नेभिगेशन
राजनीति

तेस्रोपटक पनि ढुक्क ओली, जेनजी आन्दोलनप्रति अझै छन् वक्र

काठमाडौं – नेकपा एमालेका नेता, कार्यकर्ताहरू पार्टीको ११औं महाधिवेशनका लागि काठमाडौंमा आइसकेका छन् । पछिल्लो पटक भदौ २३ र २४ गतेको राजनीतिक घटनाक्रमले एमाले प्रतिरक्षात्मक बन्न पुग्यो । तत्कालीन सरकारको नेतृत्व गरिररहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्‍यो । सरकार मात्र ढलेन प्रतिनिधिसभा समेत विघटन भयो । अहिले एमाले एकातिर, पार्टीको आन्तरिक महाधिवेशनमा जुटिरहेको छ भने अर्कोतिर प्रतिनिधिसभा पुनःस्थापनाको कानूनी लडाईँमा पनि छ । ओली प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै पुनस्र्थापना हुनेमा ढुक्क देखिन्छन् । पार्टी अध्यक्षमा निर्वाचित हुनेमा ओली ढुक्क देखिँदा वरिष्ठ उपाध्यक्ष पोखरेल पनि चुनावी मैदानमा छन् । पछिल्लो राजनीतिक घटनाक्रमको मूल जिम्मेवार ओलीलाई देखाएर आफूलाई बलियो बनाउने अभियानमा पोखरेल पक्ष सक्रिय छ । तर, ओली पछिल्लो घटनाक्रम स्वभाविक ठान्दैनन् । अझ उनी त भदौ २३ र २४ मा कुनै विद्रोह वा क्रान्ति भयो भन्ने नै स्वीकादैनन् ।

लोकतन्त्रका र देशका लागि लड्ने पार्टीले पार्टीको प्रतिष्ठा उठ्नेगरी महाधिवेशन सम्पन्न गर्ने ओलीको दाबी छ । आफैँ पार्टी अध्यक्ष भएकाले ओलीलाई एकातिर महाधिवेशन गराउनका लागि खट्नुपर्ने दबाब पनि छ । शुक्रबार हामी गुण्डु पुग्दा अबेर रातीसम्म महाधिवेशनकै काममा जु्टेको उनको सचिवालयले जानकारी गरायो । आफ्ना लागि मत माग्ने र समर्थन जुटाउने प्रयासमा पनि उनी उत्तिकै सक्रिय देखिए । संविधान मिचिएकाले त्यसलाई ट्र्याकमा ल्याएरै छाड्ने ओलीको दृढता छ । ओलीका लागि १०औं महाधिवेशनमा आफैँले वरिष्ठ उपाध्यक्ष बनाएका पोखरेल यसपटक चुनौती बनेका छन् । तर, ओली भन्छन्– पोखरेलको उम्मेदवारी ओलीलाई हराउनभन्दा सर्वसम्मत हुन नदिनका लागि हो । तर, पोखरेल यसपटक जसैगरी नेतृत्वमा पुग्ने गृहकार्यमा छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथमा पोखरेलले ओलीलाई अघिल्लो महाधिवेशनभन्दा बलियो चुनौती दिने ठानिएको छ । महाधिवेशनको हलबाट कसरी एमालेमा नयाँ नेतृत्व चयन हुन्छ ? यसपटक ओलीको निरन्तरता हुन्छ वा क्रमभंगता ? सिंगै देशको ध्यान एमाले महाधिवेशनतर्फ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्