नेभिगेशन
राजनीति

ओली र पोखरेलबीच प्रतिस्पर्धा, कसको तागत के?

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन आजबाट शुरु हुँदैछ । नीति महाधिवेशन यसअघि नै सम्पन्न गरिसकेकाले एमालेको यो महाधिवेशन नेतृत्व चयनमा एमाले केन्द्रीत हुनेछ । अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले उठ्ने घोषणा गरिसकेका छन् ।

वरिष्ठ उपाध्यक्ष रहेका पोखरेलले पार्टीको महाधिवेशनका लागि प्रस्तुत गरेको अवधारणापत्रमा पार्टीभित्रको आन्तरिक जीवन र अध्यक्ष ओलीको नेतृत्वशैलीप्रति गम्भीर प्रश्न उठाएर नेतृत्व परिवर्तनको जिकिर गरिरहँदा ओली पक्षले भने अहिलेको अवस्थामा ओलीको विकल्प खोज्न नहुनेमा जोड दिँदै आएको छ ।

चितवनमा सम्पन्न १०औं महाधिवेशनमा ओली शक्तिशाली देखिएका थिए । उनले घोषणा गरेका नामहरूमा ताली बजेर महाधिवेशन सकिएको थियो । ओलीको विपक्षमा रहेकाहरूलाई महाधिवेशनस्थलमै टिक्नै मुस्किल थियो । ओलीविरुद्ध उभिएका भीम रावलले महाधिवेशनपछि पार्टीमा सक्रिय हुने अवस्था बनेन । अहिले उनले एमाले छाडिसकेका छन् । तर, यसपटक अवस्था भिन्न देखिएको छ । एमाले पूर्व उपाध्यक्ष पूर्व राष्ट्रपति विद्या भण्डारीको साथ पाएका पोखरेल ओलीविरुद्ध बलियै गरि खडा भएका छन् ।

पोखरेल समूहको मुख्य तागत विद्या भण्डारी हुन् । अर्को तागत भनेको भण्डारीका पति एमालेका पूर्वमहासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) हो । पोखरेलले महाधिवेशनका लागि भनदै तयार गरेको अवधारणापत्रमा पनि विद्यालाई एमालेमा फर्काउने र जबजलाई अझ सुदृढ गर्ने कुरा प्राथमिकताका साथ राखेका छन् । नेतृत्व क्षमताका हिसावले पुरानो भएर पनि सबैलाई समेट्न नसक्ने नेताका रुपमा परिचित छन् पोखरेल ।

अध्यक्ष ओलीको नेतृत्वकालमा संस्थागत भएका केही अभ्यास र प्रवृत्तिहरूलाई कमजोरीका रूपमा चित्रण गर्दै चुनावी अभियान चलाएको छ । पार्टीमा देखिएका संरचनागत कमजोरी, नीति र विधिविरुद्धका मनोमानी र वैचारिक विचलनहरूलाई अवधारणामार्फत प्रहार गरेका छन् । ओलीले नेतृत्वको अत्याधिक केन्द्रीकरण, व्यक्तिकेन्द्रित नेतृत्व प्रणाली, अवरुद्ध नेतृत्व हस्तान्तरण, कमजोर वैचारिक काम, विचार र व्यवहारको विरोधाभासमाथि प्रहार गरेको छ । ओलीको कमजोरीलाई यो समूहले आफ् नो तागत बनाइरहेको छ । ओलसिँग रुष्ट रहेका नेताहरू र ओली समूह बलियो हुँदा अवसरबाट बञ्चित बनेकाहरू पोखरेल समूहको तागत हुन् ।

उसो त, ओलीको तागतचाहीँ संगठन संरचनाभित्रको पकड नै हो । पार्टीभित्र उनको बलियो पकड देखिएको छ । पार्टीका भातृ संस्थाहरूमा ओली पक्ष निक्कै बलियो देखिन्छ । संगठनमाथिको पकड, आफ्ना गुटको बलियो संरक्षण नै ओलीको मुख्य तागत देखिएको छ । जिल्लाबाट आएका आफू समर्थक प्रतिनिधिको ठुलो पंक्ति ओलीको मुख्य तागत हो । ओलीका लागि चितवन महाधिवेशनजत्तिकै सहज भने यसपटक देखिँदैन । परिणाम नआएसम्म भन्न नसकिने राजनीतिक प्रतिस्पर्धामा अहिलेको देखिएको वस्तुस्थितीमा ठुलै परिवर्तन नआए ओली पोखरेल भन्दा भारी हुने ठानिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्