नेभिगेशन
राजनीति

एमालेको ११औं महाधिवेशन उद्घाटन आज

नयाँ नेतृत्व चयनका लागि केन्द्रीय कमिटी, भूगोल, जनवर्गीय संगठनहरू, पार्टी विभागहरू र मनोनीत गरी २ हजार २ सय ६२ प्रतिनिधि सहभागी हुनेछन् ।

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको आज उद्घाटन हुने भएको छ । भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनमा ३ लाख कार्यकर्ता उतार्ने एमालेले जनाएको छ ।

महाधिवेशन उद्घाटनस्थलमा शुक्रबार पत्रकार सम्मेलन गर्दै एमालेले महाधिवेशनलाई भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको बतायो । महाधिवेशनको उद्घाटन समारोहमा करिब तीन लाख जनाको उपस्थिति रहने एमाले नेता राजन भट्टराईले जानकारी दिए । महाधिवेशनको उद्घाटन समारोहमा आवतजावत सहज पार्न सवारी साधनको व्यवस्था र पार्किङ मिलाइएको उनले जानकारी दिए ।

एमाले पोलिटब्युरो सदस्य तथा मञ्च व्यवस्थापनका संयोजक विनोद श्रेष्ठका अनुसार उद्घाटनमा अहिलेसम्म १० वटा महाधिवेशन सम्पन्न भएकाले वरिपरि १० वटा झण्डा र बीचमा अहिले ११ औं महाधिवेशनको झण्डा राख्ने तयारी गरिएको छ । ११ औं झण्डालाई झण्डोत्तोलनका साथै इलेक्ट्रिक दियो बालेर उद्धाटन गर्ने तयारी छ । महाधिवेशनमा आएका गाडीहरू जगाते र राधेराधेमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । शनिबार ११ बजे उद्घाटनका लागि नेता तथा कार्यकर्ता सल्लाघारी पुग्नेछन् । दिउँसो ४ बजेभित्र उद्घाटन सत्रको सबै काम सक्ने बताइएको छ ।

नेकपा एमालेले ११औँ महाधिवेशनलाई भयरहित बनाउन कमाण्ड संरचनाअनुसार पाँच सयभन्दा बढी स्वयंसेवक परिचालन गर्ने भएको छ । स्वयंसेवक समिति संयोजक भानुभक्त ढकालले २४ जनसंगठनबाट प्रतिनिधित्व गराएर ५ सयभन्दा बढी स्वयंसेवकलाई विशेष ‘ड्रेस कोड’सहित खटाइने बताए ।

नयाँ नेतृत्व चयनका लागि केन्द्रीय कमिटी, भूगोल, जनवर्गीय संगठनहरू, पार्टी विभागहरू र मनोनीत गरी २ हजार २ सय ६२ प्रतिनिधि सहभागी हुनेछन् । यस पटक अध्यक्षका लागि ओली र महासचिव ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । एमाले महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुँदै छ ।

भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा नमूना मतदान अभ्यास प्रतिनिधिलाई गराइएको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमालेले शुक्रबार प्रतिनिधिलाई विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाउनका लागि नमूना मतदान अभ्यास गराएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले केन्द्रीय कार्यालयमा आएका प्रतिनिधिलाई नमूना मतदान गराएर विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाइएको जानकारी दिए । ‘प्रतिनिधिलाई विद्युतीय भोटिङ मेसिनमा कसरी मतदान गर्ने भनेर सिकाइएको छ,’ उनले भने, ‘धेरै जसो प्रतिनिधिले आफैँ मतदान गर्न जान्नुभएको रहेछ ।’

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार शुक्रबार एमाले पार्टी कार्यालयमा दुई वटा मेसिनबाट नमूना मतदान अभ्यास गराइएको जानकारी दिए । एमालेको महाधिवेशनमा दुई हजार ४०० प्रतिनिधि सहभागी हुँदैछन् ।

उनका अनुसार महाधिवेशन स्थल भृकुटीमण्डपमा १० वटा विद्युतीय मेसिन राखेर प्रतिनिधिलाई मतदान गर्न सिकाइने छ । यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्