जगन्नाथ दुलाल
काठमाडौं,मंसिर २७
जेनजी आन्दोलनपछि रक्षात्मक बनेको एमालेले बृहत् प्रदर्शनसहित पार्टीको ११औं महाधिवेशन उद्घाटन गरेको छ । भक्तपुरको सल्लाघारीमा शनिबार अध्यक्ष केपी शर्मा ओलीले रिमोटले झण्डोत्तोलन गर्दै महाधिवेशन उद्घाटन गरे । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि महाधिवेशन गर्ने पहिलो पार्टी एमाले बनेको छ ।
उद्घाटनसत्रमा अध्यक्ष ओलीले लिखित मन्तव्य दिए । उनले एमाले अजम्बरी पार्टी भएको दाबी गरे । ‘धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्बरी छ,’ ओलीले भने । तत्कालिन समयमा सरकारको नेतृत्व गरिररहेको एमाले जेनजी आन्दोलनका क्रममा र त्यसपछि पनि निसाना बनिरहेको बेला शुरु भएको एमाले महाधिवेशनलाई अहिले धेरैले चासोका साथ हेरेका छन् ।
एमालेले बृहत् उपस्थितिका माझ महाधिवेशन उद्घाटन गरेर एमाले कमजोर नरहेको सन्देश दिन सफल भएको छ । उद्घाटन समारोह भव्य बनाउन देशभरबाट उल्लेख्य संख्यामा कार्यकर्ता सहभागी भए । एमालेले पार्टी कमजोर नरहेको सन्देश मात्र दिएन आफूलाई होच्याउने र जिस्काउने काम कसैले नगरोस् भन्दै हुंकार गर्दै कार्यकर्ताको मनाबेल उठाउने प्रयास गरेको छ ।
‘एमालेलाई होच्याउने र जिस्क्याउने काम कसैले नगरोस् । समाप्त पार्ने इच्छा त मनबाट सधैंका लागि हटाइदिए हुन्छ,’ उद्घाटनसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘देशलाई लोकतन्त्रमा फर्काएर छाडिन्छ । संसद पुनस्र्थापना गराएर छाडिन्छ । संविधान मिचिएको छ, ट्रयाकमा ल्याएर छाडिन्छ । यो एमालेको संकल्प हो । ११औं महाधिवेशनको संकल्प हो ।’
एमालेले उद्घाटनसत्रमा आफूमाथि निसाना साँधिरहेका शक्तिलाई कडा भाषामा चेतावनी दिएको छ । उद्घााटन समारोहमा एमालेले सिंहदरबार जलाइएको, संसद् भवन जलाइएको र सर्वोच्च अदालत जलाइएको दृश्यसहितको भिडियो सामाग्री देखायो । कार्यकर्तालाई जेनजी आन्दोलन कुनै क्रान्ति थिएन भनेर बुझाउने प्रयास ग¥यो । भिडियो किन देखाइयो ? अध्यक्ष ओलीले सम्बोधनका क्रममा भदौ २३ र २४ गतेको सन्दर्भमा बोल्दै थप प्रष्ट पारे । ओलीले संविधानलाई लिकमा फर्काउनुको विकल्प नभएको भन्दै संसद् पुनःस्थापना भएरै छाड्ने दाबी दोहो¥याए ।
जेनजी आन्दोलनमाथि निर्मम
एमाले अध्यक्ष ओली जेनजी आन्दोलनप्रति गरम देखिए । उक्त घटनालाई राज्यको मेरूदण्ड भाँचिदिने षड्यन्त्र र योजना भएको दाबी गर्दै उनले भने, ‘कुनै भ्रममा पर्नुहुँदैन । स्थिरताको बाहक बनिरहेको संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नैपर्ने थिएन । संसदबाटै त्यो काम गर्न सकिन्थ्यो वा अर्को निर्वाचन कुर्न सकिन्थ्यो ।’ तर त्यो संवैधानिक प्रक्रिया र ७ दशक लामो कठिन संघर्षका रूपमा प्राप्त लोकतन्त्र ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्य विहीनताको अवस्थामा पु¥याउने अराजक दीर्घ तयारीसहितको गम्भीर षड्यन्त्र भएको ओलीको दाबी छ ।
