नेभिगेशन
राजनीति

पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु मैं हुँ : डा. शेखर कोइराला

काठमाडौं (संवाददाता)– कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् । प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँग विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा शनिबार भएको भेटघाटमा उनले यस्तो दाबी गरेका हुन् । 

भेटघाटमा कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरूमा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकाले पछिल्लो परिस्थिति निर्माण भएको बताए । आफूले कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको कोइरालाले सुनाए । 

त्यस्तै, उनले अहिले पार्टीभित्र सैद्धान्तिक विचलन देखिएको पनि बताए । ‘सयौं योद्धा र युवाहरूको रगत पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ,’ उनले भने,‘पार्टी भित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ ।’

नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पु¥याएको योगदानको सधैं उच्च कदर हुने भन्दै कोइरालाले देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएकाले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरूको अनुभवको सहयोगको खाँचो रहेको पनि बताए । जिल्ला–जिल्लाबाट आएका सेनानीहरूलाई पार्टीको आसन्न महाधिवेशन र आम निर्वाचनमा होमिन पनि कोइरालाले निर्देशन दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्