबका लागि इजरायल पुगेका विपिनका आमा र बहिनीलाई आवश्यक सहयोग र समर्थनका लागि समेत आग्रह गर्नुभयो ।
सांसद सुरेशकुमार आले मगरले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने चर्चाबारे धारणा राख्दै यस्तो दुष्प्रयास गर्न नहुने बताउनुभयो ।
- रासस