ओलीले एमालेलाई जेनजी विरोधीका रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै पार्टीलाई यसअघि पनि यस्तो आरोप लाग्ने गरेको बताए । ३० वर्षअघि वृद्धवृद्धाविरोधी भनेर आरोपित गरिएको, सशस्त्र युद्धताका क्रान्तिविरोधी भनिएको, मधेसविरोधी, पहिचानविरोधी भनिएको चर्चा गर्दै उनले भने,‘हामीले त्यसलाई चि¥यौं । मधेसमा अहिले पहिलो पार्टी भएका छौं । अहिले जेनजीविरोधीको आरोप लगाएका छन् । यसलाई पनि चिरेर छाडिन्छ ।’
उसो त जेनजी र सरकारविरुद्ध खरो रुपमा उत्रिएका ओली अन्य राजनीतिक दलप्रति भने नरम देखिए । उनले अन्तर–पार्टी एकतामा पनि जोड दिए । एघार अंकमा दुईवटा एक हुने उल्लेख गर्दै उनले दुवै एक सँगै उभिए मात्र एघार हुने बताए । ‘सुरक्षित नेपालको पहिलो सर्त के हो ? हामी–हामीबीचको एकता । एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु ।’
सरकारको वैधतामै प्रश्न
एमाले अध्यक्ष ओलीले महाधिवेशनको उद्घाटन सत्रमा पनि सरकारविरुद्ध कडा अभिव्यक्ति दिए । सरकारको वैधतामा प्रश्न उठाए । ‘यो सरकार कानुनी रूपमै वैध छैन, उसले चुनाव चाहेकै छैन । यो अवस्थामा चुनावै हुँदैन,’ ओलीले भने, ‘डर, दबाब र प्रतिशोधमुक्त वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउने ल्याकत राख्छ । त्यसैले एमाले चुनावबाट भाग्छ भन्ने कल्पना नगरे हुन्छ । एमाले चुनावबाटै परीक्षण भएको पार्टी हो ।’ निर्वाचनका लागि दल दर्ता र सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्ध एकै दिन मुद्दा दर्ता गरेको एमालेले महाधिवेशनबाट पनि पुनःस्थापना र चुनावको विषय एकसाथ दोहो¥यायो ।
उद्घाटनसत्रमा ओझेलमा इतरपक्ष
अध्यक्ष ओलीले उद्घाटनसत्रमा पार्टीभित्र एकताको कुरा गरे पनि उद्घाटनसत्रमा भने आफ्नो पक्ष मात्रै हाबी गराएर आफ्नै अभिव्यक्तिको खण्डन गरे । उद्घाटनसत्रमा अध्यक्ष ओली पक्षले मात्रै बोल्ने अवसर पाए ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशन उद्घाटन सत्रमा बोल्न पाएनन् । उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य महासचिव शंकर पोखरेलले राखे । सामान्यतया महासचिवले कार्यक्रम चलाउने र वरिष्ठ उपाध्यक्षले स्वागत गर्ने प्रचलन रहे पनि यसपटक सुनियोजित तवरले त्यस्तो गर्न नदिइएको पोखरेल पक्षधरले गुनासो गरे ।
उसो त वरिष्ठ उपाध्यक्षलाई बन्दसत्र हलमा अवधारणापत्र पेस गर्न र उम्मेदवारी घोषणासहित आफ्ना कुरा राख्न समय दिने कुरा शुक्रबारको सचिवालय बैठकमा भएको भन्दै ओली पक्षधले बन्दसत्रमा नै पोखरेलको धारणा सुनिने बताएको छ ।
महाधिवेशनमा ओली र पोखरेल अध्यक्षका दाबेदार छन् । नयाँ नेतृत्व चयनका लागि केन्द्रीय कमिटी, भूगोल, जनवर्गीय संगठनहरू, पार्टी विभागहरू र मनोनीत गरी २ हजार २ सय ६२ प्रतिनिधि सहभागी हुनेछन् । यसपटक अध्यक्षका लागि ओली र महासचिव ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार सुरु महाधिवेशन मंसिर आगामी सोमबारसम्म चल्नेछ ।
एमाले सभामा कसले के भने ?
नेकपा एमालेको महाधिवेशनसत्रमा यसपटक मुख्य दलका प्रमुख नेता देखिएनन् । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई निते दिइएपनि कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागि भए । नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट देव गुरुङ सहभागि भए । मधेस केन्द्रित दलका शीर्ष नेता पनि सहभागि थिएनन् ।
एमाले महाधिवेनको शुभकामना दिँदै कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्ने बताए । उनले अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराउँदै यस्तो बताएका हुन् । ‘यी दुवै दिनका घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन गठित उच्च स्तरीय न्यायीक छानबिन आयोगले आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त भइ निष्पक्ष प्रतिवेदन तयार गर्नुपर्दछ,’ कार्यवाहक सभापति खड्काले भने ।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि सरकारले लगाएको स्थानहदले धेरै प्रश्नहरू उब्जाएको पनि बताए । ‘यही क्रममा नेताहरूका स्थानहदका निर्णयहरू लगायतका कार्यहरूले धेरै प्रश्नहरू उठाएका छन्,’ खड्काले भने, ‘त्यसैले यसतर्फ आयोग सतर्क हुन जरूरी छ । सचेततापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न जरूरी छ ।’ कार्यवाहक सभापति खड्काले लोकतन्त्रमाथि कुनै निरंकुशता वा अस्थिरताको कालो बादल मडारिँदा तत्कालै कांग्रेस, एमाले र अन्य लोकतान्त्रिक दलहरू एक ठाउँमा उभिएर परिस्थितिको डटेर प्रतिवाद गर्नुपर्ने बताए ।
नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्टहरू एक भएर अघि बढ्नुको विकल्प नभएको बताए ।‘कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । इतिहासले सावित गरेको छ, कम्युनिस्टहरूमात्रै देशभक्त हुन्छन्,’ गुरुङले भने, ‘कम्युनिस्टहरूमात्रै राष्ट्रभक्त हुन्छन् । मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने शक्ति भनेको कम्युनिस्ट नै हो ।’
त्यस्तै, नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव गरे । एमाले अध्यक्ष ओलीले सार्वजनिक गरेको रोडम्यापसँग मेल खानेगरी उनले पनि निर्वाचनअघि नै सर्वपक्षीय सरकार बन्नुपर्ने धारणा राखे । ‘आज देशमा अनौठो प्रकारले सरकार बनेको छ । न यो आन्दोलनको मर्मअनुसार छ । न संवैधानिक प्रक्रिया अनुसारको छ । अध्यारो कुनाबाट खडा गरिएको यो अवैध सरकारलाई हाम्रो समर्थन छैन र हुन सक्दैन ,’ उनले भने ,‘त्यसैले हामीले के भनेका छौ भने–देशलाई एउटा निकास चाहिएको छ । त्यो निकासको निम्ति राजनीतिक शक्तिहरुले नै नेतृत्व गर्नुपर्दछ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री कबिन्द्र बुर्लाकोटीले तत्कालीन सरकारले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको भन्दै लामिछानेको बचाउ गरे । उनले यसो भनिरहँदा एमाले कार्यकर्ताले हो–हल्ला गरे । एमाले नेता सुर्य थापाको संयोजकत्वमा गठित छानविन समितिले सहकारी ठगिमा लामिछानेसहितलाई मुद्दा चलाउन सिफारिस गरेपछि उनीविरूद्ध मुद्दा चलाइएको थियो । हाल लामिछाने नख्खु कारागारमा छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक विषम परिस्थितिमा रहेको भन्दै राजा, राजनीतिक दल र जेनजी पुस्ताबिच नयाँ समझदारी गरेर अघि बढ्नुपर्ने बताए ।
बन्दसत्र आज, नेतृत्वमा ओली र पोखरेलको दौड
एमाले महाधिवेशनअन्तर्गत बन्द सत्र आज बिहान ७ बजेबाट भृकुटीमण्डपमा सुरू हुनेछ । अध्यक्षका लागि ओली र पोखरेल मैदानमा छन् । उनीहरु प्यानल बनाएरै अघि बढ्ने तयारीमा रहेपनि शनिबार बेलुकीसम्म टिम सार्वजनिक गरेका छैनन् । ओलीको पक्षमा उपाध्यक्ष विष्णु पौडे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीसहितका नेताहरु छन् भने पोखरेलको पक्षमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, नेतृ अष्टलक्ष्मी शाक्य र पूर्वउपाध्यक्ष विद्या भण्डारीलगायतको साथ छ । नयाँ नेतृत्व चयनका लागि केन्द्रीय कमिटी, भूगोल, जनवर्गीय संगठनहरू, पार्टी विभागहरू र मनोनीत गरी २ हजार २ सय ६२ प्रतिनिधि सहभागी हुनेछन् । जसमध्ये १०८ जना शुक्रबार मनोनीत गरिएका छन् । महाधिवेशनले १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहने गरी नयाँ नेतृत्व चयन गर्ने छ । यस पटक अध्यक्षका लागि ओली र महासचिव ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । एमाले महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुँदै छ ।
विधान महाधिवेशनले पारित गरेको संरचनाअनुसार अध्यक्ष, महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिव रहने व्यवस्था छ । यसअघि रहेको वरिष्ठ उपाध्यक्ष पद विधानबाट हटाइएको छ ।